Comments Add Comment

मृत्युदेव यमराजलाई कसले र किन मार्‍यो ?

सर्वोच्च ईश्वर ब्रहृमाले मनुष्यलाई माटोबाट, देवताहरुलाई प्रकाशबाट र देवताको विपरित शक्तिलाई आगोबाट बनाएका हुन् भन्ने पौराणिक मान्यता छ । वेदान्तका अनुसार कुनैपनि आत्माको विकासक्रम अघि बढेर नै पितृ, देवी या देवता बन्ने गर्दछ । यो पनि मानिन्छ कि प्राचीनकालमा देवताहरु सशरीर धर्तीमा नै रहने गर्दथे र यहीँ बसेर मानिसहरुमाथि शासन गर्ने गर्दथे । यही शासनको विषयमा देवता र असुरहरुबीच समय समयमा युद्ध पनि हुने गर्दथ्यो । यो पनि भन्ने गरिएको थियो कि त्यतिबेलाको मानिसहरु एवं देवतुल्य मानिसहरुको औषत् उमेर ५०० वर्षसम्म हुने गथ्र्याे । यति जानकारी भएपछि हामी कौतुहल हुने गर्छाैं यमराजको मृत्यु कसरी भयो ?

पूर्वीय मान्यतामा अजम्बरी कोही पनि छैन । चाहे माटोबाट बनेको मानिस होस् या प्रकाश रुप देवता या अग्नी रुप ब्रहृम राक्षस नै । जन्मिएपछि सबैजना कुनै न कुनै दिन मर्छन् नै ।

कोही १०० वर्षमा मरेर दोस्रो जन्म लिन्छन् भने कोही १००० वर्षसम्म एउटै जीवन जिउने गर्छन् । यसैगरी पुराणमा १४ जना इन्द्रको बारेमा व्याख्या पाइन्छ । त्यस्तै, १४ यमराजले शासन गरिसकेको विषय समेत पुराणमा हामी पाउन सक्छौं । शास्त्रका अनुसार कतै यमराजको १४ वटा नामलाई नै १४ यमराज रहेको मान्यता राख्ने गरिएको छ भने कतै यमराज एउटा पद भएकोले १४ वटा यमराज भएको मान्ने गरिन्छ । १४ यमराजको नाम निम्नानुसार छन् । यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुभ्बर, दघ्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त । एक जना चित्रगुप्त यमराजको सहयोगी पनि थिए ।

वेद एवं पुराणका अनुसार धेरै देवी देवताहरुलाई आफ्नो सृष्टि सञ्चालन हेतु ब्रहृमाले भिन्नभिन्न जिम्मेवारी दिएका छन् । जस्तै, ब्रहृमाको काम सृष्टि गर्नु हो, विष्णुको काम उसको पालन गर्नु हो भने शिवको काम संहारक शक्तिहरुको स्वामी एवं मृत्यु र प्रलयका देवताको रुपमा काम गर्नु हो । अर्थात् ब्रहृमा यो संसारमा ल्याउने भगवान हुन्, विष्णु यहाँ संरक्षण गर्ने र शिव यहाँबाट लैजाने देवता हुन् ।

अर्काेतर्फ इन्द्र बर्षा, विद्युत र युद्ध सञ्चालन गर्ने देवता हुन् भने अग्नी आहुती मार्फत् मत्र्य लोकका मानिसहरुकोे सन्देश लैजाने माध्यम हुन् । सूर्यदेव जगतको शुद्ध प्रकाशको अधिपति एवं समस्त प्राणीहरुको जीवनदान दिनेवाला देवता हुन् । पवनदेवको अधिनमा समस्त वायु रहने गर्दछ । कुवेर धनका अधिपति हुन् । एवं देवताका कोषाध्यक्ष पनि । मित्रदेवले, देव र देवगणको बीच सम्पर्क स्थापित गर्दछन् । प्रजनन् कि्रयाका निर्देशक हुन् कामददेव ।

माथि उल्लेखित देवताहरु जस्तै यमराज सृष्टिमा मृत्युको विभागाध्यक्ष हुन् । सृष्टिमा प्राणीहरुको भौतिक शरीर नष्ट भएपछि आत्मा उचित स्थानमा पुग्ने गर्दछ भने शरीर पञ्चतत्वमा बिलिन हुने गर्दछ । तिनै प्राणीको मृत्युका देवता हुन् यमराज । तर, यमराज आफैंपनि मृत्युभन्दा माथि भने छैनन् ।  चित्रगुप्त संसारको लेखाजोखा कार्यालय सम्हाल्ने यमराजका सहयोगी हुन् र उनी यमराज, स्वर्ग र नर्कको मुख्यालयको रुपमा तालमेल पनि गराउने गर्दछन् ।

कसरी भयो यमराजको निधन ?

अब प्रश्न खडा हुन्छ कि मृत्युका देवता यमराज कसरी मर्छन् ? यस सम्बन्धमा एउटा पौराणिक कथा छ । जसले यमराजको निधनसम्बन्धी जानकारी दिने गर्दछ ।

प्राचीन समयमा कलन्जार भन्ने ठाउँमा एकजना शिवभक्तले शासन गर्ने गरेका थिए । उनको नाम श्वेत थियो । बूढो भएपछि राजा श्वेतले आफ्नो छोरालाई राज्य सुम्पिएर गोदावरी नदीको किनारामा एक गुफा बनाएर शिवको आराधना गर्न थाले । राजा श्वेतलाई न रोग थियो न शोक । त्यसकारण उनको आयु पूरा हुँदा पनि उनी एक चित्त भएर शिवको भक्तिमा लागिरहेका थिए । भक्तिका क्रममा उनलाई आफ्नो उमेरको आभाष समेत भएको थिएन । उनको सारा ध्यान शिवमाथि थियो । उनी अभय भएर रुद्राध्यायको पाठ गरिरहेका थिए  उनको रौंरौंं शिवको भक्तिमा लीन थियो ।

उमेर समाप्त भएपछि, जब यमदूतहरू मुनिको ज्यान लिन गुफामा प्रवेश गरे । उनलाई लिन आएका यमदूतहरु जब गुफाबाट भित्र छिर्न सकेनन् । उनीहरु धेरैबेर द्वारमा श्वेत मुनिको प्रतीक्षामा बसिरहेका थिए । श्वेत मुनि बाहिर निस्किएपछि यमदूतहरुले उनलाई बलपूर्वक यमलोक लैजान खोजे । सोही समयमा शिवको वाहन भैरवले यमदूत मुत्युदेवलाई आक्रमण गरेर उनलाई मारेको उल्लेख पाइन्छ ।

जब समय पूरा हुँदैगर्दा आफ्ना दूत र श्वेत मुनिसमेत नआएपछि यमराजले चित्रगुप्तलाई यसको कारण सोधे । उनलाई चित्रगुप्तले भैरवको आक्रमणको बारेमा सुनाएपछि यमराज आफैं श्वेत मुनिलाई लिन पुगे । उनी श्वेत मुनिको गुफामा पुग्दा शिवका सेनाहरु पनि त्यहीँ थिए । फेरि यमराजले समेत बल गरेर उनलाई लैजान लागेपछि शिवसेना कार्तिकेयले शक्ति अस्त्र छोडेर यमराजको हत्या गरेका गरेको पौराणिक रुपमा उल्लेख पाइन्छ ।

त्यसपछि यो समाचार यमदूतहरूले सूर्यलाई गएर सुनाए ।  छोराको मृत्युको खबर सुनेपछि भगवान सूर्य, ब्रहृमा र देवताहरू सहित यमराज सेनाको साथ मरेका ठाउँमा आइपुगे । त्यहाँ आएर देवताहरूले भगवान शंकरको स्तुति गर्न थाले । त्यतिबेला भगवान शिव प्रकट भए भन्ने शास्त्रीय मान्यता छ ।

देवताहरूले त्यतिबेला भगवान शिवलाई भने, ‘हे प्रभु ! यमराज सूर्यका छोरा हुन् । उनी लोकपाल हुन् । तपाईंले उनलाई धर्म-कानून व्यवस्थाको नियन्त्रकको रूपमा नियुक्त गर्नुभयो । तिनैको यसरी वध गर्नु सही छैन । उनीहरू बिना सृष्टिको कार्य असम्भव हुनेछ । त्यसैले सेनासँगै उनीहरूलाई जीवित बनाउनुहोस्, अन्यथा अराजकता फैलिनेछ ।’

भगवान शंकरले भने- ‘म पनि यो प्रणालीको पक्षमा छु । तर, जो मानिस मेरो र भगवान विष्णुको भक्त छ । उनीहरुको मृत्युमा यमराजको कुनै अधिकार छैन ।’ त्यति भनेर भगवान शिवले देवहरूको आज्ञा पालन गरेर यमराजलाई प्राणदान दिए भन्ने मान्यता छ । शिवको आदेशमा नन्दीश्वरले गौतमी नदीको पानी ल्याएर यमराज र उनका सन्देशवाहकहरूलाई छर्किए । जसले सबैलाई जीवित बनायो । यमराजले जीवित भएपछि यमराजले श्वेत मुनिलाई भने – ‘तपाईंले मलाई जित्नुभयो, सम्पूर्ण संसारमा अजेय म अब म तपाईंको पछि लाग्छु । भगवान शिवको तर्फबाट मलाई अभय प्रदान गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment