Comments Add Comment

तिहार : घुमन्ते युगसम्म जोडिएको पर्व

डा. जगमान गुरुङ भन्छन्, 'यसले हाम्रो घुमन्ते युग दर्शाउँछ'

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार पाँच दिनसम्म मनाईँदै छ । धार्मिक, सामाजिक र वैज्ञानिक रुपमा समेत महत्वपूर्ण रहेको यो पर्वको बारेमा विभिन्न किसिमका किंवदन्ती एवं विश्वासहरु सुन्ने गरिन्छ । कसैले यसलाई मानव सभ्यताको विकासक्रमसँग जोडेर व्याख्या गरेका छन् भने कसैले यसलाई एउटा आदर्श समाजको सुरुवातको रुपमा मान्ने गरेका छन् । यसको व्याख्या गर्दा वैदिक र पौराणिक व्याख्याहरु भिन्दाभिन्दै रहेका छन् ।

वैदिक किंवदन्ती अनुसार जुम्ल्याहा दिदी बहिनी यम र यमीको सम्बन्धको कथा एउटा छ भने अर्काे पौराणिक कहानीको रुपमा रहेको यमराज र यमुनाको चर्चित कथालाई पनि तिहारसँग जोडेर हेर्ने गरिएको छ । साथमा मानव सभ्यताको विकास क्रमलाई पनि तिहारमा पूजा गर्ने पशुपक्षीहरुसँग जोडेर व्याख्या गर्ने गरिएको छ ।

जसरी बडादशैंमा मानव शरीरको नवद्वारको प्रतीक मानेर नौ दिनसम्म विभिन्न विधिले पूजा गरेर मनाईयो । त्यसरी नै तिहार हाम्रो सभ्यतालाई फर्किएर हेर्ने पर्व हो । हामीहरु घुमन्ते युगदेखि सभ्य मानवको युगसम्म कुन कुन अवस्था पार गरी आइयो ? भन्ने देखाउनको लागि विभिन्न पशुपक्षीको पूजा गर्ने गरिन्छ ।

तिहारको पहिलो दिन काग पूजा गरिन्छ । संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार यसले हाम्रो घुमन्ते युगलाई दर्साउने गर्छ । मानव सभ्यता विकासको क्रमलाई हेर्दा हामी सबैभन्दा पहिले घुमन्ते युगमा थियौं । त्यसपछि बर्बरताको युग वा शिकार युगमा प्रवेश गर्‍यौं । त्यसपछि पशुपालनको युगमा प्रवेश गर्‍यौं र त्यो विकास हुँदै सभ्यताको युगमा प्रवेश गरेका हौं ।

तिहार कहिलेदेखि मनाउन थालियो भन्ने यकीन जानकारी छैन । तर, यसको जीवन्तताले भने हाम्रो मानव सभ्यता विकास क्रमलाई वर्षेनी सम्झाई रहेको हुन्छ । काग पक्षीहरुमा सबैभन्दा अस्थिर र चतुर पक्षी हो । त्यसैले हामीहरुको सभ्यताको सबैभन्दा पहिलो खुडि्कलो घुमन्ते युगबाट सुरु भएको देखाउनको लागि कागको पूजा यम पञ्चकको पहिलो दिन गरिन्छ । काग आएर कराउँदा केही खबर ल्यायो भनेर मान्ने हाम्रो संस्कृति छ ।

यो कराउँदा ‘शुभ बोल, उभो जा’ भनेर भन्ने गरिन्छ । यसको अर्थ काग त्यहाँ कराएर कुन दिशामा जान्छ त्यो पनि महत्वपूर्ण हुन्छ । त्यसैको आधारमा हामी समाचार शुभ हो या अशुभ भन्ने जानकारी पाउँछौं । काग उभो गयो भने त्यो समाचार शुभ भएको मान्ने चलन छ । सबोल शास्त्रका अनुसार काग कराएर दक्षिणतिर उड्यो भने त्यसले मृत्युको समाचार ल्याएको जानकारी हुन्छ । पश्चिमतिर उड्यो भने हानिनोक्सानीको समाचार ल्याएको थाहा हुन्छ । उत्तरतिर उड्दा त्यो घरमा उन्नति प्रगति हुने विश्वास छ । अन्नपूर्ण हिमाल उत्तरतिर नै रहेकोले काग उत्तरतिर जानु धन ऐश्वर्यको प्रतीक मान्ने गरिन्छ ।

त्यस्तै, मानिसहरुको दोस्रो सभ्यता विकासको चरण हो शिकारी युग । शिकारी युगमा मानिसहरु कुकुरलाई साथमा लिएर शिकार गर्न जान्थे । त्यही क्रममा उनीहरुले शिकारीको साथी कुकुरलाई पनि पूजा गर्न थाले । कुकुरको घ्राण शक्ति बलियो हुने भएकोले कुकुर शिकारको लागि उपयुक्त साथीको रुपमा मान्ने गरिन्थ्यो । त्यही शिकारी युगलाई जनाउनको लागि अहिलेसम्म पनि कुकुरको पूजा हुने गरेको गुरुङको बुझाई छ ।

त्यसपछिको मानव सभ्यताको तेस्रो चरण हो, पशुपालनको समय । शिकार गरेर एकै पटकमा मासु खानुभन्दा उनीहरुलाई पालेर दूध दही खानु राम्रो हुन्छ भनेर पशुपालनको सुरुवात गरियो । त्यसमा पनि गाई नै खोज्नुको अर्थ गाईबाट हामीले धेरै कुराहरु पाउन सक्छौं । जस्तो दूधमा पनि सबैभन्दा पौष्टिकता गाईको दूधमा नै हुन्छ ।

यसबाहेक पिसाब, दिसा जस्ता गाईबाट लिन सकिने सबै कुराहरु हाम्रोलागि उपयोगी मानिन्छ । त्यसैले गाईको पूजा पशुपालनको युगको प्रतिनिधित्वका लागि गर्ने गरिएको हो । तर, केही समय अघिसम्म पनि गाईहरु जंगलमा चर्न जान्थे र त्यहाँ नै विभिन्न किसिमको उपयोगी हर्बलहरु खाने गर्थे । त्यसैले सबै आयुर्वेदको हिसाबले उनीहरुका दिसा पिसाब समेत महत्वपूर्ण थिए । तर, अहिले घरमा राखेर पिठो खुवाएर पाल्ने र हाईबि्रड पद्धतिद्वारा पालिने गाईबाट भने त्यो पाउन गाह्रो छ ।

यसरी पशुपालनको युगपछि मानिसहरु खेती किसानीको युगमा प्रवेश गरे । केही समय अघिसम्म पनि हले, पाटे, कोदाले भन्ने तीन किसिमको खेती हुन्थ्यो । यो धेरै पहिलेदेखि हुँदै आएको खेतीको किसिम हो । धेरै खेती हुनेहरुले हलगोरुबाट खेत जोत्ने गर्थे । उनीहरु एउटा स्तरका किसान गनिन्थे । त्यसपछि सामान्य पाटो हुने र तल्लो स्तरमा कोदालोले खनेर खेती गर्ने किसानहरु हुन्थे । त्यसैले गोरु जोत्ने प्रचलन पनि धेरै पहिलेदेखि चल्दै आएको थियो । संस्कृतिविद गुरुङ भन्छन् हलो क्रान्ति पहिले नै भएको हो । दूरा डाँडाका बाहुनहरुले हलो क्रान्ति गराएको भन्ने कुरा मिथ्या हो ।

यसरी गोरुको पूजा गरिसकेपछि हामी मानिसहरुको नै भाइटीकाको रुपमा पूजा गर्छौं । मानिसको पूजा गर्ने समयसम्ममा हामी सभ्य समाजको अवस्थासम्म पुगिसकेको अनुभव गर्छाैं । दिदीबहिनीले दानुभाइको पूजा गर्नुको अर्थ उनीहरुबीच पवित्र सम्बन्ध हुन्छ । त्यो यौन सम्पर्कसम्म कहिलै पनि पुग्दैन भन्ने सम्झाई रहन यो पर्व मनाउने गरिएको हो । त्यसैले यो यम पञ्चकको पाँच दिनको पूजा हाम्रो सभ्यताको विकास क्रमलाई जानकारी दिने महत्वपूर्ण पर्व हो ।

तिहारसँग जोडिएको यमयमीको कथा

पौराणिक पक्षलाई केलाउँदा यमुनाले यमराजलाई कहिलै पनि नसुक्ने तेलको घेरो लगाएर टीका लगाएको उल्लेख पाईन्छ । यो कथा धेरै चर्चित छ । तर, वैदिक मान्यतालाई आधारमान्दा यो पर्वको लागि भिन्न किसिमको कथा पाइन्छ । ऋग्वेदको यमयमी सूक्तमा दाजु यम र बहिनी यमीको कथा उल्लेख गरिएको छ ।

यो सूक्तका अनुसार एक जुम्ल्याहा दाजु बहिनी यम र यमी थिए । उनीहरु उमेरले परिपक्व हुँदै जाँदा बहिनी यमीले दाजु यमसँग एक अर्काबीच वैवाहिक सम्बन्धमा बाँधिनको लागि प्रस्ताव गरिन् । त्यतिबेलाको चलन चल्ती नै त्यस्तै थियो कि भन्ने आशंका डा गुरुङ गर्छन् । त्यही बेलामा दाजु यमले बहिनीलाई विवाहको अर्थ यौन सम्पर्क समेत रहेको र विकसित मानव जातिले यौनको मामलामा सचेत हुनै पर्ने सुझाव दिएका थिए ।

उनले दाजु र बहिनीको आदर्शको बारेमा बहिनी यमीलाई पाठ पढाएका थिए । ‘तिमी एउटा लहरोले रुखलाई बेरेको जस्तै नयाँ परपुरुषलाई वरण गर भनेर’ यमले उन्नत मानव समाजको बारेमा ज्ञान दिएका थिए । साथमा कात्तिक शुक्ल द्वितीयाको दिन उनले बहिनी यमीबाट टीका र माला समेत लगाएर नयाँ किसिमको चलन बसाएका थिए ।

उन्नत मानव जीवनको आधार यौन जीवनले तय गर्छ । यदि त्यस्तो थिएन भने बर्बर युगबाट सभ्यताको युगमा प्रवेश गर्ने बेलामा परिवारको विकास र पारिवारिक सदस्यहरुको बीचमा यौन सम्पर्क बन्देज हुने नै थिएन । पहिले मानिसको यौन जीवन पशुहरुको समान थियो । तर, विकसित हुँदै आजसम्मको अवस्थामा आउँदा मानिसले एक किसिमको सभ्यताको चरित्र प्रदर्शन गरिसकेको छ । त्यसैले यो तिहार पनि सभ्य मानवहरुको परिचय दिने पवित्र पर्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment