Comments Add Comment

जब धोती-कुर्तामा देखिए राजेश हमाल

‘पर्यटन प्रवर्द्धन र सम्मुनतीका लागि, सातै प्रदेशमा हामी’ भन्ने नाराका साथ ‘सप्तरङ्ग २’ साँगितिक यात्रा चलिरहेको छ । महानायक राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकास सपूत, रवि ओड र जितु नेपाल देश दौडाहामा छन् ।

‘सप्तरङ्ग २’ मार्फत कात्तिक २२ गते शुक्रबार वीरगञ्जको घण्टाघरमा भव्य कार्यक्रम भयो । वीरगञ्जमा महानायक राजेश हमाल धोती, कुर्ता लगाउँदै गम्छा भिरेर सडकमा उत्रिए । प्रवेश निशुल्क भएकाले घण्टाघरमा थामिनसक्नु दर्शकको ओईरो लाग्यो । कलाकारले वीरगञ्जेली दर्शकलाई हसाए, नचाए भरपुर मनोरञ्जन दिलाए ।

त्यस अवसरमा एसिड प्रहारबाट घाइते भई हाल काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारत वीरगञ्जकी मुस्कान खातुनका लागि स्कुटी समेत प्रदान गरिएको थियो ।

विर्तामोड र वीरगञ्जमा कार्यक्रम सकाएर आईतबार सप्तरङ्गको टोली चितवनमा छ । साँझ चितवनको नारायणी किनारमा कार्यक्रम छ  चितवनपछि टोली कात्तिक २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुग्ने छ ।

तर कार्यक्रममा महानायक हमालले लगाएको धोतीको चर्चा तराई मधेसमा व्यापक छ । महानायकले धोती लगाएर तराई मधेसका जनताको सम्मान गरेको भन्दै यहाँका नागरिकले गर्व गरेका छन् । सामाजिक सञ्जाल मार्फत सकारात्मक प्रतिक्रिया जनाईरहेका छन् ।

दोहा कतारबाट बद्रीनाथ झाले दिएको प्रतिक्रियालाई ‘हामी सबै नेपाली’ भन्दै अभिनेता हमाल स्वयंले फेसबुकमा शेयर गरेका छन् ।  ‘महानायक राजेश हमाल दाईको अवतार देखेर काठमाण्डु बस्दा म र म जस्तै कयौलाई अपमानित र मज्जाकको पात्र बनाउँदाको क्षण सम्झे…’हामी नेपाली हौं ? नेपाल आमाको मधेसी सन्तानलाई इंडियन, धोती र मधेसी भनेर जिस्काउने, मज्जाक उडाउने क्रियाकलाप परम्परा जस्तै छ । ‘ झाले भावुक हुँदै लेखेका छन् ‘ राजेश हमाल दाईले त्यही धोती र कुर्ता लगाई वीरगञ्जमा जनता समक्ष आउनूभयो । उहाँले हामी मधेसीको पहिरनलाई आत्मसात गरि सम्मान दिनु भयो ।’

उनले अगाडी लेखेका छन् ‘ हे नेपाल आमाका सन्तानहरू कसैको भेष भुषा, पहिरन, संस्कृति, पहिचानलाई मजाकको पात्र न बनाऊनुस, धोती, कुर्ता, गम्छा, ढाका टोपी आदी सबै हाम्रै देश नेपालको पहिचान हो, आˆनै पहिचानको मज्जाक उडाउने कस्तो सनो र घृणित सोच, के महानायक राजेश हमालदाईलाई धोती भन्न सक्नु हुन्छ अब ? सोच र व्यबहार बदलिदिनुस देश आफैं बदलिनेछ ।’

काठमाण्डुका किरण दहालले राष्ट्रिय एकताका लागि सय जना नेताहरुले दिएको भाषण भन्दा उत्कृष्ट काम हमालले गरेको उल्लेख गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी महानायक राजेश हमालले मधेसी पहिरनको सम्मान गरेर अपनत्व दर्शाएको बताउँछन् । ‘ सँधै अर्को पहिरनमा देखिने मान्छे, मधेसमा आउँदा मेधसी पहिरनमा देखिनुभयो ।’ उनले भने ‘ सँधै कुर्ता पाईजामा लगाउने दौरा सुरुवाल ढाका टोपीमा देखिदा जस्तो अनुभूति हुन्छ, त्यस्तै यहाँका नागरिकले गरेका छन् । पहिरनको ईज्जत, सम्मान गर्दा यहाँका बासिन्दाले अपनत्व महशुस गरे ।’

अघिल्लो बर्षदेखि सुरु भएको ‘सप्तरंग म्युजिकल जर्नी’ले देशभर फन्को मार्छ ।  गायन, नृत्य, प्रहसन सहितको यात्रामा देशका सात प्रदेशको प्रतिनिधित्व गर्दै नाच्ने र गाउने गरिन्छ ।

कार्यक्रमको मेलोमेसो जुराउने गृष्मा ब्रोडकास्टिङका गिहेन्द्र घिमिरेले मनोरञ्जनका साथसाथै पर्यटन प्रवद्धनमा सप्तरंगीले योगदान दिने बताए । ‘ राज्यले वि.स. २०२० लाई पर्यटन वर्षकोमा मनाउँदैछ । त्यसैको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले गीत, संगीत, हाँस्यव्यंग्य मार्फत मनोरञ्जन मात्रै पस्केको छैन । स्थानिय कला संस्कृतिको उजागर गर्दै हिँडेका छौं ।’ उनले भने ‘साथसाथै स्थानिय पर्यटकिय स्थल र त्यसको संभावना पहिल्याउँनेछ ।’

सप्तरंगमा अघिल्लो बर्ष अर्कै टोली थिए । टोलीमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अन्जली अधिकारी सामेल थिए ।

सात प्रदेशमा भएका विभिन्न कला-संस्कृतिलाई एक-आपसमा साटासाट गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । गि्रष्मा ब्रोकास्टिङको आयोजनामा भइरहेको यस कार्यक्रम आज भने चितवनमा हुादैछ । यो सप्तरंगको दोस्रो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment