Comments Add Comment
मेरो कथा :

अब क्रिकेट नै हो जिन्दगी

कुुरा काट्नेहरु काट्दै गर्छन्, हाम्रो काम खेल्ने हो

अभाव, दबाब र तनावमै गुज्रिए क्रिकेटमा मेरा ९ वर्ष । तर अहिले र आशाको दियो धपक्क बलेको छ । पहिलोपटक फ्रेन्चाइज क्रिकेट महिला च्याम्पियन्स लिग भयो । म संलग्न टिम चितवन राइनोजले उपाधि पनि जित्यो ।

तर, जित–हार भन्दा पनि प्रतियोगिताको सफल आयोजना नै ठूलो कुरा थियो हाम्रो लागि । नेपालको महिला क्रिकेटले व्यवसायिकता समात्ने आशा पलाएको छ ।

पहिला क्रिकेट खेल्न ब्याट र बल बोकेर निस्कँदा गाली गर्ने आमाबुवाले ममाथि गर्व गर्न थाल्नुभएको छ । यतिसम्म कि म लिगमा बेष्ट ब्याट्सवुमन घोषित हुँदा घरमा पार्टी दिनुभएछ । परिवारको यो उत्साहले मलाई थप प्रेरणा मिलेको छ ।

वुमन्स लिगको वर्णन त गर्ने नै छु । त्योभन्दा अगाडि चाहिँ मेरो क्रिकेट यात्रालाई एकचोटि फर्केर हेर्छु । घर–परिवारबाट साथ नहुँदा नहुँदै, महिला क्रिकेटको विजोग अवस्थामा आफूलाई यस खेलमा अघि बढाउन कम्ती चुनौतीपूर्ण थिएन । अहिले पनि त अवस्था त नाजुक नै छ नि । सायद दाइको साथ नभएको भए क्रिकेटर बन्ने मेरो सपना सपनामै सीमित हुन सक्थ्यो ।

००००

मैले अन्तरस्कुल प्रतियोगिताबाट यहाँसम्मको यात्रा तय गरेकी हुँ । म यो स्थानमा आइपुग्न दाइ (विरु श्रेष्ठ) को ठूलो भूमिका छ । जे छु, उहाँकै कारणले छु ।

१५ वर्षको उमेरमा विद्यालयस्तरीय प्रतियोगिता खेल्दा परिवारका अरु सदस्यको सपोर्ट थिएन । केटीले पनि क्रिकेट खेल्छन् ? भन्दै हप्की खानुपथ्र्यो । विस्तारै आमा र बाबाबाट साथ पाउन थालेँ । तर, हजुरबुवा र हजुरआमा भने ‘किन क्रिकेट खेलाएको ?’ भन्दै बुवाआमालाई गाली गर्नु हुन्थ्यो । तैपनि बुवाआमाको साथ पाएपछि मलाई निकै सजिलो भयो । जति पनि आवश्यक पर्ने खेल सामग्रीदेखि खाने खर्चसम्म बाबाआमाले कमी हुन दिनु भएन ।

झापा काकाँडभिट्टादेखि सुरु भएको संघर्षको कथा लामै छ । सिनियर टिममा पर्न छनोट प्रतियोगिताहरु खेले पनि सफल भइनँ । धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलबाट खेलेँ । यसमा राम्रो गर्न सकिन ।

२०१४ मा यू–१९ क्रिकेट प्रतियोगिता खेले । त्यो बेला पनि म वेस्ट ब्याट्सवुमन भएकी थिएँ । मलाई थाहा थिएन, त्यो नै सिनियर टिमको लागि छनोट प्रतियोगिता रहेछ ।
मेरो भाग्य चम्किएको भनौं कि के भनौं, त्यो बेला क्याम्पमा पनि राम्रै रन बनाएँ । सबै मभन्दा सिनियर दिदीहरु हुनुहुन्थ्यो । उनीहरुको निकै साथ र सहयोग पाएँ । नयाँ–नयाँ कुरा सिकेँ । प्रष्ट भन्दा क्रिकेटको वास्तविकता बल्ल बुझेँ ।

सिनियर टिमको क्लोज क्याम्पमा राम्रो गरेँ र, टिममा पर्दै मैले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएँ । त्यसबेला म आफैंले सोचेको थिइन कि यति चाँडै राष्ट्रिय टिममा पर्छु ।
थाइल्यान्डमा २०१४ मा भएको एसीसी लिगको लागि टिममा परेपछि खुशीको सीमा भएन । क्रिकेट नखेल भन्नेहरुको लागि पनि यो मेरो ठूलो जवाफ थियो ।

हाम्रो पहिलो खेल थाइल्यान्डसँग थियो । प्लेइङ ११ मा पर्दिन जस्तो लागेको थियो, तर परेँ । अचम्म भयो ! निकै नर्भस थिएँ । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता । पहिलो अन्तर्राष्ट्रिय खेल । अनुभव त शून्य थियो । प्रदर्शन राम्रो पनि भएन । म ओपनिङमै ब्याटिङ गर्न गएकी थिएँ । तर ४ कि ५ रनमा आउट भएँ ।

प्रशिक्षकले विश्वास गरेर प्लेइङ सेटमा राख्नुभएको थियो । सस्तैमा आउट हुँदा उहाँको भरोसालाई न्याय गरिनँ भन्ने महसुस भयो । त्यो खेलपछि म पूरै प्रतियोगिताभरि बेन्चमै रहेँ । दिदीहरुको खेल नियाल्नेबाहेक मेरो काम केही भएन ।

००००

खेलाडीको करिअर सँधै एकैनासको हुँदैन । मेरो क्रिकेट करिअर पनि आरोह र अवरोहबाटै गुज्रिरहेको छ ।

सिनियर टिमबाट डेब्यू गरेको केही वर्ष त फ्लप जस्तै थिएँ । पछिल्लो दुई वर्षदेखि भने निरन्तर टिममा पर्दै आएको छु । २०१८ देखि सबै खेलमा खेल्दै आइरहेकी छु । मैले एसीसी, थाइल्यान्ड वुमन टी–२० स्मासदेखि विश्वकप छनोटसम्मका प्रतियोगिताहरु खेले । केहीमा राम्रो गरेँ त केहीमा फ्लप भएँ । तथापि, सबै खेलमा आफ्नो सय प्रतिशत नै दिने कोशिस गरिरहेको हुन्छु ।

हाम्रो लागि ठूलो चुनौती थाइल्यान्ड हुने गरेको छ । थाइल्यान्डलाई हामीले हराउन नसक्ने त होइन । तर हामीमा प्रतिभाको होइन, अनुभवको कमी छ । जबसम्म हामीले घरेलु संरचनादेखि म्याच एक्सपोजरमा ध्यान दिँदैनौं, हाम्रो लागि थाइल्यान्ड मात्रै होइन, अन्य देश पनि विस्तारै बाधक बन्दै जानेछन् ।

००००

अँ, अब वुमन्स लिगमा फर्किन्छु । यो प्रतियोगिता हामीले लामो समयदेखि पर्खिएका थियौं । त्यसैले उत्साह निकै थियो । तर साँच्चै भन्नुपर्दा मैले आफ्नो टिम विजेता होला र म बेस्ट ब्याट्सवुमन बनुँला भन्नेचाहिँ सोचेको थिइनँ ।

एकदेखि अर्को खेल गर्दै जित्दै गइयो । जितले टिमको आत्मविश्वास बढ्दै गयो । फाइनलमा क्याट क्वीन्स काठमाडौंसँग भेट भयो । पहिले ब्याटिङ गरेको हामीले ११२ रन बनायौं । म २१ रनमा आउट भएकी थिएँ । गलत सट प्रहार गर्दा क्याच आउट हुन पुगेँ । त्यसैले मलाई डर पनि लागेको थियो ।

किनकी जितको लागि ११२ रन पर्याप्त थिएन । अब टिमलाई जिताउने जिम्मेवारी बलरमाथि आयो । उनीहरुले नै जिताए भन्छु म । पहिलोपटक आयोजना भएको फ्रेन्चाइज लिगको च्याम्पियन भयौं । यसमा सबैको योगदान छ ।

यद्यपि, यो प्रतियोगितामा व्यक्तिगत रुपमा मेरो ब्याट चलेकै हो । मैले पाँच खेलबाट कुल १३४ रन बनाएँ । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेँ ।

पहिलो खेलमा काठमाडौंविरुद्ध ११ रन बनाएकी थिएँ । त्यसपछि ललितपुर फाल्कोन्सविरुद्ध १५ रन । दुई म्याचमा राम्रो चल्न सकिनँ । पाएको अवसर गुमाएँ कि जस्तो लागिसकेको थियो । तर पोखरा पल्टनविरुद्ध अर्धशतक बनाए । ४७ बलमा ५१ रन बनाएर आउट भएकी थिएँ । यसले मलाई निकै राहत दियो । समूह चरणमा विराटनगर टाइटन्सविरुद्ध पनि महत्वपूर्ण ३६ रन बनाए ।

सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेकी रुविना दिदी (रुविना क्षेत्री, क्याट क्वीन्स काठमाडौंकी कप्तान) ले २१४ रन बनाउनुभयो । मैले उहाँसित आफूलाई कसरी दाँज्नू ? सर्वाधिक रन बनाउनेहरुको सूचीमा उहाँपछि रहँदा खुशी नै छु ।

साग खेलकुद नजिकै आइरहँदा यो प्रदर्शनले उर्जा दिएको छ । हाम्रो ध्यान पनि सागमै छ ।

घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा हाम्रो लक्ष्य स्वर्ण पदक नै हो । तर हामीलाई यो पनि थाहा छ कि यो सजिलै भेट्टाइने लक्ष्य होइन । हामीले धेरै कुरामा सुधार गर्नुछ । किनकी टेष्ट मान्यता प्राप्त टिमलाई पराजित गरेर स्वर्ण जित्नु चानचुने कुरा होइन । तर हाम्रो तयारी राम्रो भइरहेको छ । प्रशिक्षक (जगत टमाटा) ले पनि टेस्ट नेशन भनेर डराउने होइन, प्रतिस्पर्धालाई सामान्य रुपमा लिने र आफ्नो खेल देखाउने भन्नु भएको छ ।

००००

साग खेलकुदमा स्वर्णको सपना बुनिरहँदा हामीले आफ्नो धरातललाई पनि बिर्सन मिल्दैन । न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुन्छन् न खेलका लागि उपयुक्त वातावरण । अझै पनि केटीले पनि क्रिकेट खेल्छन् र भन्ने मानसिकता तोडिएको छैन ।

यस्ता कुराले क्रिकेटमा करिअर बनाउन मेहनत गरिरहेका हामीजस्ता खेलाडीलाई निकै बिझाउँछ । तर आजभोलि त बानी परिसकेको छ । हाम्रो काम हो खेल्ने, कुरा काट्नेहरुको काम कुरा काट्ने हो भनेर चित्त बुझाउँछौं ।

अब क्रिकेट नै हो जिन्दगी । क्रिकेटबाहेक अरु केही जानेको पनि छैन । यसले नै खेल्न सिकायो, कुद्न सिकायो । एउटा लक्ष्य बोक्न सिकायो । क्रिकेटले धेरथोक नभए पनि नाम दिएको छ । त्यसैले क्रिकेटबाट अब टाढा बस्न सक्दिन ।

कहिलेकाहीँ क्रिकेट चटक्कै छोडिदिउँ जस्तो नलाग्ने होइन । विदेश गएर उतै सेटल भइदिउँ जस्तो पनि लाग्छ । तर त्यहाँ गएर पैसा त कमाइएला, आत्मसन्तुष्टि मिल्दैन नि । आफ्नो देशका लागि खेल्दाको गौरव त मिल्दैन नि । त्यसैले क्रिकेट मात्रै दिमागमा छ । म यसमै रमाएको छु, जे छ, त्यसमै सन्तुष्ट छु ।

बेलाबेला क्रिकेटले के दियो त ? भन्ने प्रश्न आउँछ । तर क्रिकेटले के दियो भन्दा पनि मैले के दिएँ भन्ने कुरा मुख्य हो ।

हो हामीले सेवा–सुविधा पाएका छैनौं । घरबाट सहयोग नहुने हो भने यहाँ कोही पनि महिला क्रिकेटर मैदानमा हुने छैनन् । तर कालान्तरमा त्यो पनि राम्रो होला, हुनुपर्छ पनि ।

सरकारले नै सबै गरिदिनुपर्छ भन्ने छैन । तर खेलेर बाँच्ने आधार सरकार र क्यानले बनाइदिनुपर्छ । हामीले घरमा सानो सानो कुराहरुको लागि नि पैसा माग्न नपरोस् ।

एउटा कुरा चाहिँ के हो भने अहिले हामीले राम्रो गर्‍यौं भने महिला क्रिकेटको जग बसायौं भने भविष्यमा हाम्रा सन्ततीले राम्रो अवसर पाउनेछन् । महिलाले पनि क्रिकेट खेल्छन् र ? भन्दै अनौठो मान्नेको मुख बन्द हुनेछ ।

प्रस्‍तुति : सरोज तामाङ

तस्वीर : शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को ६० औं अंकमा यो हप्ता क्रिकेट खेलाडी काजल श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment