Comments Add Comment

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा ‘बलियो नेपाल’

१५ कात्तिक, काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत समुद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्नुभयो । संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्िगण विकासका लागि शुपोषित हुनु आवस्यक रहेको बताउनुभयो ।

यस वृहत अभियानलाई अगाडि बढाउन गैर नाफामूलक बलियो नेपाल नामक सस्था स्थापना गरिएको छ । नेपालमा आआफ्नो क्षेत्रमा पुर्‍याएको योगदानका कारण ख्याती कमाएका व्यक्तित्वहरू बलियो नेपालको बोर्डमा रहनु भएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वणिर्म वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सिईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला रहनु भएको छ ।

चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष्ँ चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरि यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल लिनु भएको हो ।

‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ । यहि उदेश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हो ।’

बलियो नेपाल नेपालमा पहिलो पटक निजी क्षेत्रसँगको सहकार्यमा कुपोषणको दिगो अन्त्य र गरिवी निवारणमा योगदान पुर्‍याउने उदेश्यका साथ स्थापना भएको हो । यो विश्वमै प्रयोगमा ल्याईएको एउटा नयाँ सोंच पनि हो । नेपालका नयाँ अनुभवहरूलाई कुपोषण विरूद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशहरूमा लागू गर्न सकिने विश्वास गरिएको छ । अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरि कुपोषण विरूद्ध उपलब्धी हासिल गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।

पहिलो चरणमा यो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले कुपोषण विरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गनुभयो ।

सिएनआईका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन विगत दुई बर्षदेखि गरिएका पहलहरूको बारेमा जानकारी दिनुभयो । ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भन्नुभयो ।

यस अभियानमा सीजीका उत्पादनहरू प्रवर्धन गर्न लागिएको भन्ने टिप्पणीप्रति लक्षित गर्दै सीजीका प्रवन्ध निर्देशक समेत रहनु भएका चौधरीले भन्नुभयो- ‘यस अभियानमार्फत् सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवस्यक ठानेका छैनौँ । हाम्रो विश्वब्यापी ब्राण्ड वाईवाई नेपालसहित एसिया, मध्यपूर्व, यूरोप, अमेरिका र अफ्रिकासम्म पनि विश्वब्यापी गुणस्तरमा प्रतिस्पर्धा गर्दै ति बजारहरूमा विस्तार भईरहेको छ । यस बारेमा सामान्य जानकारी राख्नेहरूले यस्तो टिप्पणी गर्दैनन् भन्ने हामीलाई राम्रोसँग थाहा छ । बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ । यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आव्हान गर्दछु ।’

बलियो नेपालका अध्यक्ष डा. वाग्लेले यस अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने बताउनु भएको छ । यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा पोषणयुक्त लिटो र अण्डा कुपोषित बालबालिकाको पहुँचमा पुर्‍याउने गरि कार्यक्रम तय भएको जानकारी पनि उहाँले दिनुभयो । ‘हाम्रो विशेष ध्यान बालबालिकाका अतिरिक्त किशोरीहरू, प्रजनन उमेरका महिलाहरू, गर्भवती तथा सुत्केरीहरूमा रहनेछ । जसबाट हामी के सुनिश्चित गर्न चाहान्छौँ भने आउने पुस्ता वर्तमान पुस्ताभन्दा अझ बलियो र स्वस्थ भएर राष्ट्र निर्माणमा सक्रिय हुन सकोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment