Comments Add Comment

वाल्मीकि : प्रेमी-प्रेमीकाको प्रेम र रामायण रचनाको संयोग

महर्षि वाल्मीकिको जीवनीको बारेमा धेरै किंवदन्तीहरु पाइन्छ । ती मध्ये पनि डाकु रत्नाकर सुधि्रएर वाल्मीकि बनेको किंवदन्ती निकै चर्चित छ । यो एक किसिमको ज्ञान प्रदान गर्ने किसिमको कथा भएकोले पनि यसलाई नीति कथाको रुपमा समेत विकास गरिएको हुनसक्छ । तर, संस्कृत साहित्यका आदिकवि समेत रहेका वाल्मीकिको जीवनी भक्तिको मार्गमा चल्न सुझाव दिने एक मार्गदर्शक जीवन कथा पनि हो ।

आश्विन पूणिर्मा, शरद पूणिर्मा या कोजाग्रत पूणिर्मा दशैंको अन्तिम दिन संस्कृत साहित्यका आदिकवि वाल्मीकिको जन्मदिन पनि हो । वाल्मीकि जीवनमा दुई पटक जन्मिए । पहिलो जन्म उनको रत्नाकरको रुपमा भयो भने दोस्रो जन्म उनको वाल्मीकिको रुपमा भयो । आश्विन पूणिर्मा उनको दोस्रो जन्म एवं डाँकुबाट वाल्मीकि बनेको दिन हो । यही दिन उनको तपस्याबाट खुशी भएर ब्रहृमाले उनलाई रामायण लेख्नको लागि प्रेरणा दिएका थिए ।

वाल्मीकि बनेका रत्नाकरलाई प्रचेता, वशिष्ठ, नारद, पुलस्त्य आदिको भाइ रहेको किंवदन्तीहरु पाईन्छ । उनलाई रत्नाकरबाट वाल्मीकि बनाउनमा पनि नारदले दिएको ‘मरा’ भन्ने मन्त्र महत्वपूर्ण रहेको छ । उनी एक चर्चित डाँकु थिए । उनको मुखबाट भगवान र सत्यको नाम पनि आउने थिएन । दिनभर अरुलाई मार्ने र काट्ने रत्नाकरलाई रामको नाम जप्नको लागि नारदले पटक पटक दिएको सुझाव पनि उनले मानेनन् । त्यसपछि नारदले नयाँ जुक्ति निकालेर निरन्तर ‘मरा’ भन्ने शब्द उच्चाहरण गर्न सुझाए । यो कुनै सत्यवादी व्यक्ति वा भगवानको नाम थिएन ।

त्यसैले उनी सो नाम निरन्तर निरन्तर दोहोर्‍याएर तपस्यामा बस्न राजी भए । त्यो मन्त्र जप्दा जप्दै रत्नाकर तपस्यामा लीन भए । यही तपस्यामा उनी यति धेरै लीन भए कि उनको शरीरमा धमिराले गोलो बनाउँदा पनि उनले त्यो समेत थाहा पाएनन् भन्ने किंवदन्ती सुनिन्छ ।

यो उनको जीवनको एउटा परिवर्तनको विन्दू थियो । यस्तै रोचक किंवदन्ती उनले रामायण रचना गर्दाको पनि पाईन्छ । यसरी ध्यानमा लीन भएका रत्नाकरलाई ब्रहृमाले रामायण लेख्न प्रेरणा दिएका थिए । तर, उनलाई कसरी र के विषयमा रामायण रचना गर्ने ? भन्ने केहीपनि भेउ थिएन ।

महषिर् बनिसकेपछि एकदिन वाल्मीकि एउटा नदीको तटमा स्नानको लागि जाँदै थिए । एउटा चखेवाका जोडीहरु प्रणय लीलामा रमाउँदै गरेको उनले देखे । सोही समय एक शिकारीले तीरले त्यो जोडीमध्ये भालेलाई मारेर गयो । यसबाट महषिर् यति धेरै आहत भए की उनले तत्कालै शिकारीलाई संस्कृतमा श्राप दिए ।

उनले भनेका थिए,

मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः

यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम्

अर्थात्, जुन दुष्ट शिकारीले यो प्रेममा लिप्त भएको पंक्षीको वध गरेको छ । उसलाई कहिलै पनि चैन नहोस् ।

यो श्राप दिएपछि उनलाई लाग्यो कि मेरो मुखबाट यो श्राप कसरी निस्कियो ? सोही समय नारद मुनी त्यहाँ प्रकट भएर ‘यही तपाईंको रचनाको पहिलो श्लोक बन्नेछ’ भनेर रामायण यसैबाट रचना सुरु गर्न सुझाव दिए । यसरी महषिर् वाल्मीकिले प्रेमी प्रेमिकाको जोडीसँग सम्बन्धित गराएर रामायण लेखेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment