Comments Add Comment
नयाँ कप्तानका कुरा :

‘पारस टिममा हुँदा मलाई सहज हुन्छ’

१७ कात्तिक, काठमाडौं । पारस खड्काले १० वर्षसम्म सम्हालेको नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व अब उनकै समकालीन ज्ञानेन्द्र मल्लको हातमा आएको छ ।

लामो समय उपकप्तानको भूमिका निभाएका र पारसको अनुपस्थितिमा केही म्याचको कप्तानी समेत गरेका ज्ञानेन्द्रका लागि यो जिम्मेवारी त्यति नौलो होइन । तथापि, पारसको जस्तै सफल र निर्विवाद नेतृत्व दिने चुनौती त छ नै ।

कप्तानी जिम्मेवारीसँगै उनको व्यक्तिगत प्रदर्शन समेत थप सुधारिने आशा गरिने छ । अनलाइनखबरसँगको कुराकानीमा ज्ञानेन्द्रले एमसीसीविरुद्धको म्याचलाई पहिलो प्राथमिकतामा राखेको बताए । साथै, साग खेलकुदमा नेपाललाई क्रिकेटको कुनै पदक दिलाउने आफ्नो अभिलाषा समेत सुनाए । ज्ञानेन्द्रसँगको वार्तालापको प्रमुख अंशः

तपाईं एक दशकसम्म नेपाली क्रिकेट टिमको उपकप्तान रहनुभयो । अहिले पूर्णकालिन कप्तान नियुक्त हुनुभएको छ । उपकप्तान र कप्तान बन्नुमा के फरक अनुभूति हुँदोरहेछ ?

अँ, अलिकति फरक चाहिँ हुँदोरहेछ ।

हुन त उपकप्तान हुँदा पनि म नेपाली टिमको जितका लागि खेल्थेँ । कहिले पछाडि बसेर भूमिका खेल्थेँ होला । तर उद्देश्य एउटै हुन्थ्यो, कसरी आफ्नो टिमलाई जित दिलाउने ?

अहिले आफैं अगाडि आउँदा पाएको प्रतिक्रिया, शुभेच्क्षा र अपेक्षाले अलिकति फरक महसुस गराउँदो रहेछ । खुसी पनि लाग्यो, सबैले सपोर्ट गरिदिनभुयो । पारस (खड्का)पछि आउँदा कतिलाई स्वीकार्य नहुन पनि सक्थ्यो होला । तर सबैले सहजरुपमा स्वीकार गरिदिनुभयो । शुभकामना दिनुभएको छ । यसले मलाई आफ्नो जिम्मेवारीबोध पनि गराएको छ र, उहाँअरुप्रति आभारी छु ।

तर व्यक्तिगत रुपमा मेरो कुरा गर्नुहुन्छ भने भूमिका मात्र परिर्वतन भएको हो । लक्ष्य एउटै छ, टिमलाई जिताउने । यो हिजो पनि थियो, आज पनि छ र रहनेछ ।

नयाँ भूमिकाको निम्ति आफूलाई तयार बनाउन चाहिँ कति समय लाग्यो ?

हामीले जस्तो खालको सोच, सम्बन्ध बनाएका छौं, त्यो क्रिकेटकै लागि हो । पारसले यत्रो वर्ष कप्तानी भूमिका निभाइसकेको छ, उसलाई पनि आफ्नो भूमिका थाहा छ । त्यसअनुसार नै मसँग पनि र बाहिर पनि भन्दै आएको छ ।

म त किन खुसी छु भने मैदानमा मैले वर्षौ कप्तान भइसकेको व्यक्तिको इन्पुट पनि पाउनेछु । त्यसमाथि पारस त पफर्मर पनि हो । कुनै पनि खेलमा नेपाललाई जिताउन सक्ने क्षमता छ र विगतमा त्यो भूमिका निभाउँदै पनि आएको छ । त्यस्तो खेलाडी आफ्नो टिममा हुँदा मलाई सहज हुन्छ ।

यस्ता उदाहरणहरु अन्यत्र पनि छन् । पहिले अष्ट्रेलियाका लागि शेन वार्न र ग्लेन म्याग्रा थिए । अहिले भारतीय टिमलाई हेरौं । महेन्द्रसिंह धोनी र विराट कोहली छन् ।

त्यसैले म त के चाहन्छु भनेर अरु पनि यस्ता लिडरहरु टिममा होउन् र कप्तानलाई निर्णय लिन सजिलो हो ।

सामाजिक सञ्जालमा एउटा ट्रोल भाइरल भयो, जसमा राष्ट्रिय टिमका सबै सदस्य खेल सुरु हनुअघि जम्मा भएका बेला पारसले फलानो यसो गर, फलानो यसो गर भनिरहेका हुन्छन् । अनि तपाईँले चाहिँ पारस ! कप्तान त म हुँ नि भनेको देखाइएको छ । यस्तो ट्रोलहरु हेर्दा कस्तो लाग्छ ?

हाहाहा … राम्रो–नराम्रा दुबै हुँदा रमाइलोका लागि यस्ता ट्रोलहरु बन्छन् ।

तर यसले गरेको संकेत चाहिँ १० वर्षसम्म कप्तान रहेका पारसका अगाडि तपाईंलाई नेतृत्व लिन असहज महसुस हुन्छ भन्ने नै त होला नि ?

मैले भनिहालेँ, टिममा सबैले आआफ्नो भूमिका बुझ्नु भएको छ । यसले गर्दा पनि कुनै समस्या हुँदैन जस्तो लाग्छ । अझ मलाई त के लाग्छ भने पारस त भइहाल्यो, सन्दीप छ । सोमपाल, दीपेन्द्र, करणहरु जस्ता अनुभवी खेलाडीहरु छन् । शरद पनि आफैंमा राम्रो लिडर हो । उनीहरुको सहयोगले टिम अझ बलियो हुन्छ ।

कप्तानको भूमिका त निभाउनु परिहाल्यो तर, मैदानभित्र धेरै परिर्वतन हुन्न भन्न खोज्नु भएको हो ?

टिम त्यही हो, कप्तान मात्र परिर्वतन भएको न हो । र, टिमको स्ट्रेन्थ अनुसार नै रणनीति बनाउने हो । त्यसले गर्दा स्वभाविक रुपमा कतिपय मूभहरु समान नै हुन्छ । शायद निर्णय लिने तौरतरिकामा केही परिवर्तन हुनसक्ला ।

त्यो परिर्वतन पारस वा तपाईको ब्याटिङ पोजिसनमा हुनसक्छ । जस्तो कि, मुख्य प्रशिक्षक उमेश पटवालले पारसलाई ओपनिङमा खेलाउन जोड गरेका छन् । यसमा तपाईंको राय ?

होइन, होइन …. । यस्ता कुरामा मेरो एकल निर्णय हुँदैन । एकै पटक सबै कुरा चेन्ज हुन्छ भन्ने पनि होइन । गर्नु पनि हुँदैन । चेन्ज भनेको समय र आवश्यकताअनुसार विस्तारै हुँदै जाने हो । त्यसका लागि सबै अवगत पनि रहनुपर्छ ।

म आज कप्तान भएँ, मेरो सोच यो हो भनेर हुँदैन । टिमका लागि चाहिने जे हो, त्यसअनुसार अघि बढ्नुपर्छ । अहिलेका लागि टिमले बुझेको जे छ, त्यसमै अगाडि बढ्छौं । भोलिको दिनमा नेपाल टिमको जितका लागि आवश्यकता भयो भने (ब्याटिङ अर्डर) तलमाथि हुन्छ, अहिले पनि बेलाबेला गरिरहेका छौं ।

तपाई कप्तान मात्र होइन, टिमको सिनियर ब्याट्सम्यान पनि हो । हामी बारम्बार ब्याटिङमै चुक्दै आएका छौं । कप्तान भएपछि तपाईलाई रन बनाउने दबाव कत्ति बढ्ला ?

ब्याटिङ सही वा गलत हुनु व्यक्तिगत कुरा हो । पहिले टिमको सदस्य वा उपकप्तान हुँदा पनि ब्याटिङमा फ्लप हुँदा आत्मग्लानी महसुस हुन्थ्यो । अहिले पनि कप्तान भइसकेपछि परिर्वतन हुने होइन, भावना त्यही हो ।

तर मलाई के लाग्छ भने एउटा ब्याट्सम्यानले क्रिकेटमा धेरै खाले अवस्थाको सामना गर्नुपर्छ । कहिले ८० मा शुन्य विकेट हुन्छ, १२० मा अलआउट । जबसम्म यस्तो परिस्थिति बारम्बार सामना गर्दैनौं भने एउटा ब्याट्सम्यान र खेलाडीले सिक्न पाउँदैन । र, हाम्रो हकमा यस्तो सिक्ने मौकाहरु ठूलो प्रतियोगिताहरुमा मात्र पाएकाले पनि हाम्रो ब्याटिङ समस्या देखिएको हो । यसलाई सुधार गर्न धेरैभन्दा धेरै प्रतिस्पर्धात्मक खेल खेल्ने अवसर दिनुपर्छ ।

कुनै दिन नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुने सपना देख्नु भएको थियो ?

कप्तानका विषयमा मैले कहिल्यै सोचेको थिइनँ । किनकी सुरुवाती दिनमा टिममा कसरी आउँछु भन्ने नै थाहा थिएन । टिममा परेपछि त्यसमैै रमाएँ । नेपाली टिमका लागि खेल्न पाइरहेँ, रमाइरहेँ । त्यसपछि कप्तान परिर्वतन भयो । मैले उपकप्तानको जिम्मेवारी पाएँ । सिनियर खेलाडीहरु हुँदाहुँदै जिम्मेवारी पाएकोमा खुसी नै भएँ । पछिल्लो समयमा त नेपाली टिमले पनि राम्रो गरिरह्यो । पारस खड्काको कप्तानीमा राम्रो भइरहँदा हामी सबै खुसी थियौं ।

यो पनि पढ्नुहोस ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल ! एक्कासी पारसको राजीनामा आयो । त्यसपछि पनि म नै हुनुपर्छ भन्ने थिएन । यद्यपि धेरैलाई मलाई अबको कप्तान भन्नु भएको थियो । तर उपकप्तान हुनासाथ कप्तान भइन्छ भन्ने पनि होइन र, यो मेरो हातको विषय पनि होइन । त्यसैले यसमा मैले दिमाग खियाइराख्नु परेन । मलाई जिम्मेवारी दियो भने पनि ठीकै छ, नदिए पनि गुनासो हुन्थेन । मेरोे ड्युटी भनेको मैदानमा आएर खेल्ने र नेपाल टिमलाई जिताउन प्रयास गर्ने नै हो भन्ने थियो ।

तर पछिल्लो समय नेपाली क्रिकेटमा पुस्तातरणको बहस भइरहेको थियो । र पारस स्वयंमले पनि अब नयाँ पुस्ता अगाडि आउनुपर्छ, सिनियरहरुले चाहिँ खेल्ने मात्र हो भन्न थालेका थिए । त्यसबेला तपाईँले चाहिँ के सोच्नु भएको थियो ? म पनि पारससँगै नेतृत्व छाड्ने वा जिम्मेवारी आउनसक्छ भन्ने थियो ?

त्यसबेला हाम्रो कुरा हुँदा क्रिकेटलाई सुरक्षित ग¥यौं भने खेल्ने पार्ट यहाँ सकिन्छ । खेल सकिएपछि पनि नेपाल क्रिकेटका लागि नै केही गर्नुपर्छ किनकी हामी अहिले जहाँ छौं, त्यो सबै नेपाल क्रिेकटबाट पाएका हौं भन्ने कुरा हुन्थ्यो । पारसले अचानक छोड्ने अवस्था आउँछ भन्ने नसोचेकाले मैले आफू कप्तान हुने सोच बनाउने कुरै भएन । उसले छाडिसक्दा पनि अरु कोही कप्तान बनेको भए म आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार नै थिएँ ।

कुनै दिन यस्तो अकस्मिकता आइलाग्छ भन्ने रत्तिभर थिएन ?

कहिल्यै थिएन ।

अब त आयो ….

आयो ।

आएपछि कति दिन होला, कतिवटा प्रतियोगिता जितिएर भोलिको दिनले बताउँछ । तर जति दिन कप्तान रहन्छु, यसलाई अविश्मरणीय बनाउने रहर स्वभाविक भइहाल्छ । यो १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुनसक्छ ?

अहिले मैले पहिलो प्राथमिकतामा राखेको एमसीसी हो । यसका लागि योजना र तयारी दुबैमा हामी बलियो हुनुपर्छ । बीचमा इमर्जिङ कप पनि आयो ।

तर यसको अर्थ सागबारे सोचैकै छैन भन्ने होइन । एक दिन अगाडिसम्म हेरौं, भोलि विहान उठ्दा जित्छौं जस्तो लाग्यो भने भनौंला भनेर बसेको होइन । नेपालमा नै हुन लागेको सागमा कुनै पनि मेडल जित्नु ऐतिहासिक क्षण हुनेछ ।

तर यसका लागि ग्राउण्ड रियालिटी हेनुपर्छ । व्यक्तिगत रुपमा त मेरो लागि महत्वपूर्ण भइहाल्यो । सागमा क्रिकेट अर्कोपालि हुन्छ कि हुँदैन, भयो नै भनेपनि म त्यसबेलासम्म खेल्छु कि खेल्दिन थाहा छैन त्यसैले कम्तीमा एउटा मेडल जित्न चाहन्छु ।

पहिलोपटक खेल्दा हामी चुक्यौं, त्यसलाई सुधार गर्न चाहन्छौं । तर त्यसका लागि हामी कहाँ छौं, हाम्रा केके कमजोरी छ भने एमसीसी र इमर्जिङले पनि बताउनेछ । तर कति भन्नसक्छु भने कम्तीमा मेडलको आश गर्न सक्छौं ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment