Comments Add Comment

ह्याट्रिकले बौरिएका ‘क्याप्टेन अमेरिका’

फिकायो तोमरीले यसैसाता चेल्सीका आफ्ना टिम-मेट क्रिस्टियन पुलिसिकलाई ‘क्याप्टेन अमेरिका’को संज्ञा दिए । बर्नलेविरुद्ध ह्याट्रिकपछि क्रिस्टियनको यति प्रशंसा स्वभाविक थियो ।

अमेरिकाका २१ वर्षीय विङ्गरले अगष्टयताको पहिलो प्रिमियर लिग यात्रा ह्याट्रिकबाट सुरु गरेका छन् । उनको ह्याट्रिक आफैंमा ‘पूर्ण’ थियो । टर्फ मुरमा ब्लुजलाई ४-२ लेजिताउने क्रममा उनले पहिलो गोल देब्रे खुट्टाले, दोस्रो दाहिने खुट्टाले र तेस्रो टाउकोले गरेका थिए ।

चेल्सीका लागि पहिलो पटक तीन गोल गर्दा क्रिस्टियन आफैंले विश्वास गर्न सकिरहेका थिएनन् । उनले भने, ‘यो मेरो पहिलो व्यवसायीक ह्याट्रिक थियो र म झण्डैझण्डै आफैंमा हराउन पुगेँ । भाग्यवस मेरा साथीहरुले मलाई सम्हाले,’ बीबीसी म्याच अफ द डेमा उनले भने ।

टर्फ मुरमा विङ्गरको प्रदर्शन साँच्चै सह्राहनीय थियो । पहिलो दुई गोल उनले मैदानको बीच भागबाट बद दौडाउँदै गरेका थिए । र, तेस्रो चाहिँ हेडर थियो । हो, बर्नलेविरुद्ध हेडर ।

उनले मैदानका दुई भाग र सेन्टरबाट समेत आक्रमण बुनेर म्याच अवधिभरि क्लारेटको प्रतिरक्षालाई आतंकित बनाइरहे । परिणामस्वरुप अवे फ्यानहरुले उनको नाम गुञ्जायमान बनाए ।

इंग्ल्यान्डमा पुलिसिकको सुरुवात त्यति सहज भने थिएन । ब्लुजमा आवद्ध भएका उनी एक मात्र वास्तविक नयाँ अनुहार थिए । उनी अफसाइडबाट खेल्न सुरुमै टिममा परे, तर अगष्टभरि उनले खेलेका चार पि्रमियर लिग म्याचमध्ये फ्राङक् लाम्पार्डको टीमले एउटा मात्रै जित निकाल्न सक्यो । त्यसपछि उनले टिमबाटै फालिए ।

चेल्सीसँग अग्रपंतिका खेलाडीहरुको कमी थिएन । त्यसैले अब उनले टिममा स्थान बनाउन लगभग असम्भवजस्तो देखिएको थियो । मासोन माउन्ट, विलियन र क्यालुम हुड्सोन-ओडोइ जस्ता खेलाडीलाई पन्छाएर टिममा पर्नु पुलिसिकका लागि साँच्चै चुनौतीपूर्ण हुने ठानेका थिए इंग्लिस फुटबल फ्यानहरुले । लाम्पार्डले पनि उनलाई खेलाउने विषयमा पटक पटक जवाफ दिनु परेको थियो ।

‘म उनीप्रति अझै आशावादी छु । उनी अमेरिकाका ठूला स्टार हुन् । म चाहन्छु, चाँडोभन्दा चाँडो उनी लयमा आउन्,’ लाम्पार्ड भन्ने गर्थे ।

त्यसो त प्लेइङ ११ बाट फालिएपछि उनले तीनपटक वैकल्पिक खेलाडीका रुपमा थोरै समय मैदानमा बिताउन पाएका थिए । त्यसमा उनले गोलका लागि तीन मौका मिलाउन सफल भएपछि उनको टिममा फर्किने वातावरण बनेको थियो ।

बर्नले विरुद्धको म्याच विनिङ प्रदर्शनपछि अब लामपार्डले सम्भवत उनको विकल्प सोच्ने छैनन् । अमेरिकाका लागि पुलिसिकले अहिलेसम्म ३४ खेलमा १३ गोल गरेका छन् । प्रिमियर लिगमा उनका हरेक खेललाई समर्थकहरुले पछ्याउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment