Comments Add Comment

समुन्द्रमाथि सडक कसरी बन्छ भन्ने थाहा भयो : मुख्यमन्त्री शाही

६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही १० दिने तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

तिब्बतका बिभिन्न प्रान्तमा निर्माण भएका भौतिक संरचनाको अवलोकन गरी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका मुख्यमन्त्री शाहीले भ्रमण अनुभव सुनाउँदै भने, ‘समन्द्रमाथि बनाइएको सबैभन्दा लामो सडक पनि हेरियो । समुन्द्रमाथि सडक कसरी बनेको रैछ भन्ने कुरा पनि थाहा पाइयो ।’

मुख्यमन्त्री शाहीले भ्रमण फलदायी भएको भन्दै कर्णाली सरकारले अघि सारेका योजना तिब्बतको विकाससँग मिलेको दावी समेत गरे ।

कर्णाली सरकारले एकीकृत बस्ती विकासको योजना अघि सारेको छ । तिब्बतका सिचुवा र छिन्ताओ प्रान्तका एकीकृत बस्तीको अवलोकन र छलफलले आफ्नो योजनालाई सहयोग पुगेको उनले बताए ।

‘यस विषयमा कुन मोडलमा काम गर्ने भन्ने कुराको वातावरण मिल्यो भने त्यहाँको सरकारले आफ्नो अनुभवसहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘संघीय सरकारले अनुमति दिएमा त्यो सम्भव छ ।’

भ्रमणका क्रममा प्रदेश राजधानी सुर्खेतको रिङरोड निर्माण, सुर्खेत-बर्दिया सुरुङमार्ग निःशुल्क सर्वेबारेमा छलफल भएको मुख्यमन्त्री शाहीले बताए । त्यसबारे पनि त्यहाँको सरकार सकरात्मक रहेको उनको भनाइ छ ।

यस्तै, भ्रमणका क्रममा सान्ताउ प्रदेशसँग भगिनी सम्बन्ध कायम गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी गराए ।

मुख्यमन्त्री शाहीका अनुसार भेटघाट तथा छलफलका क्रममा तिब्बतका अधिकारीहरुले नेपालको पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडिबुटीमा चासो देखाएका थिए ।

तिब्बत सरकारले हिमालयसँग जोडिएका बिभिन्न देशहरुको ससहभागितामा बिआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री शाही तिब्बत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment