Comments Add Comment

संकटमा रैथाने जातका बाख्रा, शुद्ध बीउ पाउनै मुस्किल

Photo Credit : पशु प्रजनन् महाशाखा

२४ कात्तिक, चितवन । नेपालमा पाइने रैथाने बाख्राको संख्या घट्दै गएको छ । रोगसँग लड्न सक्ने क्षमता बढी भएको र स्वादिलो मासुका लागि परिचित रैथाने बाख्राको बीउ कालान्तरमा अभाव हुनेतर्फ सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् ।

नेपालमा च्याङ्ग्रा, सिनहाल, खरी र तराई गरी चार प्रजातिका रैथाने बाख्रा पाइन्छन् । हिमाली भेगमा च्याङ्ग्रा, उच्च पहाडी भेगमा सिनहाल, मध्य पहाडी क्षेत्रमा खरी र तराई क्षेत्रमा तराई बाख्रा पाइन्छ । यीमध्ये च्याङ्ग्रा, सिनहाल र तराई बाख्रा बढी संकटमा रहेको बाख्रा विज्ञ प्रा.डा. मनराज कोलाक्षपति बताउँछन् । तराई बाख्राको शुद्ध बीउ त पाउन पनि मुस्किल भैसकेको कोलाक्षपति बताउँछन् । खरी जातको बाख्रा भने औसत उपलब्ध छन् ।

संकटको कारण

पशुहरुमध्ये बाख्रालाई एक परिचित, हुर्काउन सजिलो तथा सबै धार्मिक सम्प्रदायले मन पराउने घरपालुवा जनावरका रूपमा लिइन्छ । पशु सेवा विभागको तथ्यांकअनुसार नेपालका चौपाया पशुहरूको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै करिब १ करोड १६ लाख रहेको अनुमान छ । नेपालमा ५१.३ प्रतिशत घरपरिवारले बाख्रा पाल्ने गरेको एक अध्ययनले देखाएको छ । ओली एण्ड ग्याटनबीले गरेको एक अनुसन्धानमा उल्लेख भएअनुसार पूर्वी पहाडी भेगमा ८५ प्रतिशतभन्दा बढी घरपरिवारमा बाख्रापालन हुन्छ ।

बाख्रापालनको अवस्था पहाडमा अधिक छ । रैथाने प्रजातिका बाख्राको अवस्थालाई हेर्दा हिमाली भेगमा २ देखि ३ प्रतिशत च्याङ्ग्रा, उच्च पहाडी भेगमा सिनहाल १५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ५० प्रतिशत खरी र बाँकी तराई बाख्रा तराई–मधेस क्षेत्रमा पाइन्छ । नेपालमा पाइने ३५ प्रतिशत उन्नत जातका छन् । धेरैजसो क्रस ब्रिडिङ गराएर पालिन्छन् र रैथाने जातका बाख्रा संकटमा पर्नुको एक प्रमुख कारण पनि यही मान्छन् बाख्रा विज्ञहरु ।

‘व्यवसायिक बाख्रापालनमा क्रस ब्रिडिङ गराउने क्रम बढेकाले रैथाने बीउ हराउने खतरा बढ्यो,’ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. कोलाक्षपति भन्छन्, ‘हामीमा विदेशी बाख्रा भन्दैमा राम्रो हुन्छ भन्ने मानसिकताले घर गर्‍यो ।’

बेजोड स्वाद

बाख्रा पालनको उद्देश्य मुख्य गरी मासु खानका लागि हो । रैथाने जातको बाख्रा अरु बाख्राको भन्दा स्वादिलो हुन्छ । त्यसैले रैथाने जातका खसी–बोकाकै मासुको माग अत्यधिक छ । माग अधिक भए पनि उत्पादन बढ्न सकेको छैन ।

अर्का बाख्रा बिज्ञ डा. निराजन भट्टराई रैथाने व्यवसायीक रुपमा फाइदा नहुने र मानिसहरुमा पशुपालनको रुचि नरहेका कारण पनि रैथाने बाख्रा संकटमा परेको बताउँछन् । ‘रोगसँग लड्न सक्ने क्षमता र खाँदा रैथाने जातिको स्वाद बेजोड छ,’ डा. भट्टराईले भने ‘तर व्यवसायीक रुपमा पाल्दा त्यति किसानहरुले लाभ लिन सक्दैनन्, सर्वज्ञ गुण त एकै वस्तुमा कहाँ पाइन्छ र ?’

रैथाने नश्लका बाख्राहरु मासु उत्पादनका लागि विदेशी वा आयातित बख्राको तुलनामा कम उत्पादन हुन्छन् । तर, रैथाने बाख्रासँग रोगसँग लड्ने क्षमता, स्थानीय कठोर हावापानीमा अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्न सक्ने विषेशता पाइन्छ । पहिचान भएका रैथाने बाख्राहरुले परम्परागत चरन व्यवस्थामा अनुकूलता प्राप्त गरेका छन् ।

अब नेपालमा पाइने रैथाने प्रजातिका बाख्राको बारेमा चर्चा गरौं ।

क) तराई बाख्रा : नेपालको तराई क्षेत्रमा पाइने तराई बाख्राहरु उज्याला रङ्गका (प्रायः सेतो) चौपाया हुन् । शुद्ध तराई बाख्राको रङ्ग निख्खर सेतोदेखि निख्खर कालोसम्म र विभिन्न रङ्गको छिरबिरेसम्मको विविधतामा पाइन्छ ।
यिनीहरु मासुका लागि लोकप्रिय मानिन्छन् । संरक्षणका दृष्टिकोणले तराई बाख्रा अति संकटमा छन् । बाख्रा बिज्ञ प्रा.डा. मनराज कोलाक्षपति तराई बाख्राको शुद्ध नश्ल लोप हुने खतरामा रहेको बताउँछन् । भारतसँगको खुल्ला सिमाना र भारतीय ठूलो खालका बाख्राहरु (जमुनापारी, बिटल र बारबारी) सँग क्रस वा वर्णशंकर गराइएको हुँदा तराई बाख्राको विशुद्ध रुपमा पाउन मुस्किल पर्दै गएको छ ।

यसको वयस्क शरीरको तौल लगभग ३० केजीसम्म र शरीरको लम्बाई ६० से.मी., छातीको गोलाइ ६५ से.मी. सम्म हुने विज्ञ डा. सरोज सापकोटाले जानकारी दिए । शारीरिक तौल बोकाको ३०–३५ केजी र बाख्राको २५–३० केजीसम्मको फरकमा पाइन्छ । यिनीहरु मुख्यतया मासुको लागि लोकप्रिय छन् । तराईको वातावरणलाई उपयुक्त, रोगसँग लड्ने क्षमता बढी भएका यी बाख्राले एक बेतमा औसत १.४ पाठापाठी जन्माउँछन् । प्रजननका लागि वयस्क उमेर करिब ८ देखि १० महिनामा हुने र पहिलो सन्तान उत्पादन १३ देखि १५ महिनामा हुने अनुसन्धानबाट देखिएको अनुसन्धानकर्ता सरोज सापकोटाले बताए । यिनीहरु एक वर्षको उमेरमा २० केजी तौल हुने मध्यम किसिमका बाख्रा भित्र पर्दछन् ।

ख) खरी बाख्रा : नेपालको पहाडी भूभागमा जनताको जीविकोपार्जनसँग जोडिएको छ खरी बाख्रा । खरी बाख्रा पहाडी भूभागमा अति लोकप्रिय मानिन्छ । खरी बाख्राभित्र सानो, मध्यम र ठूलो गरी तीन प्रकारका भिन्दाभिन्दै उपजाति अस्तित्वमा छन् । शरीरको आकारको आधारमा साना उपप्रकारहरु पूर्वी क्षेत्रमा पाइन्छन् भने ठूला प्रकारहरु पश्चिम क्षेत्रमा पाइन्छन् । पश्चिम पहाडहरुमा पाइने खरी बाख्रा र पूर्वी पहाडमा पाइने पहाडी बाख्रा एकै नश्लका भएको विज्ञ डा. सरोज सापकोटाले बताए ।

यिनीहरुले मुलुकको कुल बाख्रा संख्याको ५६ प्रतिशत भाग ओगट्छन् । एकदमै उत्पादक नश्लका रुपमा रहने यी बाख्रामा जुम्ल्याहा सन्तान उत्पादन गर्ने क्षमता प्रचुर हुन्छ । बेत अन्तर पनि छोटो छ । प्रतिबेत औसत १.६ सन्तान जन्माउँछन् भने बेतअन्तर मूलतः एक वर्षभन्दा कम हुन्छ ।

संरक्षणका दृष्टिले यिनीहरु सामान्य अवस्थामा छन् । यिनीहरु मासुका लागि लोकप्रिय छन् । यिनीहरु साना एवं मझौला शरीरका हुन्छन् र स्थानीय वातावरणमा राम्ररी भिजेका हुन्छन् । यिनीहरुको रङ्ग सेतो देखि कालोसम्म हुन्छ । खरी पहाडी बाख्राभित्र पनि रङ्गका आधारमा ६ उपजाति वा उपप्रकार पाइएको छ । तिनीहरु सेती, काली खैरी, घोर्ली, सिंगारी र धोबिनी रहेको देखिएको छ ।

यसको तौल ३० केजीसम्म हुन्छ । शरीरको लम्बाइ ६३ से.मी. र छातीको गोलाइ ६५ से.मी. हुने गरेको विज्ञ डा. सापकोटाले बताए । काँधको उचाइ ५६ से.मी. हुन्छ ।

यिनीहरुले प्रजनन् वयस्कता ७ देखि १० महिनामा हासिल गर्दछन् भने पहिलो सन्तान उत्पादन १२ देखि १७ महिनाको उमेरमा हुन्छ । एक वर्षको उमेरमा १६ केजी तौल हुने बिज्ञ डा. सापकोटाले बताए ।

ग) सिन्हाल बाख्रा : स्थानीय बाख्राको नश्लमध्ये सिन्हाल सबैभन्दा ठूला हुन्छन् । सिन्हाल बाख्राहरु नेपालको उच्च पहाडी क्षेत्रको दक्षिण भाग र दक्षिणी पहाडको पनि उत्तरी भागतिर पाइन्छन् । यिनले कुल रैथाने बाख्राको जनसंख्याको १६ प्रतिशत भागको प्रतिनिधित्व गर्दछन् ।

यिनीहरुलाई शारीरिक वाह्य बनावटको स्तरमा वर्गिकृत गरिएको छ । कृषकहरुले यिनीहरुलाई प्राकृतिक बासस्थानमै संरक्षण गरिरहेका छन् । संरक्षणका दृष्टिले सिन्हाल संकटग्रस्त छन् । यो बलियो बाख्रामा पर्दछ । घुम्ती बसाइँ हुने स्थानहरुमा खासगरी उच्च पहाडहरुमा मासु र भारी बोक्ने साधनका लागि पाल्ने गरिएको छ ।
यी प्रजातिका बाख्रा त्यति उत्पादनशील नश्ल होइनन्, तर यिनीहरु धेरै रोगसँग लड्ने क्षमता भएका प्रतिकुल हावापानीमा पनि पाल्न अनुकुल हुन्छन् । कम भरण प्रणालीमा पनि उत्पादन गर्ने र भारी बोक्नका लागि असल मानिन्छन् ।

यसको रङ्गमा कालो, सेतो, खैरो र कालो–सेतो मिश्रितसम्मको विविधता पाइन्छ । वयस्क शारीरिक तौल ३५ केजी हुन्छ । शारीरिक लम्बाइ औसतमा ६९ से.मी. र छातीको गोलाइ औसतमा ७८ से.मी. पाइएको छ । काँधको उँचाइ ५९ से.मी. हुने अनुसन्धानबाट देखिएको छ । भालेको शारीरिक तौल ३५ केजी र पोथीको २९ केजी हुन्छ ।

यिनीहरुको प्रजनन् वयस्कता करिब १० देखि १५ महिनामा प्राप्त हुन्छ भने पहिलो बेत १५ देखि २० महिनाको उमेरमा हुन्छ । यिनीहरुको तौल एक वर्षको उमेरमा २२ केजीसम्म हुन्छ ।

घ) च्याङ्ग्रा बाख्रा : च्याङ्ग्राहरु मुलुकको उच्च हिमाली भेगमा पाइन्छन् । यिनीहरुलाई घुम्ती बसाइँ सराइँ हुने क्षेत्रतिर भारी बोक्ने पशुका रुपमा पनि पालिन्छ । च्याङ्ग्रा पाइने नौ जिल्लामध्ये मुस्ताङ्गमा सबैभन्दा धेरै र ताप्लेजुङ्ग तथा दोलखा जिल्लामा सबैभन्दा कम पाइएको एक अध्ययनले देखाएको छ । यिनीहरुले मुलुकको कुल बाख्राको १ प्रतिशत भाग मात्र ओगटेका छन् । यिनीहरुलाई भारी बोक्न, मासु र पश्मिना उत्पादनका लागि प्रयोग गरिन्छ ।

अत्यन्तै राम्रो मूल्यमा बेच्न सकिने पश्मिना यिनै बाख्राको रौबाट उत्पादन गर्न सकिए पनि यसलाई त्यति व्यवसायीकरण गर्न सकिएको छैन ।

यिनीहरुको घुँडासम्म पुग्ने खस्रा तर सर्लक्क परेका लामा रौं हुन्छन् जसको भित्रपट्टी नरम ऊनको पत्र हुन्छ । यिनीहरु गुणस्तरीय पश्मिना उत्पादनका लागि प्रसिद्ध छन् । यिनीहरुले वार्षिक सरदर तीन सय ग्रामदेखि एक किलोसम्म ऊन उत्पादन गर्छन् । पश्मिनाबाट बन्ने पछ्यौरा वा सल नरम, न्यानो र आरामदायी हुन्छ र यसको मूल्य तीन हजार अमेरिकी डलरदेखि पन्ध्र हजार अमेरिकी डलरमाथि पुग्दछ ।

च्याङ्ग्रा नश्लका बाख्राहरुलाई उच्च हिमाली र हिमालपारीको क्षेत्रमा पाइने भ्याङलुङ्ग भेंडाहरुसँगै समुद्र सतहभन्दा २५ सय मिटर माथिको हिमालपारीको भूभागमा पालन गरिन्छ । यिनीहरुलाई कृषकहरु स्वयमले प्राकृतिक बासस्थानमा उचित संरक्षण गर्दै आइरहेका छन् । यिनीहरुको संख्या घट्दो क्रममा छ ।
यिनीहरुको रङ्ग निख्खर सेतोदेखि निख्खर कालोसम्म र विभिन्न रङ्गहरुको मिश्रणमा पनि पाइन्छ । वयस्कको तौल लगभग ३० केजी हुन्छ जसमा शरीरको लम्बाइ ६२ से.मी. र छातीको गोलाइ ७१ से.मी.सम्म हुन्छ । काँधको उँचाइ ६२ से.मी. हुन्छ । शारीरिक तौल पोथीमा २९–३२ केजी र भालेमा ३५–४० केजीसम्मको पाइने अनुसन्धानबाट देखिएको छ ।

च्याङ्ग्रा कम उत्पादनशील नश्लका बाख्रा हुन् । पाठापाठी प्रजननका लागि वयस्क हुने उमेर १५ देखि १९ महिनामा प्राप्त गर्दछन् भने पहिलोपटक २० देखि २४ महिनामा जन्माउँछन् । बेतअन्तर लगभग एक वर्षको (३००–४०० दिन) हुन्छ । यिनीहरु मध्यम प्रकारका बाख्राहरु हुन् जसको तौल एक वर्षको उमेरमा तराई बाख्राको समान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment