Comments Add Comment

नेपालको बक्यौता नतिरी फर्किए २० विदेशी एयरलाइन्स

११ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३६ भन्दा बढी बिभिन्न निकायबाट बक्यौता उठाउन सकेको छैन । सरकारी तथा निजी यी निकायबाट प्राधिकरणले २ अर्ब १० करोड ८८ लाख बक्यौता उठाउन बाँकी छ । बक्यौता रकम नतिर्ने २० विदेशी एयरलाइन्स छन्, जसले नेपाललाई करोडौं रुपैयाँ नतिरी आफ्नो उडान नेपालमा बन्द गरेका छन् ।

प्राधिकरणका अनुसार कतिपय एयरलाइन्स नेपालबाट उडान झिकेपछि अन्य देशमा नियमित सञ्चालनमा छन् भने कतिपय कम्पनी टाट पल्टिएर बन्द भइसकेका छन् । प्राधिकरणले वायुसेवा कम्पनीहरुबाट जहाज अवतरण, पार्किङ, एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायता सेवा), विमानस्थल विकास शुल्क, घरभाडा लगायत असुल उपर गर्दै आएको छ ।

धेरै भारतीय र बंगलादेशी कम्पनी

मलेसियाली कम्पनी एयर एसियाले अघिल्लो वर्ष कात्तिकबाट नेपाल उडान बन्द गर्‍यो । तर, उसले प्राधिकरणलाई १३ करोड ६२ लाख १७ हजार रुपैयाँ विभिन्न प्रकारको शुल्क र ५ करोड ३२ लाख ४ हजार रुपैयाँ विमानस्थल विकास शुल्क तिर्न बाँकी छ ।

यसबाहेक ठूलो रकम नतिरी नेपालबाट फिर्ता हुने कम्पनीमा भारतीय र बंगलादेशीको बाहुल्य छ ।

आर्थिक रुपमा टाट पल्टिँदै गएपछि अहिले भारतीय जेट एयरवेजले सेवा बन्द गरेको छ । यो कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई १ करोड १० लाख रुपैयाँ विभिन्न प्रकारको शुल्क र २ करोड ४२ लाख रुपैयाँ ८४ हजार रुपैयाँ विमानस्थल विकास शुल्क तिर्न बाँकी छ । भारतको जेट एयरले गत अपि्रलबाट सेवा बन्द गरेको हो ।

जेट एयरवेज बन्द भएपछि भारतीय कम्पनी स्पाइस जेट एयरलाइन्स नेपाल आउने तरखरमा छ । तीन वर्ष अगाडि नेपालमा उडान रद्द गरेको भारतीय जेट विमान कम्पनीले प्राधिकरणलाई १ लाख १५ हजार ७ सय ८७ रुपैयाँ उधारो छाडेर गएको छ ।

एयर साहारा जेट लाइट बजेट एयरलाइन्स हो । एयर साहारालाई जेट एयरवेजले खरीद गरेपछि यसको नाम ‘एयर साहारा जेट लाइट’ राखिएको हो । मुख्य कम्पनी जेट एयरवेज बन्द भएपछि एयर साहारा जेट लाइटको समेत उडान बन्द भएको छ । यो कम्पनीले प्राधिकरणलाई ३४ लाख ७८ हजार १ सय २६ रुपैयाँ तिर्न बाँकी छ ।

किंगफिसर एयरलाइन्सले १ करोड १५ लाख ९७ हजार ५ सय ६२ रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने छ । तर, उक्त कम्पनी पनि टाट पल्टिएर बन्द भइसकेको छ ।

बंगलादेशको युनाइटेड एयरवेजले स्न २०१६ बाट उडान बन्द गर्‍यो । आर्थिक अवस्था नसुध्रिएपछि टाट पल्टिएको यो कम्पनीले प्राधिकरणलाई १ लाख ६ हजार ५ सय ५५ शुल्क र ३ हजार ५ सय ३० रुपैयाँ विमानस्थल विकास शुल्क तिर्न बाँकी छ ।

बंगलादेशकै जीएमजी एयरलाइन्सले सन् २०१२ देखि आफ्नो सेवा बन्द गर्‍यो । यो कम्पनीले पनि नेपालमा तिर्नुपर्ने उधारो बाँकी छ । जीएमजीबाट १ लाख ५९ हजार १ सय १ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ ।

विकसित मुलुककै कम्पनी बक्यौता नतिरी फर्किए

विगतमा नेपाल उडान गरे पनि उडान फिर्ता लिएका कतिपय विकसित मुलुककै वायुसेवा कम्पनीले समेत नेपालको बक्यौता तिर्न बाँकी छ । सन् २००५ बाट नेपाल उडान कटौती जर्मन कम्पनी लुपथान्साले समेत १० लाख ६३ हजार ६ सय ४४ रुपैयाँ बाँकी राखेको छ ।

यूएईको कम्पनी राक एयरवेज सन् २०१४ मा उडान बन्द गर्‍यो । यो कम्पनीले प्राधिकरणलाई १ लाख ८३ हजार ७ सय ७२ रुपैयाँ तिर्न बाँकी छ ।

नेपालमा नियमित उडान गरिरहेका विदेशी कम्पनीमध्ये अधिकांशले यात्रुबाट उठाएको विमानस्थल विकास शुल्क नै बाँकी राखेका छन् । यो सूचिमा नेपालका नेपाल वायुसेवा कम्पनी र हिमालय एयरलाइन्ससमेत समावेश छन्

बेलायतको प्रतिष्ठित तुई एयरलाइन्सले ९ लाख ५८ हजार ४ सय ९८ रुपैयाँ र अष्ट्रियाको अष्ट्रियन एयरलाइन्सले ४३ हजार ६ सय रुपैयाँ प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता छ ।

हङकङको हङकङ एक्सप्रेसले समेत १९ लाख ६२ हजार ९ सय ७८ रुपैयाँ बक्यौता तिरेको छैन । बहराइन एयरलाइन्सले २४ लाख ६३ हजार ३ सय ७१ रुपैयाँ तिर्न बाँकी छ ।

बर्मा एयरवेजले १ लाख ८६ हजार ८ सय ५० रुपैयाँ बाँकी नतिरेको देखिएको छ । बहराइनकै गल्फ एयरले २ करोड २२ लाख १३ हजार ५४ रुपैयाँ नतिरी नेपालबाट फिर्ता भइसकेको छ ।

ओरियन्टल थाई एयरलाइन्सले  ५ लाख ८९ हजार ८ सय १३ रुपैयाँ बक्यौता बाँकी छाडेको छ । सिंगापुर एयरलाइन्सले समेत ५ लाख ५८ हजार १ सय २८ रुपैयाँ बाँकी राखेको देखिएको छ । पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २ सय ३८ रुपैयाँ तिरेको छैन ।

जेट एयरवेजबाहेक नेपालबाट उडान झिकिसकेका विदेशी कम्पनीले ४ करोड ८३ लाख ७२ हजार ६ सय ६५ रुपैयाँ बाक्यौता राखेको प्राधिकरणले जानकारी दिएको छ ।

यात्रुबाट रकम उठाउँछन्, प्राधिकरणलाई तिर्दैनन् कम्पनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँछ । यस्तो शुल्क यात्रुले टिकट किन्नासाथ वायुसेवा कम्पनीको खातामा गइहाल्छ । प्रतिटिकट एक हजार रुपैयाँ वायुसेवा कम्पनीले हरेक महिनाको अन्तिममा प्राधिकरणमा बुझाउनुपर्ने प्रावधान छ । तर, अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले यात्रुबाट पैसा उठाएर सरकारलाई भने नतिरी बस्ने गरेका छन् ।

प्राधिकरणका अनुसार अहिले नेपालमा नियमित उडान गरिरहेका विदेशी कम्पनीमध्ये अधिकांशले यात्रुबाट उठाएको विमानस्थल विकास शुल्क नै बाँकी राखेका छन् । एयर अरेविया, एयर चाइना, भुटान एयरलाइन्स, चाइना साउदर्न, इत्तेहाद एयरवेज, ड्रागन एयरलाइन्स, इन्डिगो, मालिन्दो एयर, ओमान एयर, कतार एयरवेज, रिजेन्ट एयरवेज, सिचुवान एयरलाइन्स, टर्कीस एयरलाइन्स, वातानिया एयरवेजले नै यात्रुबाट उठाएको रकम बाँकी राखिदिएका छन् ।

यो सूचिमा नेपालका नेपाल वायुसेवा कम्पनी र हिमालय एयरलाइन्ससमेत समावेश छन् ।

कसरी उठ्छ बक्यौता ?

प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीको नाम र रकम सार्वजनिक गर्दै तिर्न ताकेता गरेको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार तोकिएको समयमा पनि बक्यौता तिर्न नआएमा कानून अनुसार थप प्रक्रिया शुरु हुनेछ ।

सरकारी दायित्व बेलैमा नतिर्ने वायुसेवा कम्पनी वा संस्थाको सम्झौता पत्र खारेज गरी सम्पत्ति नै रोक्का राख्न सक्ने अधिकार प्राधिकरणसँग छ । तर, निकै लामो समयदेखि बन्द भएका कम्पनीको हकमा भने प्राधिकरणले ढिला ‘एक्सन’ लिएका कारण रकम आउने सम्भावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment