Comments Add Comment

गाउँ पुगेका बैंक शाखाले सुरक्षा पाएनन्, कारोबार न्यून

७ कात्तिक, काठमाडौं । अहिले अधिकांश स्थानीय तहहरूमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा पुगिसकेका छन् । सरकारको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा नै सबै स्थानीय तहहरुमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरु शाखा खोल्न राजी पनि भए । मुलुकमा रहेका २८ वाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर्स एशोसिएसनको बैठक नै बसेर कुन स्थानीय तहमा कुन बैंक जाने भनेर निर्णय गरिएको थियो ।

असोज मसान्तसम्म ७५३ स्थानीय तहहरु मध्ये ७ सय ३४ तहहरुमा वाणिज्य बैंक पुगिसकेका छन् । बाँकी रहेका १९ तहमा शाखा खोल्न विभिन्न समस्या रहेको राष्ट्र बैंक स्वयम् बताउँदै आएको छ । राष्ट्र बैंकका अनुसार ग्रामीण भेगमा शाखा खोल्नका लागि मूख्य दुई चुनौती छन् । ती भनेको सुरक्षा प्रवन्ध र पूर्वाधारहरु हुन् ।

अहिलेको शाखा विस्तार ठूलो उपलब्धी भएको बैंकर्स एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना बताउछन् । केहि स्थानीय तहहरुमा मात्रै शाखा खोल्न बाँकी रहेको तर त्यहाँ न्युनतम भौतिक पूर्वाधार सुरक्षाको प्रवन्ध भए शाखा खोल्न बैंकहरुलाई कुनै समस्या नरहेको उनको भनाई छ ।

खोल्नै गाह्रो, खोलेको ठाउँमा चलाउनै गाह्रो

सरकारले लिएको नीति पुरा गर्न बैंकहरु तयार भए । कतिपय स्थानीय तहहरुमा त बैंकहरुले हेलिकप्टरबाट सामान लगेर पनि बैंकको शाखा खोले । त्यस्ता ठाउँमा बैंकको शाखा खोल्न निकै गाह्रो परेको र खोलिसके पछि पनि झनै समस्या रहेको बैंकका अधिकारी बताउँछन् ।

सरकारको नीति पालना गर्नका लागि सक्रियता देखाएकै कारण गत आर्थिक वर्षमा खर्च धेरै बढेको एक बैंकरले बताए ।

उनले भने, ‘राज्यको नीति हामीले पालना गर्‍यौं, तर यसले हाम्रो खर्च मात्र बढ्यो व्यवसाय बढेन ।’

उनले विकट क्षेत्रमा खोलिएका कतिपय शाखाका कर्मचारीहरु कामबिहिन जस्तै अवस्थामा रहेको बताए । सुरक्षाका कारण पनि ठूलो रकमको कारोबार गर्न नसकिएको उनको भनाइ छ ।

‘समस्या धेरै छ, बोल्दा विरोध गरे जस्तो हुन्छ’ उनले थपे, ‘न त्यहाँ नोट राख्न सकिने सुविधा छ, न त सुरक्षाको राम्रो प्रवन्ध नै । पुरा डामाडोल अवस्थामा शाखा चलाउनुपरेको छ ।’

विकट क्षेत्रका बैंकका शाखामा कायर्यरत कर्मचारीहरु पनि ठूलो कारोवार गर्न सुरक्षा चुनौती रहेको बताउछन् । हुम्लाको सिमिकोटमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय प्रमुख ठोक्रे बिष्ट विकट क्षेत्रमा काम गर्न निकै असहज भएको अनुभव सुनाए ।

मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा बैंकहरुका लागि पूर्वाधार भन्दा पनि सुरक्षा चुनौती समस्या रहेको बताउँछन् । पूर्वाधारको अभावले गर्दा अझ बढी सुरक्षा चुनौती रहेको अध्यक्ष लामाको भनाई छ ।

लामाका अनुसार कार्मारोङ्ग गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको मात्रै एउटा शाखा कार्यालय छ । त्यो पनि खुलेको एक महिना मात्रै भयो । नयाँ शाखा भएका कारण सरकारी कारोबार गर्न नपाएको उनले सुनाए । गाउँमा अन्य कुनै बैंकहरु नभएको र सुरक्षा पनि चुस्त नहुँदा बैंकका कर्मचारीहरु पनि डराउने अवस्था रहेको उनी बताउँछन् ।

लामाका अनुसार यस गाउँपालिकामा प्रहरी चौकी छ । तर दरबन्दी अनुसार प्रहरी नभएको उनले बताए ।

‘अहिले बैंक खुलेको पनि गाउँपालिकाको केन्द्रमै हो, केन्द्रमा प्रहरी चौकी पनि छ’ गाउँपालिका अध्यक्ष लामा भन्छन्, ‘सानो चौकी, दरबन्दी पनि जम्मा १३ जनाको हो, अझ प्रहरी त त्यहाँ ६/७ जनामात्रै छन् ।’

सुरक्षाको प्रत्याभूति दिलाउछौं : डीआईजी पोखरेल

नेपाल प्रहरी भने सुरक्षाको समस्या नरहेको बताउँछ । कही सुरक्षा चुनाती भए त्यहाँ अस्थायी वा स्थायी युनिट राखेर सुरक्षाको प्रवन्ध दिन प्रहरी तयार रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखेरलले बताए ।

‘सुरक्षाको प्रत्याभूति दिलाउनु हाम्रो काम हो, बैंक या सर्वसाधारणलाई कुनै सुरक्षा चुनौती भए हामी के गर्नु पर्छ गर्छौ’ प्रवक्ता पोखरेल भन्छन्, ‘विकट क्षेत्रमा स्थायी युनिट नै राखेर सुरक्षा दिनु परे पनि हामी तयार छौं ।’ सर्वसाधारणको सुरक्षामा प्रहरी सधै तत्पर रहेको उनले सुनाए ।

विकट क्षेत्रका हिमाली तथा पहाडी जिल्लाका कतिपय स्थानीय तहहरुमा रहेका प्रहरी चौकी जाडो बढ्ने वित्तिकै खाली हुने गरेका छन् । केहि दिनअघि मात्रै डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा रहेको प्रहरी चौकीबाट प्रहरी जाडो बढेको भन्दै खाली गरेर सदरमुकाम पुगेको थियो ।

त्यस ठाउँमा एउटा ‘क’ वर्गको वाणिज्य बैंक पनि छ । प्रहरी चौकीबाट प्रहरी हटेसँगै बैंकलाई केही सुरक्षा थ्रेट पक्कै हुन्छ । तर डीआईजी पोखरेलले त्यस ठाउँबाट प्रहरी मात्रै नहिँडेको बताए । जाडो बढेपछि गाउँ छाड्ने चलन रहेको र गाउँमा सर्वसाधारण नै नबस्ने भए पछि प्रहरीले गाउँ छाडेको उनको दावी छ । त्यसरी बैंक पनि सञ्चालन भइरहने र स्थानीय सर्वसाधारण पनि गाउँमै बस्ने हो भने प्रहरीले त्यहीँ बसेर सुरक्षा दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment