Comments Add Comment

खप्तड क्षेत्रमा १२५ बेडको आवास गृह बन्ने

१९ कात्तिक, डोटी । सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय एवम धार्मिक क्षेत्र खप्तडमा १२५ बेडका दुईवटा पर्यटक आवास गृह बन्ने भएका छन् ।

खप्तड क्षेत्रमा आउने पर्यटकहरुले खाने बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले दुई आवास गृह निर्माण गर्ने कार्य अगाडि बढाएको हो ।

निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले दिएको जानकारी अनुसार खप्तडमा एक सय बेडको आवास गृह बन्ने छ । यस्तै बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको शाहले बताए ।

‘हामीले इस्टिमेट तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा बन्यजस्तु संरक्षण बिभागमा पठाएका छौं’ शाहले भने, ‘बिभागको स्वीकृति भएलगत्तै टेण्डर प्रक्रियामा जान्छ ।’ दुबै आवास गृहको लागत अनुमान पाँच करोड गरिएको उनले बताए ।

‘नेपाल भ्रमण वर्ष-२०२०र्‍ लाई लक्षित गरी भवन निर्माण गर्न लागिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । ‘चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको छ,’ सहायक वार्डेन शाहले भने, ‘पर्यटन बोर्डको बजेटबाट आवास गृहहरु बन्नेछन् ।’

आवास गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इन्जिनियर सचिन न्यौपानेले बताए । उनले कात्तिक महिनाभित्रै टेन्डर आहृवान गर्ने तयारी रहेको बताए ।

पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सहायक वार्डेन शाहका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब चार सय नेपाली र नौ जना विदेशी पर्यटकहरु खप्तड क्षेत्रको भ्रमणमा आएका छन् । तर, खाने बस्ने समस्याका कारण पर्यटकहरुले आफ्नो यात्रा छोट्याउने गरेको शाहले बताए ।

३५ औं पटक खप्तड पुगेका नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन प्रबर्द्धन समिति सुदूरपश्चिम प्रदेशका सदस्य किशोर खड्काले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि खप्टडको समस्या प्रष्ट हुन्छ ।

उनले यस्तो लेखेका छन् –

‘खप्तड पुगेपछिको सबैभन्दा पहिलो समस्या खानपिन र आवास आजका दिन पनि ज्यूँका त्यूँ छ । खण्डहर बनेको घरमा एउटा मेटि्रसमाथि ओढ्ने बिना नै करिब माइनसको चिसोमा कुक्रूक्क परेर कोल्टे फेर्दै रात बिताएको देख्दा नमिठो अनुभव भयो । चिया पिउन पनि लाइन बस्नु पर्ने र तातो पानी पिउन घण्टौ कुर्नुपर्ने !’

खप्तडमा रहेको नेपाली सेनाको व्यारेकबाट मेटे्रस मागेर पर्यटकले रात बिताउनु पर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment