Comments Add Comment

चाबहिल-साँखु सडक : कतै २२ मिटर, कतै ११ मिटर !

२७ कात्तिक, काठमाडौं । पछिल्लो सरकार सबैभन्दा आलोचित भएको सडकमध्ये एक हो, चावहिल जोरपाटी सडक । सडक विस्तार सुरु गरेर वर्षौंसम्म अलपत्र पारेपछि यस क्षेत्रका मानिसहरुले निकै सास्ती पाएका छन् । त्यसले सरकारप्रति आक्रोश जन्मायो ।

तर अझै पनि मुआब्जा विवाद टुंगिएको छैन । घरको मुआब्जा पाएपनि जग्गाको मुआब्जा माग गर्दै पीडितहरु अदालतसम्म गए । पछिल्लो समय अदालतले पनि मुआब्जा दिएर मात्र सडक विस्तार गर्न सरकारलाई आदेश दिएपछि यो विवाद सुल्झिने छाँट छैन ।

सडकलाई यस्तै अवस्थामा छाड्न पनि भएन । त्यसैले अब जस्तो अवस्थामा छ, त्यस्तैमा कालोपत्रे गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

‘त्यही बाटोको कारण धेरै गाली खायौं । अब रोकिन्नौं,’ आयोजना प्रमुख अर्जुनप्रसाद अर्याल भन्छन्, ‘घर भत्काएको ठाउँमा २२ मिटर र घर नभत्काएको ठाउँमा पहिलेकै बाटोमा कालोपत्रे गरेका छौं । सरकारले जहिले मुआब्जा दिनसक्छ, त्यति बेला बाँकी घर भत्काउछौं ।’

उनकाअनुसार चाबहिलदेखि बागमती पुलसम्म मंसिरभित्रै कालोपत्रे सक्ने गरी काम अघि बढेको छ । ‘मंसिरभित्र सकिने गरी काम गर्न तिहारको बेला पनि बौद्धगेटदेखि जोरपाटीसम्म कालोपत्रे गरिसकेका छौं । सडकपेटी बनाउने काम पनि अघि बढेको छ’ उनले भने ।

आयोजनाले यो सडक २२ मिटर फराकिलो बनाउने योजनासहित २०७२ सालमा काम थालेको थियो । तर सडक विस्तारका क्रममा जग्गा र घरको मुआब्जा विवाद आयो । आयोजनाले घर भत्काउने काम सकिएपछि मात्र कालोपत्रे गर्ने भनी काम अलपत्र छाड्यो ।

घरधनीहरु घर भत्काउन नमान्ने र सरकारले मुआब्जा तत्काल दिन नसक्ने अवस्था रहेकाले सडक जुन अवस्थामा छ, त्यस्तैमा कालोपत्रे गर्न लागिएको आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका अनुसार शंखरापुर नगरपालिकाभित्र पर्ने २० वटा घरले मुआब्जा रकम बुझे पनि घर भत्काएका छैनन् । ५ वटा घरले मुआब्जा लिन बाँकी छ ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिकाभित्र परेको ६ वटा घरले मुआब्जा पाएर पनि घर भत्काएका छैनन् भने २५ घरले लिन बाँकी छ । घर नभत्काएको ठाउँमा यसअघि जति फराकिलो सडक थियो, त्यतिमै कालोपत्रे भइरहेको जिल्ला आयुक्तको कार्यालयका शाखा अधिकृत सुरेश रेग्मीले बताए ।

सलम्बुटारदेखि साँखुसम्म विस्तारको काम भने सम्पन्न भइसकेको छ । यसको ठेक्का लामा समानान्तर जेभीले पाएको थियो ।

चाबहिलदेखि साँखुसम्म सडक विस्तार गर्न युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग, वागमती पुलदेखि थलीसम्म बज्रगुरु च्याङमिला खानी जेभीसँग सम्झौता भएको थियो । थलीदेखि खुलालटारसम्मका लागि बज्रगुरु विरुवा खानी जेभी, खुलालटारदेखि सलम्बुटारसम्म बीटी सुनकोशी वर्ल्डवाइड जेभीले सडक विस्तारको जिम्मा पाएको छ । समयमा काम सम्पन्न नभएपछि पटक-पटक म्याद थप गरिएको छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment