Comments Add Comment

कृषि र वन क्षेत्रमा पनि नेपाली कामदार लैजान जापान इच्छुक

केयरगिभरका लागि लिइएको भाषा परीक्षा अपारदर्शी

२५ कात्तिक, काठमाडौं । जापानले नर्सिङपछि दोस्रो चरणमा कृषि, वन तथा मत्स्य र खाद्यान्न क्षेत्रमा समेत नेपालबाट जनशक्ति लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँगको भेटमा जापानका कृषि तथा वन मन्त्रालयका उपमहानिर्देशक तकामी नाकाडाले यस्तो आशय व्यक्त गरेका हुन् ।

भेटमा मन्त्री बिष्टले श्रम लगायतका क्षेत्रमा जापानबाट भएको सहयोगप्रति आभार प्रकट गरेका थिए । उनले नेपालबाट कृषि जनशक्ति लगेर जापानले धेरै लाभ लिनसक्ने बताए । जापानसँग भएको सहकार्यको श्रम समझदारीअनुरुप कामदार लैजाने प्रक्रियालाई अझ विश्वयसीय बनाउन मन्त्री बिष्टले आग्रह गरे ।

नेपाल आएको टोलीले नेपालबाट कृषिमा सीपयुक्त जनशक्तिलाई जापानमा दिन सकिने अवसरबारे अध्ययन पनि गर्ने मन्त्रालयले जानकारी दिएको छ । जापानले क्रमिकरुपमा सीप परीक्षण गरेर समझदारी अनुरुप आवश्यक क्षत्रेमा कामदार आपूर्ति गर्दै जाने बताएको छ । पहिलो चरणममा नर्सिङ केयर गिभर लैजान भाषा परीक्षा लिन थालिसकेको छ । गत कात्तिक १०, ११, १२, १९, २०, २१ गते भाषा परीक्षा लिइएको हो ।

नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भएको थियो । सहकार्यको समझदारीअनुसार कामदार भर्ना र आपूर्तिका लागि छुट्टै सरकारी संयन्त्र खडा गर्नुपर्ने हो । तर, जापानले एकतर्फी रुपमा नियुक्त गरेको जापान फाउन्डेसनमार्फत नेपाली कामदार छनोट अघि बढेको छ । यसैलाई ध्यानमा राखेर मन्त्री बिष्टले सोमबार जापानी प्रतिनिधि मण्डलसँग समझदारी अनुरुप चुस्त रुपमा कामदार आपूर्ति गर्न आग्रह गरेका हुन् ।

जापानले यसअघि नै केयर गिभरका लागि विभिन्न चरणमा परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । त्यसअनुरुप जापानले स्वतस्फूर्त रुपमा परीक्षा लिन थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालका अनुसार जापानले परीक्षा लिन थालेसँगै समझदारीको कार्यान्वनयन सुरु भएको छ ।

सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरुमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग रहेका छन् ।

भाषा परीक्षा अपारदर्शी

जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग (एसएसडब्लू आईआई) का कामदारका लागि भने उच्च तहको सीप आवश्यक पर्छ ।

विभागले असोज पहिलो साता १५ दिनको म्याद राखेर अनलाइनबाट केयर गिभरमा जान इच्छुकबाट आवेदन मागेको थियो । अनलाइनबाट आवेदन दिएकामध्ये चिठ्ठा प्रथाबाट छनोट गरी भाषा परीक्षा लिन सुरु गरिएको हो । तर, कति परीक्षार्थीले आवेदन दिए र कतिले परीक्षामा सहभागी हुने मौका पाउँदैछन् भन्ने विषय सरकारको पनि जानकारीमा छैन ।

यो भाषा परीक्षाको सञ्चालनबारे मन्त्रालयलाई जापानले औपचारिक जानकारी नै दिएको छैन । जापानले परीक्षामा निष्पक्षता कायम गर्ने गरी आफैंले परीक्षा केन्द्र तोकेर व्यक्तिगत रुपमा परीक्षार्थीलाई सम्पर्क गरी परीक्षामा बोलाउँछ । युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिएको छ ।

अनलाइन पद्धतिबाट परीक्षा दिएकाहरुले भाषा परीक्षाको नतिजा तुरुन्तै पाउने गरेका छन् । यस्तै भाषा परीक्षापछिको अन्य सीप परीक्षणसहितको अन्तरवार्ताको मिति र स्थान पनि जापानले परीक्षार्थीलाई व्यक्तिगतरुपमै जानकारी गराउने बुझिएको छ ।

फाउन्डेसनले कात्तिकको २६, २७ र २८ गते पनि परीक्षा लिँदैछ । जापानले परीक्षा पूर्ण रुपमा कम्प्युटर पद्धतिबाट लिइरहेको छ । कति परीक्षार्थी पास हुन्छन् र कतिले जापान जान पाउँछन् भन्ने जानकारी पनि सरकारलाई छैन ।

‘जापानमा रोजगारदातालाई कामदारको आवश्यक्ता भएपछि यहाँ जुनसुकै बेला आवेदन खुलाएर जापानले परीक्षा सञ्चालन गर्न सक्छ,’ उपसचिव ढकालले भने, ‘यो कोरियन भाषा परीक्षा जस्तो मोडलमा छैन । यसमा कोटा पद्धति पनि छैन ।’

परीक्षामा पास भएकाले कहिलेबाट जापान जान पाउँछन् भन्ने विषयमा पनि जापानले नेपालाई औपचारिक जानकारी दिएको छैन । कामदार जापान जाँदा लाग्ने लागत लगायतका विषयमा पनि अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment