Comments Add Comment

गणेश थापाको आत्मकथा : मृत्युपछि मेरो शव एन्फामा नराखियोस्

'पीडा यति छ कि विप्लवको पार्टीमा जाउँ जस्तो लाग्छ'

३ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को १० वर्षे प्रतिवन्ध भोगिरहेका नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा लामो अन्तरालपछि पत्रकारमाझ प्रस्तुत भए । सन्दर्भ थियो, उनको प्रकाशोन्मुख आत्मकथाको आवरण सार्वजनिक गर्ने ।

एक समय नेपाली फुटबलका पर्यायका रुपमा रहेका थापा भ्रष्टाचारको आरोपमा मुछिएपछि विवादित बने । उनीमाथि लागेको आरोप प्रमाणित भएको त छैन, तर थापा नायकबाट खलनायकमा झरेका छन् । फिफाले १० वर्ष लामो प्रतिबन्ध लगायो । प्रतिबन्धका कारण फुटबल गतिविधिमा सक्रिय नभएपछि टाढा भइसकेका छैनन् ।

एन्फाको नेतृत्वमा रहँदा विगतमा कडा मिजासका लागि चिनिने थापा आइतबार भने उनी केही भावुक र केही ठट्यौलो भावमा प्रकट भए । ‘धेरै समयपछि पत्रकार सम्मेलनमा बोल्दैछु,’ उनी भन्दै थिए, ‘बानी छुटेर होला थोरै डर पनि लागिरहेको छ ।’

त्यसपछि आफ्नो आत्मकथाबारे जानकारी दिए । भारतीय चलचित्र ‘सञ्जु’सँग आफ्नो जीवनको कथालाई दाँजे । थापाले भने, ‘सञ्जु हेरे पनि मलाई महसुस भयो कि सञ्जय दत्त र मेरो जीवनमा एउटा समानता छ । सञ्जय दत्तले हतियार राखेका थिए, तर उनी आतंककारी थिएनन् । मबाट पनि स्वभावगत कमजोरीहरु भए होलान्, तर म गलत मान्छे होइन र नेपाली फुटबलको अहित हुने काम गरेको छैन ।’

थापाले त्यसपछि आफ्नो पीडाको पुन्तुरो खोल्न थाले ।

उनले भने, ‘तपाईं कल्पना गर्नुस कि जसले जीवनमा फुटबल बाहेक अरु केही सोचेकै छैन, उ पाँच वर्षदेखि फुटबलबाट टाढा रहँदा कति छट्पटाहट भएको होला । त्यो मात्र नभएर आफूले गर्दै नगरेको अपराधिको भारी बोक्नुपर्दा कति पीडा होला ?’

‘पीडा असैह्य भएर कहिलेकाहीँ त मलाई विप्लवको पार्टीमा जाउँ जस्तो पनि लाग्छ’, उनले भने ।

उनले पुस्तकमा मृत्युपछि आफ्नो शवलाई एन्फामा लगेर जग नहसाउन समेत आग्रह गरेका छन् ।

उनले आफूमाथि लागेको ५८ करोड भ्रष्टाचारको आरोप प्रमाणित गर्न अझै पनि चुनौती दिए । ‘मैले ५८ करोड भ्रष्टाचार गरेँ भन्छन्, जबकि राज्यका कुनै निकायले पनि मैले भ्रष्टाचार गरेको प्रमाणित गर्न सकेका छैनन् । ममाथि ५ वटा आयोग बने, तर कसैले मलाई भ्रष्टाचारी ठहर गरेनन् । म अझै पनि चुनौति दिन्छु, ममाथि थप छानविन होस् । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा सजाय भोग्न तयार छु । म मर्नुभन्दा अगाडि आफ्नो सबै सम्पत्ति बेचेर क्षतिपूर्ति तिर्न चाहन्छु,’ उनले भने ।

थापाले नेपालमा लागेको भ्रष्टाचार आरोप र फिफाको कारवाही फरकफरक विषय भएको दाबी गरे । एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले आफ्नो छोराको खातामा पैसा पठाएको विषयलाई लिएर मात्र फिफाले कारवाही गरेको उनको भनाइ थियो । थापाले भने, ‘हमामसँग मेरो व्यक्तिगत र पारिवारिकरुपमा प्रगाढ सम्वन्ध थियो र छ । त्यही सम्वन्धका आधारमा मलाई उनले आवश्यक पर्दा निःस्वार्थ आर्थिक सहयोग गर्छन् । अहिले पनि गर्छन् । तर, त्यही सहयोगलाई फिफाले फुटबल राजनीतिसँग जोडेर मलाई कारवाही गरेको हो । त्यसमा मेरो भन्नु केही छैन ।’

थापाले आफू फुटबल संघमा रहँदा गरेका कामहरुको चर्चा गर्दै अहिलेको संघका काम कारवाहीको आलोचना गरे । ‘म अहिले पनि नेपाली फुटबललाई नजिकबाट निकालिरहेको छु,’ उनले भने, ‘अहिलेको संघले मैले भन्दा राम्रो के गरेको छ कसैले मलाई देखाए हुन्थ्यो । मैले देखेको त एउटा मात्रै राम्रो भनेको नेपाली टिमको जर्सी हो ।’

अहिले नेपालको राष्ट्रिय टिमको प्रदर्शनको जस र अपजस वर्तमान एन्फाले लिन नसक्ने पूर्वअध्यक्ष थापाले बताए । उनी भन्छन्, ‘अहिलेको टिम निर्माणमा वर्तमान एन्फा नेतृत्वको कुनै हात छैन । सबै मेरो पालामा प्रशिक्षित गरिएका खेलाडी राष्ट्रिय टिममा छन् । उहाँहरुले एक जना पनि नयाँ खेलाडी ल्याउन सक्नुभएको छैन । त्यसैले टिम हार्दा त्यसको अपजस र जित्दाको जस म मनमनै आफैंलाई दिन्छु ।’

उनले आत्मकथामा आफूले लेखेका कुराहरुलाई क्रस चेक गरेर असत्य ठहरिए हटाइदिन प्रकाशकलाई अधिकार दिएको बताए । प्रकाशक बुक हिल्स पब्लिकेशनले पनि थापाको लेखनीलाई प्रमाणका आधारमा ‘भेरिफाई’ गरेर मात्र छापिने बताएको छ ।

करिब ९० हजार शब्दको आत्मकथा ‘गणेश थापा’ आगामी फागुनमा सार्वजनिक हुनेछ । किताबमा थापाको खेलाडी जीवन, एन्फामा आएपछि गरेको काम, विवाद लगायतका विषय समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment