Comments Add Comment

प्रदेश १ मा फौजी किराको प्रकोप

२७ सय हेक्टरको मकैबाली सखाप

५ कात्तिक, विराटनगर । अमेरिकी फौजी किराको प्रकोपले प्रदेश १ मा कृषकले दुईहजार सातसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैबाली सखाप भएको छ । किराले प्रदेशका १० हजार ६७८ परिवारले दुई हजार ७१० हेक्टरमा लगाएको मकैबाली सखाप पारेको हो ।

गत जेठ २२ गते तेह्रथुमको म्याङ्लुङ नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलो पटक देखिएको फौजी किराको प्रकोप आठ जिल्लाका ३६ स्थानीय तहमा फैलिएको प्रदेश १ को कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

भदौ अन्तिमसातासम्म देखिएको फौजी किराले पाँचथरमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पाँचथरपछि ओखलढुंगा, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, उदयपुर र झापाका कृषक बढी प्रभावित छन् । कृषी बिकास निर्देशनालयका सूचना अधिकारी प्रकाशकुमार डाँगीका अनुसार, ओखलढुंगामा दुई हजार १८० कृषकले पाँचसय हेक्टरमा लगाएको मकै किराले नष्ट पारेको छ ।

त्यस्तै, उदयपुरमा १२९ कृषकले २२ हेक्टरमा लगाएको मकैबाली सखाप पारेको छ भने भोजपुरका ८०५ कृषकले २८९ हेक्टर र पाँचथरमा छ हजार ६३२ कृषकले एक हजार ३४५ हेक्टरमा लगाएको मकै किराले नष्ट गरेको छ । खोटाङमा ६६० कृषकले २२२ हेक्टर, धनकुटामा १८१ हेक्टर, तेह्रथुममा एकसय ४८ र झापामा ३ हेक्टर क्षेत्रमा लगाएको मकै बाली फौजी किराले सखाप बनाएको छ ।

फौजी किराको प्रकोप देखिएको स्थानका कृषकहरुलाई विषादी उपलब्ध गराएको सूचना अधिकारी डाँगीले बताए । उनका अनुसार, फौजी किराले धान, गहुँ, कोदो, उखु, गोलभेंडा, आलुलगायतका बाली पनि सखाप पार्न सक्छ ।

पहाडी क्षेत्रको मकैबालीमा देखिएको अमेरिकन फौजी किरा पछिल्लो समय नियन्त्रणमा आए पनि तराईमा लगाइने मकैबालीमा फैलन सक्ने खतरा रहेको निर्देशनालकी बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ बताउँछिन् ।

तराई क्षेत्रमा हिउँदे मकैबाली लगाउने चलन छ । श्रेष्ठ भन्छिन्, ‘पहिले प्रकोप देखिएको स्थानमा दोस्रो पटक बाली लगाउँदा फौजी किरा देखिएको छैन, तर तराईमा हुने मकै खेतीमा देखिन सक्छ ।’

एक रातमा सय किलोमिटर

कृषि प्राविधिकहरुका अनुसार, पुतली प्रजातिको अमेरिकन फौजी किरा आहारा खोज्दै एक रातमा अधिकतम १०० किलोमिटरसम्म यात्रा गर्छ । दुई महिने जीवन चक्र भएको यो किराको लार्भाले हुर्कदै मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत खान्छ । लार्भा रातको समयमा बढी सक्रिय हुन्छ ।

फूलबाट निस्केका साना लार्भाहरुले पातको तल्लो भाग खान थाल्छ । यो किराको एक पोथीले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी फूल पार्छ । अधिकतम पाँच दिनमा फूलबाट निस्कने लार्भाको टाउकोमा अंग्रेजी वाई आकारको सेतो धर्काे हुन्छ । त्यसले अमेरिकन फौजी किरालाई अरुबाट सजिलै छुट्याउने प्राविधिकहरु बताउँछन् ।

अमेरिकन फौजी किरा अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन् २०१६ जनवरीमा देखिएको थियो । दुई वर्षपछि २०१८ मा भारतमा पनि भेटियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment