
१५ कात्तिक, वीरगञ्ज । चाडवाडको नाममा जुवा खेल्ने १३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले ३१ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
बिहीबार राति सवा १० बजेतिर बाराको प्रसौनी गाउँपालिका –५ प्रष्टोकाबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रसौनी–५ प्रष्टोका बस्ने १८ बर्षीय पप्पु साह, ३८ बर्षीय प्रभु साह, १९ बर्षीय पप्पु राय भर, १९ बर्षीय अजय मण्डल, ४२ बर्षीय शम्भु साह र प्रसौनी–६ बेलहिया बस्ने १८ बर्षीय दिपक कुश्वाहा पक्राउ परेका हुन् ।
‘जुवा कौडा खेलिरहेको छ’ भन्ने सूचनाको आधारमा गएको टोलीले जुवाको खालमा छापमारी गर्दा नगद २३ हजार ९ सय २१ रुपैयाँ, कौडा १६ थान र ताससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
प्रहरीले कात्तिक ११ गते नगद ७ हजार ५ सय ५० र १६ थान कौडा सहित ६ जनालाई प्रसौनी गाउँपालिका –६ बेलहियाबाटै र थप एक जनालाई जिल्लाको अन्य स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया 4