Comments Add Comment

कांग्रेस बैठक बस्दै, उपनिर्वाचन र भातृसंगठनबारे छलफल हुने

Photo Credit : फाइल तस्वीर

७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

छलफलका लागि विभिन्न एजेन्डाहरू तय भने मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ । उनका अनुसार, धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ । तत्कालीन पर्र्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं. २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ । कांग्रेसका एक नेताका अनुसार, उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकबाट एक उपसमिति बनाउने सम्भावना छ ।

त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन । अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् । तरुण दलभित्र एकले अर्कोलाई कारबाही गर्नेजस्ता गतिविधि पछिल्ला समय देखिएका छन् । आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment