Comments Add Comment

बुटवलको वस्तुगत विवरण संकलन गर्न खटिए सर्वेक्षक

तथ्यांकलाई मोबाइल एप्लिकेशन र अनलाइनमा राखिने

२१ कात्तिक, बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्ना १९ वटै वडाका घरधुरी, व्यावसायिक संघ–संस्था, विद्यालय, मठ–मन्दिर, सार्वजनिक जग्गालगायतको यकिन तथ्यांक संकलन गर्ने भएको छ । त्यसका लागि उसले उपमहानगरपालिकाका सबै वडामा विशेष सर्वेक्षक परिचालन गरेको छ ।

सर्वेक्षणका लागि १९ वटै वडामा एक सय २० जना सर्वेक्षक र १९ जना सुपरभाइजर खटाइएको छ । उनीहरूले नगरका घरधुरीका साथै भाडामा बस्नेहरूकोसमेत विवरण संकलन गर्नेछन् । नदी, तालतलैया, पोखरी, वन जंगल, खुला चउर, सार्वजनिक क्षेत्र, कृषियोग्य क्षेत्र तथा बस्तीलगायतको विवरण पनि अद्यावधिक हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘वस्तुस्थिति विवरण तयारी कार्यविधि २०७५’ अनुरूप तथ्यांक संकलन थालिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

आवधिक र १५ वर्षे दीर्घकालीन, वार्षिक एवं रणनीतिक योजना उपमहानगरपालिकाले तर्जुमा गरेकाले वस्तुस्थितिको अध्ययनले त्यसमा सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको बताए ।

हाल बुटवलका करिब ६० हजार घरधुरी र दुई लाख जनसंंख्या रहेको अनुमान गरिएको छ । उपमहानगरले यहाँका ४० हजार घरधुरीमा डिजिटल नम्बरिङका काम यसअघि नै गरिसकेको छ । पछिल्लो एक वर्षमा बनेका नयाँ घर तथा बसाइँ सराइँ गरी आएका परिवारसमेतलाई अब अद्यावधिक गरिने छ ।
नगरबासीले कहाँ के–के काम गर्दै आएका छन्, के–कस्तो पेशा–व्यवसायमा आबद्ध रहेका छन् र भाडामा बस्नेहरूले के कस्ता पेशा–व्यवसायहरु गर्दैआएका छन्, ती विवरणलाई समेत अद्यावधिक गरिने छ । सर्वेक्षणको कामलाई एक महिनामा सक्नेगरी सर्वेक्षकहरुलाई खटाइएको छ ।

यसरी संकलन गरिएका विवरणहरु सर्वेक्षकले आफूखुसी सार्वजनिक गर्न पाउँदैनन् । संघीय सरकारले उपलव्ध गराएको ढाँचामा संकलन गरेका तथ्यांकहरू उपमहानगरमा सुरक्षित राखिने छन् ।

सुरक्षा संवेदनशीलता र नागरिकको हक अधिकारलाई समेत मध्यनजर गर्दै सर्वेक्षणको काम अगाडि बढाइएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment