Comments Add Comment

हत्या आरोपी दुई वर्षपछि पक्राउ

६ कात्तिक, विराटनगर । बोक्सो आरोपमा वृद्धको हत्या गरी फरार भएको आरोपमा प्रहरीले दुई वर्षपछि एक युवकलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ का ६३ वर्षीय पहाडचन राजवंशीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ साल असार ११ गते हत्या पछि राजवंशी भारत भागेका थिए । केही दिनयता गाउँ फर्किएका राजवंशीलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले राजवंशीलाई बुधबार सार्वजनिक गर्देछ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले आरोपीलाई गाउँमा आएको बेला पक्राउ गरिएको बताए ।
बोक्सो आरोपमा विस्थापित, घरनजिकै विभत्स हत्या

पटक पटक बोक्सो आरोपमा अपहेलित भएका राजवंशीको २०७४ असार ११ गते राति बजारबाट घर फर्कने क्रममा विभत्स हत्या भएको थियो । घर नजिकैको बजार गएर फर्कंदै गर्दा राजवंशीको घाँटी आधासम्म काटिएको थियो ।

बोक्सा आरोपमा कुटपिट र गाउँमा जरिवानाको सजाय भोगेका राजवंशी २०६४ सालयता गाउँमा अपहेलित थिए । गाउँमा कोही बिरामी परेर मृत्यु भएमा उनीमाथि आरोप आउँथ्यो ।

पटक–पटक बोक्साको आरोप खेप्दै आएका उनलाई गाउँलेको समूहले मानव मलमूत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट गरेपछि २०६९ सालमा प्रहरीले सातजना विरुद्ध मुद्दा चलाएको थियो । कुटपिट पछि पहाडचन र उनकी श्रीमती अंशु राजवंशी गाउँबाट विस्थापित भएका थिए ।

प्रहरीको सहयोगमा पछि पुर्नस्थापित गराएर प्रहरीले ७ जनालाई मुद्दा चलाएको थियो । उनीहरु धरौटी बुझाएर छुटेका थिए । हत्यामा संलग्न भएका राजवंशी सोही समूहका मध्ये एक भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment