Comments Add Comment

ट्राफिक प्रहरीले नै ताेड्छन् सवारी नियम, रवाफ कि बाध्यता ?

Photo Credit : सुवास कार्की
नियमविपरीत मिनीट्रकमा यात्रा गर्दै ट्राफिक प्रहरी ।

२६ कात्तिक, काठमाडौं । सर्वसाधारणले सवारी नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कारबाही गर्छ । तर जब ट्राफिक प्रहरीबाटै नियम मिचिन्छ, कसले कारबाही गर्ने ?

यही प्रश्न मनमा उब्जिन्छ, जब हाफ बार भएका मिनी (वान टन) ट्रकमा ट्राफिक प्रहरी निर्धक्क यात्रा गरिरहेका देखिन्छन् । ट्राफिक नियमानुसार ट्रकमा यात्रु बोक्न पाइँदैन किनभने यो मालबाहक सवारी हो । ट्रकको पछिल्लो भागमा असुरक्षित तवरले कुनै सर्वसाधारण यात्रुले यात्रा गरे ट्राफिकले चालकलाई त कारबाही गर्छ नै यात्रुलाई पनि ओरालेर सचेत गराउँछ ।

तर त्यही काम ट्राफिक प्रहरीले गर्दा कसले समात्ने ? त्यसैले त मानिसहरूलाई लाग्छ, ‘सानालाई ऐन, ठूलालाई चैन ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल मिनीट्रकमा यात्रा गर्नु ट्राफिक प्रहरीको बाध्यता भएको बताउँछन् । उनका अनुसार, कहिलेकाहीँ आकस्मिक रूपमा धेरै स्थानमा जनशक्ति पुर्‍याउनुपर्ने भयो भने महाशाखाको ट्रक प्रयोग गरिन्छ ।

आधा भागमा बार लगाएको ट्रकमा धेरैजसो समय ट्राफिक प्रहरी कोचिएर यात्रा गर्छन् । बस्ने ठाउँ पनि नभएपछि कतिपय ट्राफिक बारको डिलमा समेत बस्नुपर्छ । महाशाखासँग ट्राफिक प्रहरीलाई सुरक्षित रूपमा यात्रा गराउन सवारीसाधन नभएकै हो त ?

महाशाखाका प्रमुख ढकाल भन्छन्, ‘महाशाखाले अहिले साधन स्रोत विगतमा भन्दा धेरै पाएको छ, तर बसचाहिँ हामीसँग छैन । कतिपय अवस्थामा एउटा बसमा मात्रै टोली लैजान सम्भव नहुने अवस्था पनि हुन्छ ।’

कतै ठूला समारोह भएका र भैपरी आएका स्थानमा सम्बन्धित ट्राफिक इकाईबाट सम्भव नहुने भएपछि बग्गीखानाबाट ट्राफिक प्रहरीहरु पठाउने गरिएको छ । ढकाल यस्तो दृश्य बाध्यात्मक परिस्थितिमा देखिने गरेको बताउँछन् । ढिला पुग्दा अर्को समस्या आइसक्ने भएकाले टोलीलाई एकैपटक परिचालन गर्दा ट्रकमै यात्रा गराउनुपर्ने उनको कथन छ ।

उनले उपलब्ध स्रोतको उपयोग गरेर आफ्नो कर्तव्य पूरा गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको भएकाले यसलाई सामान्य रुपमा लिइदिन आग्रह गरे ।

‘हामीसँग भएको भ्यानमा पनि नअटाउने अवस्था आएपछि ट्रकमा निकाल्ने गरेका छौं’, उनले भने, ‘सर्वसधारणले ट्राफिकले यस्तो नगरिदिओस् भन्ने चाहनु ठीकै हो । हामी यसलाई सकेसम्म व्यवस्थित गर्न प्रयत्न गर्नेछौं ।’

ढकाल नागरिकहरु आफैं ट्राफिक नियमबारे सचेत भएर उठाउने प्रश्न सकारात्मक भएको बताउँछन् । यस्ता प्रश्नले ट्राफिकलाई थप सचेत बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

एक ट्राफिक प्रहरी अधिकारी भने अन्तर्राष्ट्रिय रूपमा पनि सुरक्षाकर्मीको ओसारपसार ट्रकमै हुने गरेको तर्क गर्छन् । तर, यस्तो यात्रालाई सुरक्षित गर्न भने जुरुरी रहेको उनको पनि तर्क छ ।

हाल ट्राफिकलाई मात्रै होइन, सिभिल प्रहरी ओसार्ने तरिका पनि यस्तै भएको उनले बताए ।

‘विशिष्ट अतिथिहरुको आगमनका बेला हामीलाई प्रहरी हेडक्वार्टरबाट बस दिइन्छ, अरू बेला हामीसँग भएको ३–४ वटा वान टन ट्रकबाट काम चलाइरहेका छौं’, उनले भने ।

हाल उपत्यकामा १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी छन् । विभिन्न ४० वटा इकाईमा विभाजित भएर उनीहरुले सेवा दिँदै आएका छन् । तर सीमित स्रोतका कारण यात्रुलाई ट्राफिक नियम सिकाउने उनीहरुले कतिपय अवस्थामा आफैं नियम मिच्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment