Comments Add Comment

पाकिस्तानमाथि अष्ट्रेलियाको जित, स्मिथको ८० रन

Photo Credit : आईसीसी

१९ कात्तिक, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पाकिस्तानलाई टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा जित हात पारेको छ ।

क्यानबेरामा आज (मंगलबार) भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १५१ रनको चुनौती अष्ट्रेलियाले १८.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा स्टेभन स्मिथले अविजित ८० रन बनाए । उनले ५१ बलको सामना गर्दै ११ चौका र एक छक्का प्रहार गरे । बेन म्याकडेर्मटले २१ रन बनाउँदा डेभिड वार्नरले २० र कप्तान आरोन फिन्चले १७ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५० रन बनाएको थियो । उसका लागि फिटिखर अहमदले अविजित ६२ रन बनाए । उनले ३४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान बाबर अजामले ५० रन बनाए ।

बलिङतर्फ भने एस्टन एगरले दुई विकेट लिए ।

तीन खेलको टी-२० क्रिकेट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ । यसअघि हुने भएको पहिलो टी-२० क्रिकेट भने पानी परेपछि रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment