Comments Add Comment

विदेशमा बसेर नेपाली भाषामाथि गद्दारी नगरौं

विश्वव्यापीकरणको यो युगमा नेपालीभाषीहरु अहिले विश्वका अधिकांश कुनामा पुगिसकेका छन् । कुनै समय विदेशमा बस्नु भनेको अर्कै ग्रहमा गएर बसेको जस्तो मानिन्थ्यो । तर, अब त्यो समय रहेन ।

अलि पहिले पढ्न या अन्य कुनै उद्देश्यले विदेश गएका अधिकांश नेपालीहरु त्यतै नै आफ्नो भविश्य देखेर उतै बस्न थाले । त्यसमा नेपालको माओवादी विद्रोह र अमेरिकाले खोलेको डीभी चिठ्ठा आदिले उत्प्रेरकको काम गर्‍यो । त्यसैका कारण अमेरिकासहित विश्वका अनेक कुनामा नेपालीहरु पुगे र स्थायीरुपमा बसोबास गर्न थाले । त्यसपछि वैदेशिक रोजगारी खुलेपछि त झन् विदेशमा स्थायीरुपमा बस्ने नेपालीहरुको संख्या हृवात्तै बढ्यो । विदेशमा स्थायीरुपमा बस्न थालेपछि उनीहरुका बालबच्चा पनि उतै जन्मिए र हुर्किए ।

केही डीभी परेर भाग्य चम्केकाहरु बाहेक विदेशमा स्थायीरुपले बसोबास गर्ने धेरैजसो नेपालीहरु औसत नेपालीहरु भन्दा अलि धनी र पढे लेखेका हुन्छन् र उनीहरुले आफूलाई पनि त्यस्तै ठान्छन् । पढेलेखेका नागरिकबाट राज्यले अवश्य पनि केही आशा राखेको हुन्छ । देशको लागि केही गरोस् भन्ने अपेक्षा हुन्छ । तर, तिनै पढेलेखेकाहरु धेरैजसो आफ्नो दुनो सोझ्याउँदै विदेशमा गएर पलायन हुन्छन् र आफूलाई नेपाली भनाउन र नेपाली बोल्न पनि अप्ठ्यारो मान्छन् ।

विदेशमा बसेर पनि केही नेपालीहरुले देशको, आफ्नो भाषाको र संस्कृतिको विकासका लागि योगदान गरेका छन् । तर, अधिकांश विदेशका नेपालीहरु गर्वका साथ विदेशी संस्कृतिको नक्कल गर्नुमा आफ्नो सफलता र बडप्पन ठान्छन् ।

तिनै विदेशमा बस्ने, आफूलाई पढेलेखेका र उच्चस्तरका ठान्ने अधिकांश नेपालीका बच्चाबच्चीहरु, जो विदेशमा नै जन्मी हुर्केका हुन्छन्, उनीहरुको नेपालीपन झनै टीठलाग्दो छ ।

स्वाभावैले उनीहरुको चालचलन विदेशको हुने नै भयो । तर, चालचलन मात्र होइन, अधिकांश केटाकेटीहरु एकआपसमा कुरा गर्दा पनि अंग्रेजीमै कुरा गर्छन् । तर, त्यसमा उनीहरुको दोष छैन । उनीहरुले न त घरमा नेपाली सिके, न त स्कुलमा । त्यसमाथि अंग्रेजी बोलेपछि ठूलो कहलाइन्छ भन्ने भ्रम हामी सबैमा छ र त्यसैको प्रभाव बच्चाबच्चीमा पनि परेको छ ।

केटाकेटीहरुको त कुरो बेग्लै भयो, नेपालमै जन्मी हुर्केर नेपालमै कम्तिमा पनि १२ कक्षासम्म पढेर विदेश छिरेका बाबुआमाहरुले पनि नेपालीसँग समेत अंग्रेजी नै बोलेको देख्दाचाहिँ अचम्म लाग्छ । आवश्यकता भएमा विदेशमा मात्र हैन, नेपालमा पनि अंग्रेजी बोल्नु पर्छ तर नेपालीहरु बिच पनि अंग्रेजी बोल्नेहरु तिनै नेपाली बोल्दा लाज मान्ने वर्गका हुन् ।

अंग्रेजी अहिलेको विश्वभाषा हो । कुनै ठूलै भाषिक उथल-पुथल नभए अंग्रेजीको विकल्प खोज्नु आफैमा मुर्खता मात्र हुनेछ । विज्ञान, प्रविधि, साहित्यदेखि जीवनका हरेक आयाममा अंग्रेजी भाषाको दवदवा छ । त्यसैले पनि अहिले अंग्रेजी विश्वका सबैजसो देशमा पढाइन्छ र यसको लोकप्रियता दिन-प्रतिदिन बढ्दो पनि छ ।

एउटा सबैले मान्यता दिएको विश्वव्यापी भाषा हुनु राम्रो कुरो पनि हो जसले गर्दा संसारका सबै मानिसले एकापसमा आफ्नो विचारहरु आदान-प्रदान गर्न सकुन् । तर, त्यसको मतलब, आफ्नो मातृभाषालाई नै चटक्कै बिर्सनुपर्छ भन्नेचाहिँ पटक्कै हैन । आजभोलि फरर अंग्रेजी बोल्नुलाई विद्वताको रुपमा हेर्ने भ्रम छ । त्यही भ्रममा नेपालीहरु पनि परेको स्पष्ट रुपमा देख्न सकिन्छ । तर, अंग्रेजी बोल्नु आफैंमा उच्चस्तरको हुनु भने होइन । अफ्रिकाका अनेक गरिब र अशिक्षित देशका मान्छेहरुको राष्ट्रभाषा र कतिको त मातृभाषा पनि अंग्रेजी नै छ ।

नेपालीहरुको जमातमा अंग्रेजी बोल्यो भने पढेलेखेको मानिस भएजस्तो गरेर हेरिन्छ । त्यसैले विदेशी नेपालीहरुको जमघटमा नेपाली बोल्दा लघुताभासको अनुभव हुन्छ, नेपाली बोल्नेहरुलाई तल्लो स्तरको र अशिक्षित मानिन्छ । अहिले धेरैजसो आमाबाबुलाई आˆना छोराछोरीले नेपाली बोल्न नसक्दा कसैलाई लाज लाग्दैन ।

तर, उनीहरुले अंग्रेजी बोल्न सकेनन् भने आफ्नो ठूलै बेइज्जत भएको महशुस गर्छन् । बच्चाहरुले टुटेफुटेको नेपालीमा विदेशीले बोलेजस्तो दुई/चार वाक्य नेपाली बोल्दा त्यो रमाइलोको विषय हुन्छ । अनि ती आफूलाई पढेलेखेका र शिक्षित ठान्ने विदेशी नेपालीहरुले आफ्ना सन्तानलाई घरमासमेत नेपाली बोल्न दिँदैनन् ।

एक त विदेशमा बसेकाले बच्चाहरुलाई बाहिर नेपाली बोल्ने वातावरण छैन, अझ त्यसमा पनि घरमै भएको अलिकति अवसरबाट पनि उनीहरुलाई वञ्चित गराउनु भनेको उनीहरुलाई आफ्नोपनबाट टाढा लानु हो ।

अंग्रेजी त आज भोलि जसले पनि सिक्न सकिहाल्छ, नसिकेर उपाय पनि छैन । त्यसमाथि विदेशमा जन्मी हुर्केका केटाकेटीहरुका लागि त अंग्रेजी सिक्नु ठूलो कुरै भएन । त्यसैले उनीहरुलाई अंग्रेजीका साथसाथै आफ्नो मातृभाषा पनि सिकाउँदा केही हानी होलाजस्तो लाग्दैन ।

अनि आफ्नो मातृभाषा जानेपछि कमसे कम उनीहरुको एउटा अर्को भाषाको ज्ञान त बढ्यो नि । के थाहा, उनीहरुले सिकेको नेपाली भाषा कुनै दिन उनीहरुको काम पनि आउन सक्छ । के थाहा, उनीहरुलाई पछि नेपालमै गएर काम गर्ने इच्छा जाग्ने पो हो कि ? त्यसैले घरमा उनीहरुलाई नेपाली नसिकाएर अंग्रेजीको मात्र पछि लागेर हामीले उनीहरुलाई आफ्नोपनबाट मात्रै होइन, भविष्यमा आउन सक्ने केही अवसरबाट पनि वञ्चित गरिरहेका छौँ ।

घरमा नेपाली बोल्दा बच्चाहरुको अंग्रेजी बिग्रेला कि भन्ने डरले गर्दा अभिभावकहरुले जानी नजानी आफूले पनि घरमा अंग्रेजी बोलेको भन्ने केहीको तर्क छ । तर, त्यसमा सत्यता छैन । नेपालमै चार कक्षा मा एबीसीडी शुरु गरेकाहरुले पनि विदेशमा अंग्रेजी भाषाको प्राध्यापक भएर देखाएका छन् ।

त्यस्तै घरमा एकथरि भाषा बोल्ने अनि बाहिर अर्कोथरि बोल्दा बच्चालाई अलमल हुन सक्छ भन्नेहरु पनि धेरै छन् । तर, त्यसमा पनि कुनै सत्यता छैन ।

वैज्ञानिकहरुले गरेको एउटा शोधले के देखाएको थियो भने बच्चाहरु कुनै अलमलविना चार/पाँचवटा भाषाहरु एकै समयमा सजिलै सिक्न सक्छन् र परिस्थिति अनुसार कुन भाषा कतिबेला र कोसँग बोल्ने भन्ने सजिलै थाहा पाउन सक्छन् ।

वास्तवमा कुनै पनि भाषा सिक्नका लागि सबभन्दा उत्तम समय नै बच्चाको समय हो । बच्चाहरुले आमाको भाषा गर्भमै हुँदा पनि सिक्न थालिसकेका हुन्छन् भन्ने केही बैज्ञानिकहरुको धारणा छ । त्यसैले, आमाको भाषा बच्चाहरुले अरु भाषा भन्दा छिटो पनि सिक्छन् । त्यस्तो अमुल्य समयमा आफ्नो बच्चालाई मातृभाषा सिक्नबाट वञ्चित गराउनु उनीहरुको हक छिन्नुजस्तै हो ।

विदेशमा बस्ने केटाकेटीहरुका लागि नेपाली पढ्न र लेख्न सिकाउने वातावरण हुँदैन । तर, बोल्न मात्र जान्यो भने पनि आवश्यक पर्दा पढ्न र लेख्न उसले सजिलै सिक्न सक्छ किन भने नेपाली वर्णमाला सजिलो छ ।

विदेशमा बसेका आफ्ना बच्चाबच्चीहरुलाई नेपाली सिकाउन अरु केही गर्नै पर्दैन, घरमा आफूहरु पनि नेपालीमा बोल्ने र बच्चाहरुलाई पनि नेपालीमा मात्र बोल्न लगाउने गर्दा पुग्छ । त्यसका लागि न त कुनै पैसा खर्च गर्नुपर्छ, न त अतिरिक्त समय नै दिनुपर्छ । तर, त्यति सजिलो हुँदाहुँदै पनि विद्वान कहलिएका वर्गहरुले आफ्ना छोराछोरीहरुलाई नेपाली बोल्नबाट वञ्चित बनाउनु आफ्नो मातृभाषाप्रति गद्दारी गर्नु हो ।

हामीले यदि नेपाललाई चटक्कै बिर्सेर आफू र आफ्ना सन्ततिहरुलाई पूरै विदेशी नै बनाउने हो भने बेग्लै कुरा, नत्र अझै पनि मुटुको एउटा सानो कुनामा नेपालप्रति र नेपाली भाषाप्रति अलिकति पनि माया लुकेर बसेको छ भने यसविषयमा गम्भीर बनौं । विदेशमा बसेर देशका लागि ठूला ठूला काम केही गर्न नसके पनि, कुनै परिश्रम पनि गर्नु नपर्ने, पैसा पनि खर्च गर्नु नपर्ने, अनि बच्चाको भविश्यमा पनि काम आउन सक्ने नेपाली भाषा आफ्ना सन्ततिलाई सिकाएर कमसेकम नेपाल आमाको थोरै भए पनि ऋण त तिर्न सक्छौं नि । हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment