Comments Add Comment

तिहारको औपचारिक शुरुवात कहिलेदेखि ?

शुक्रबार कात्तिक शुक्ल त्रयोदशी । यही दिनदेखि औपचारिक रुपमा तिहारको सुरुवात हुने गर्दछ । तर, शुक्रबार भन्दा शनिबार धेरै घडी शनिबार हुने भएकोले तिहारको सुरुवाती दिन अर्थात् काग तिहार शनिबार मात्रै गरिने भएको छ । यद्यपि ज्योतिष शास्त्रका अनुसार कात्तिक कृष्ण त्रयोदशीको व्रत भने शुक्रबारदेखि मनाउने गरिएको छ ।

यो दिन देवताका डाक्टर धन्वन्तरिको जन्म भएको मान्यता छ । यो दिन शास्त्रीय विधिद्वारा पूजाआजा गरी धन्वन्तरिको जन्मदिन मनाउने गरिएको छ । यो दिनलाई धार्मिक मान्यता अनुसार धन र ऐश्वर्यको पर्वको रुपमा मान्ने गरिन्छ । यो साल कात्तिक शुक्ल त्रयोदशी दुई दिन परेको छ । अघिल्लो दिन त्रयोदशी व्रत छ भने यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार शनिबार मनाउने गरिएको छ । त्यसैले दुई मध्ये जुन दिन पनि धन्वन्तरि दिवस मनाउन सकिन्छ ।

हिन्दू धर्ममा धन्वन्तरिको महत्व धेरै छ । देवताका चिकित्सक एवं शल्य चिकित्साका प्रवर्द्धक धन्वन्तरिको जन्मदिन भएकोले नै यो दिन धन्वन्तरेश नामले चिनिएको हो । पौराणिक रुपलाई मान्ने हो भने यसैदिनदेखि औपचारिक रुपमा तिहारको सुरुवात हुन्छ । यो दिन कुवेर र लक्ष्मीको पूजा गर्ने गरिन्छ । यी दुबै धन र ऐश्वर्यका प्रतीकहरु हुन् ।

किंवदन्ती अनुसार एक समयमा दानवराज बलीको दबदबा बढिरहेको थियो । दानवहरुका गुरु शुक्राचार्यले मारिएका दावनहरुलाई सञ्जीवनी बुटी खुवाएर बचाउन थाले । यसले देवगणहरु पराजयको मुखमा पुगेको बेला उनीहरुको चिकित्सकको रुपमा भगवान विष्णुले समुन्द्र मन्थनबाट धन्वन्तरिको उत्पत्ति गराएका थिए । त्यो लक्ष्मी पूजाको दुई दिनअघि अर्थात् कात्तिक कृष्ण त्रयोदशीको दिन थियो । शास्त्रका अनुसार कात्तिक महिनाको कृष्ण त्रयोदशी तिथिको दिन हातमा अमृतको कलश लिएर धन्वन्तरि प्रकट भएका थिए । उनै धन्वन्तरिले युद्धमा घाइते भएका भगवानको औषधि उपचार गराएका थिए ।

को हुन् धन्वन्तरि ?

धन्वन्तरिलाई आयुर्वेदका जन्मदाता मान्ने गरिएको छ । उनले विश्वभरका वनस्पतीको अध्ययन गरेर त्यसको राम्रो वा नराम्रो प्रभावको बारेमा ज्ञान हाँसिल गरेका थिए । धन्वन्तरिको हजारौं ग्रन्थहरु रहेको उल्लेख गरिन्छ । तर, उनीद्वारा लिखित केवल एकै मात्र ग्रन्थ धन्वन्तरि संहिता अहिले उपलब्ध छ । जुन आयुर्वेदको मूल ग्रन्थ हो ।

आयुर्वेदका आदि आचार्य सुश्रुत मुनिले धन्वन्तरिबाट नै शास्त्रको उपदेश प्राप्त गरेका थिए । पछि चरक जस्ता आयुर्वेदाचार्यहरुले यस सम्बन्धी ज्ञान हासिल गरेका थिए ।

धन्वन्तरिको जन्म आजभन्दा लगभग ७ हजार वर्ष पहिले भएको मान्ने गरिन्छ । उनले शल्य शास्त्रमा महत्वपूर्ण उपलब्धी हाँसिल गरेका थिए । उनका पनाती दिवोदासले उनको शल्य चिकित्सा शास्त्रलाई एकत्रित गरेर सुश्रुत आदि शिष्यलाई उपदेश दिएका थिए । धन्वन्तरिले उत्पादन गरेको सबैभन्दा ठूलो वैज्ञानिक प्रयोग अमृत हो ।

उनले मृत्युको विनाश गर्ने ध्येयले ब्रहृमा आदि देवताको लागि सोम नामक अमृतको आविस्कार गरेका थिए । धन्वन्तरि आदि आयुर्वेदाचार्यका अनुसार हाम्रो मानव जीवनमा १०० किसिमबाट मृत्यु हुने गर्दछ । त्यसमध्ये एक मात्रै काल मृत्यु वा उमेर पुगेर हुने मृत्यु हो । त्यसमध्ये अकाल मृत्युमा विभिन्न ९९ प्रकारका मृत्यु हुने गर्दछ । त्यसैलाई रोक्नको लागि उनले आयुर्वेदिक निदान गरेका थिए । धन्वन्तरिको नामबाट धेरै आयुर्वेदाचार्यहरु पनि जन्मिए । एक जना काशीका राजा धन्वका पुत्र, आयुका पुत्र लगायत विविध किसिमका धन्वन्तरिहरु आयुर्वेदको व्याख्याको क्रममा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment