+
+

कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते २०:०५

२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ भएको भन्दै मन्त्री ज्ञवालीले भने, ‘त्यसलाई हामीले अस्वीकार्य भनेका छौं ।’

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।

‘चित्त दुखाएर मित्रता बलियो हुँदैन’

ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेताहरुले भारतीय नक्साका कारण नेपालीहरुको प्रतिष्ठामा ठेस पुगेको, नेपालीहरुको चित्त दुखेको बताएका थिए । छिमेकी भन्दैमा आफ्नो प्रतिष्ठामा ठेस पुग्दा चुप लागेर बस्न नहुने उनीहरुको भनाइ थियो ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘चित्त दुखाएर मित्रता बलियो हुँदैन । हामी पनि भारतसँग बैरभाव राख्दैनौं । ऐतिहासिक तथ्यहरुका आधारमा सीमा विवाद सदाका लागि अन्त्य गर्न राजनीतिक र कुटनीतिक रुपमा पहल गछौर्ं ।’

सरकार राष्ट्रियताको पक्षका नडगमगाउने भन्दै उनले भने, ‘विगतका राजाराणाहरुले छाडे भनेर सरकार चुप बस्दैन ।’

पिल्लरमा जिपिएस सिस्टम राख्ने तयारी

परराष्ट्रमन्त्री ज्ञवालीले सीमामा रहेका पिल्लरहरुमा जिपिएस सिस्टम राख्ने गरी सरकारले तयारी गरेको जानकारी दिए । ‘जिपिएस सिस्टम राखेपछि कहाँ हो सिमा भन्ने यकिन हुन्छ । कसैले पिल्लर सार्दैमा सीमा सर्दैन’ उनले भने ।

२०४५ सालमा नेपाल भारतबीच भएको सम्झौतामा फिक्स बाउन्डरिङमार्फत सिमा विवाद समाधान गर्ने उल्लेख भएको भन्दै उनले सोही अनुसार अब पनि अगाडि बढ्ने बताए । मन्त्री ज्ञवाली भन्छन्, ‘फिक्स बाउन्डरिङ भनेको सिमाङ्कन हुँदा जहाँ सीमा थियो त्यहिँ भन्ने हो । नदीलाई सीमा मानिएको कारण नदीले धार परिवर्तत गर्दा सीमा परिवर्तन हुँदैन । तर यस मामलामा पनि समस्या छ ।’

सबै समस्या समाधानका लागि सीमा स्तम्भहरुमा जीपीएस सिस्टम राख्ने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?