Comments Add Comment
नियात्रा :

युरोपको समृद्धि र मिथक !

इतिहासको विभिन्न कालखण्डमा युद्धको चपेटामा गुज्रेर पनि अलौकिक विकास गर्न सफल पश्चिम युरोपका देशहरुलाई नजिकबाट अवलोकन गर्ने, छाम्ने, बुझ्ने र अनुभूत गर्ने मौका पाइयो । त्यहाँको भूगोल, जगत, मौसम र प्रकृति, पर्यावरण र जलवायु, जीवनशैली, संस्कृति र भेषभुषा, काल र कथाहरुलाई नजिकबाट नियाल्न पहिलोचोटि युरोप जाने साइत जुर्‍यो ।

युरोप यात्राका क्रममा देखेका र भोगेका केही अनुभूति यहाँ पस्कने प्रयास गरिएको छ–

स्वीट्जरल्याण्ड : नेपालका राजाले देहत्याग गरेको सपनाको देश

धेरथोर किताबमा जे पढे पनि, एकपटक स्वीट्जरल्यान्ड पुग्ने सपना र तिर्सना थियो, जुन पूरा भयो । यात्राका क्रममा मध्यपूर्वको आबुधावी हुँदै हाम्रो पहिलो गन्तव्य थियो– स्वीट्जरल्याण्डको जुरिच शहर ।

पञ्चायतदेखि लिएर गणतन्त्रसम्म आइपुग्दा अक्सर हाम्रो देशका नेताहरु नेपाललाई स्वीट्जरल्यान्ड बनाउने भाषण र सपना वेचेर जनता छलेर धेरै सत्तामा पुगेका कुरा पनि सर्वविदित नै छ । स्वीटजरल्यान्ड नेपालजस्तै एक भुपरिवेष्टित मुलुक हो । यो देश धेरै हिसावले नेपाल जस्तै रहेछ । समान भूगोल । उस्तै भूबनावट । उस्तै पहाड, नदीनाला, खोल्सा, झरना र तालतलैया इत्यादि । तर, पनि देश विकासको चुचुरोमा छ । जताततै पहाड़ छेडेर बनाइएका रेलका सुरुङ मार्ग अनि कुदिरहेका वेगवान रेलहरु, डाँडा र हिमालमा झुण्डिएका केवलकार, चौडा र चिल्ला बाटाघाटा र सुन्दर भवन हेर्दा विकासका लागि पहाड़ बाधक हुन्न रहेछ भन्ने पुष्टि भयो ।

स्वीट्जरल्याण्डको विकास र समृद्धि देखेपछि जो कोही त्यहाँ पुगेका नेपालीको मष्तिष्कमा किन नेपालले विकास र समृद्धि हासिल गर्न सकेन भन्ने प्रश्न र जिज्ञासाका ज्वारभाटा उत्पत्ति भइरहन्छन् ।

सामुन्द्रिक सतहबाट ३०२० मिटर उचाइमा रहेको ‘माउण्ट टिटलिस’ पर्यटकहरुको मुख्य गन्तव्यस्थल रहेछ । यो हिमालमा पुग्न एन्गर बर्ड भन्ने बजारबाट सिधै केवलकार चढेर जो कोही यो हिमालको टुप्पोमा पुग्न सक्दोरहेछ । टिटलिस हिमालको टुप्पोबाट थुप्रै सेताम्मै ढाकिएका स–साना आल्पसका हिमश्रृंखलाहरु अवलोकन गर्दा जो कोही पनि मन्त्रमुग्ध हुन्छ ।  स–सना हिमालसँग नेपालका हिमालको तुलना गर्दै माउण्टेनियरहरु नेपालका अग्ला र ठूला हिमालहरुलाई आमा हिमाल पनि भन्दारहेछन् ।

स्वीट्जरल्याण्डका बहादुर सेनाहरुको सम्झनामा बनाइएको लुसिरिन सहरमा अवस्थित ‘लायन मनुमेण्ट’ अर्को घुम्न नछुटाउनुपर्ने ऐतिहासिक ठाउँ हो । फ्रान्सेली  राजा लुई चौधौंको सबै भन्दा भरपर्दा गार्ड स्वीस आर्मी रहेछन् । जब क्रान्तिकारीहरुले ती राजालाई उनको मुख्य दरबार भर्सायल प्यालेसमा आक्रमण गरे, उनी भागेर ‘टुईलिरस दरवार’ गएका रहेछन् । त्यहाँ पनि क्रान्तिकारीहरुले नछोडेपछि उनका भक्त स्वीस गार्ड र क्रान्तिकारीवीच भिषण झडपमा धेरै स्वीस सिपाहीहरुले शाहदत प्राप्त गरेका रहेछन् । उनीहरुकै स्मृतिमा बनाइएको रहेछ यो स्मारक ।

संसारकै महंगो र सुन्दर रोलेक्स र राडो जस्ता ब्राण्डेड घडीहरुको उत्पादन गर्ने देश हो स्वीट्जरल्याण्ड । यसका यी उत्पादनहरुलाई अझसम्म कसैले चुनौति दिन सकेका छैनन् । पर्यटन र कृषि पनि यो देशको मुख्य आम्दानीका स्तम्भ रहेछन् । यो देशमा ६३.९ प्रतिशत स्विस नागरिकहरु जर्मनभाषी छन् । र अरु फ्रेञ्च र ईटालियनभाषीहरुको बाहुल्य रहेछ । जर्मनीको सीमानामा बस्ने स्वीसहरु जर्मन भाषा बोल्छन् । फ्रान्स र ईटालीको छेउछाउमा बस्ने स्वीसहरु फ्रेन्च र इटालियन भाषा बोल्दा रहेछन् । यी स्वीसहरु आफ्नो भाषा मात्र बोल्छन् ।

स्वीट्जरल्याण्डका होटलहरुमा सबै कुराहरु स्वीस भाषामा लेखेको पाइन्छ । कोही कोही त्यहाँका नागरिकहरु अंग्रेजी बोल्यो भने रिसाउने गरेको पाइयो ।

यो देशको इतिहास कोट्याउने हो भने, अरु देशमा जस्तै यो देशमा पनि सामुदायिक द्वन्द्वहरु नदेखिएका होइनन् । स्वीट्जरल्याण्डमा संघीय राज्य निर्माणको प्रारम्भ हुँदा कट्टरपन्थी क्याथोलिक र प्रगतिशील प्रोटेस्टेन्टवीच गृहयुद्ध भएको रहेछ । त्यस्तै गरी प्रथम विश्वयुद्ध जर्मनी र फ्रान्सवीच हुँदा यहाँका जर्मनभाषी र फ्रञ्चभाषीहरु पनि विभाजित भएका रहेछन् । यस्ता धेरै द्वन्द्वहरुको भोगेको इतिहास रहेछ यो देशसँग ।

स्वीट्जरल्याण्डले खरायो गतिमा विकास गर्नुको मुख्य कारण, पहिलो र दोस्रो विश्वयुद्धका समयमा यो देश कुनै पनि पक्ष नलिइकन तटस्थतामा रहेको थियो । स्वीट्जरल्याण्डले तटस्थताको नीति लिएपछि दुबै विश्व युद्धकालमा स्वीटजरल्याण्डमा शान्ति रह्यो । यहाँ शान्ति भएका कारणले लडाइँमा होमिएका युरोपियन देशको धनाढ्यहरुले आफ्नो सम्पूर्ण श्री सम्पत्ति सुरक्षितसँग लुकाउनका लागि स्वीट्जरल्यान्डका बैंकहरुमा ल्याए । जुन सम्पत्ति राखेवापत ती धनाढ्यहरुले यो देशलाई कर तिर्नु पर्थ्यो । पछि त्यही धन लगानीको स्रोत भयो । त्यही कारणले गर्दा त्यहाँका बैंकहरुमा संसारभरिका धनाढ्यहरुले विश्वास गरी पैसा राख्न थाले । स्वीसका बैंकहरुको जमिनमुनि टनका टन सुन भेटिएको हाम्रा टुर व्यस्थापक बताउँथे ।

यी बैंकहरु ग्राहकहरुको गोपनियता राख्न संसारमा कहलिएका छन् । स्वीस बैंकमा नेपालका पनि राजा र केही नेताहरुले पैसा राखेका छन् भन्ने कुरा पनि सुनिँदै आएको हो । सन् २००२ सालमा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि सबैले आफ्नो सम्पतिको स्रोत खुलाउनुपर्ने विश्वव्यापी अभियानका कारण स्वीट्जरल्याण्डमाथि सम्पत्ति शुद्धीकरणको दबाव बढ्दो छ । र, अहिले पनामा र भर्जिन आइसलैण्डतिर पैसा राख्छन् भन्ने सुनिन्छ ।

‘सरसर्ति संसार’ नियात्रा संग्रहका लेखक जीवा लामिछानेको किताबलाई आधार मान्ने हो भने, नेपालसँग आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर गर्ने प्रथम देशहरुको पंक्तिमा स्वीट्जरल्याण्ड पर्छ । विकास निर्माण र सामाजिक सुधारका लागि स्वीस सहयोग यथावत छ । स्वीस साझेदारीका प्रारम्भिक आधार तयार पार्ने कामको नेतृत्व प्रख्यात स्वीस भूगर्वविद टोनी हेगन लगायतले गरेका थिए ।

नेपालमा स्वीस सहयोगको प्रारम्भिक विकासको प्राथमिकता चिज तथा गलैंचा उत्पादनमा रह्यो । संयुक्त राष्ट्रसंघका लागि नेपालको भौगोलिक सर्वेक्षण गर्ने पहिलो व्यक्ति हेगन नै थिए । चौध सय किलोमिटर पैदल यात्रा गरेर उनी नेपालका सबै जिल्लामा पुगेका थिए । त्यस्तैगरी वनजंगल संरक्षण, सामुदायिक वन संरक्षण, सड़क निर्माण, पुल निर्माण, स्वास्थ र शिक्षाहरुमा सहयोग स्वीट्जरल्याण्डले निरन्तर गर्दै आएको छ । नेपाललाई स्वीट्जरल्याण्डको जस्तो संघीय मोडलमा लैजाने भन्ने विषयमा तर्क–वितर्कहरु पनि नभएका होइनन् ।

स्वीट्जरल्यान्डको जुरिचस्थित शिक्षण अस्पतालमा राजा त्रिभुवनले देहत्याग गरेका रहेछन् । र, त्यस अस्पतालमा परिसरमा उहाँको सम्मानमा शिलालेख स्थापना गरिएको छ भन्ने सुनियो ।

पेरिसको रंगमा भुलिँदा

नेपोलियनले युद्ध हारेको ठाउँ बेल्जियमको ‘वाटरलु’ सहरबाट पास हुँदै फ्रान्सतिर लाग्यौं । ‘ब्याटल अफ द वाटर लु’ जहाँ कहिल्यै, कहीँकतै पनि नहारेका सम्राट नेपोलियन वेलायतसँग यो लडाइँमा हारेका थिए । जुन हारलाई संसारको सबैभन्दा ठूलो हार भनेर पनि मानिन्छ ।

हरके ठाउँ, भूगोल, इतिहास, संस्कृति र परम्पराका रंगहरु फरक– फरक भएझैं पेरिसको पनि बेग्लै रंग, पृथक स्वाद, रहन–सहन र आफ्नै प्रकारको सुन्दरता रहेछ । यस्तै फरक भएकाले नै होला, यो संसार पनि रमाइलो भएको । पेरिसको यही रंग रुपबाट प्रभावित र मोहित भएर होला, धेरै वर्ष अगाडि समालोचक डा. ताना शर्मा फ्रान्स घुमेपश्चात ‘पेरिस मुस्कुराउँछ रंगैरंगमा’ भनेर किताव लेख्न उत्प्रेरित हुनुभयो ।

पेरिसको प्रमुख आकर्षक गन्तव्य भनेको ‘आइफल टावर रहेछ । आश्चर्यचकित मानव निर्मित संरचना देख्दा जसको पनि मुखबाट आम्मामा ! भन्ने शब्द ननिस्की सुखै छैन । जब–जब संसारका अनौठा मानव पौरख हेर्न पुगिन्छ, तब प्रकृतिको सिर्जना मात्र होइन, मानवबुद्धिबाट निर्मित कला पनि अलौकिक र अदभूत हुँदारहेछन् भन्ने लाग्दोरहेछ ।

आइफल टावरको परिसरमा मान्छेहरु, चाकामा धुरिएका मौरीझैं ठोकिँदा रहेछन् । सारा संसारबाट आएका मान्छेको बाक्लो भीड छिचोली नसक्नु छ । यो अवस्थालाई हेर्दा, पर्यटन भनेको चिज कम र भ्रम बढ़ी बेच्ने व्यवसाय हो भन्ने भनाइ साँच्चै हो कि जस्तो पनि लाग्यो । यो टावरलाई फ्रान्सेल्ली राज्य क्रान्तिको प्रतीक भनेर पनि फ्रेन्चहरुले मान्दा रहेछन् ।

‘लुभ्र संग्रहालय’ जहाँ संसारको प्रसिद्ध आर्ट पिस मनोलिसाको तस्वीर राखिएको छ । यो संग्रहालयको भवन पहिलाका वावुन वंशका राजाको दरबार रहेछ । नेपोलियन बोनापार्ट आर्टप्रति सौखिन भएका कारणले गर्दा उनले यस राजाको दरबारलाई उनी राज्यसत्तामा आएपश्चात संग्रहालयमा परिणत गरेछन् । यो संसारको सबैभन्दा बढी मानिसले भ्रमण गर्ने म्युजियममा पर्छ । गत सालको तथ्यांकअनुसार झण्डै १२ करोड़ पर्यटकले यो संग्रहालय भ्रमण गरेका रहेछन् । लिओ नार्दो दा भिञ्चीको पेन्नटिङ ‘मोनोलिसाको’ तस्वीर हेर्न संग्रहालय पुगे पनि मान्छेको भिड़ र मुसलधारे वर्षाले गर्दा भित्र पसेर मोनोलिसासँगै तस्वीर खिच्न भने सकिएन ।

यो मनोलिसाको तस्वीर पहिला नेपोलियनको सुत्ने कोठामा राखिएको रहेछ । तर, पछि त्यहाँबाट चोरी भएपछि तीन वर्ष पछाडि फ्रेञ्चहरुले फेरि भेट्टाएर ल्याएको भन्ने गर्दा रहेछन् । तर, नक्कली वा सक्कली ल्याए भन्ने कुराको अहिलेसम्म सन्तोषजनक उत्तर नआएको भन्ने सुनियो ।

अहिले यो तस्वीरलाई बुलेट प्रुफ शिशाभित्र राखी दुईजना पहरेदार खटाइएको छ । लुभ्र म्युजियममा ४ लाख ६० हजार वस्तुहरु र ३५ हजारवटा कलात्मक चिजहरु राखिएको रहेछ, जहाँ एउटा वस्तुलाई ३ सेकेण्ड मात्रै हेर्‍याे भने पनि सबै हेरिसक्न करिब १०० दिन लाग्ने रहेछ ।

आइफल टावर परिसरमा धेरै ऐतिहासिक कुराहरु अवस्थित छन् । लुई सोेह्रौं र उनी पत्नीलाई शीरोच्छेदन यन्त्रले हत्या गरेको ठाउँ प्यालेस डे ला देखि बेलायती राजकुमारी डाइनाको रहस्यमय हत्या भएको छोटो सुरुङ मार्ग । त्यस्तै सम्राट नेपोलियनको समाधि । अनि राजा लुईहरुका भाइ भारदारहरुका दरबारहरु इत्त्यादि ।

नेपालमा राणाहरुका दरबार अहिले विभिन्न मन्त्रालयहरुमा परिणत गरेजस्तै पेरिसमा पनि, लुई वंशका राजा र भारदारहरुका दरबारलाई सरकारी कार्यालय बनाइएका रहेछन् ।

‘लुई चौधौं ठूला ठूला भवनहरुमा बस्न सौखिन थिए । त्यसैले गर्दा विशाल ‘भर्साइल दरबार’ पेरिसदेखि १६ किलोमिटर बाहिर बनाउन शुरु गरेर लुई सोह्रौंका पालामा सकिएको रहेछ । यही दरबार निर्माणका लागि ठूलो रकम चाहिएकाले जनतालाई धेरै कर उठाउनुपर्ने अवस्था आएछ । र, त्यही कर बढी उठाए वापत जनता रिसाएर फ्रान्सेली राज्य क्रान्ति शुरु भएको हो भन्ने इतिहासकारहरुले बताउँदै आएका छन् ।

वावुन वंशका राजा लुईस चौधाैं ७२ वर्ष शासन गरेर संसारका सबै भन्दा लामो शासन गर्ने राजा भनेर चिनिन्छन् । उनको एउटा प्रसिद्ध भनाइ छ– ‘म नै हुँ राज्य हुँ ।’ यो भनाइबाट नै प्रष्ट हुन्छ कि राजा लुई चौधाैं कति तानाशाही, क्रुर र दमनकारी राजा थिए भनेर ।

तर, ठूला–ठूला तानाशाहहरु पनि समयक्रम अनुसार ढल्दै जाँदा रहेछन् भन्ने लुई राजाहरुको पतनबाट पुष्टि हुन्छ । भारतको विशाल मुगल साम्राज्य र सोभियत संघको पतन पनि यस्तै हो । सूर्यास्त नहुने बेलायती साम्राज्य, सबै समयक्रम अनुसार ढल्दै गए । संसार परिवर्तनशील छ र कुनै कुरा पनि यथास्थितिमा रहन सक्दैन भनेको सायद यही भएर होला ।

इतिहासकारहरु भन्ने गर्छन्, सन् १७८९ तिर फ्रान्समा भएको राज्य क्रान्तिले संसारको आधुनिक इतिहास परिवर्तन गरेको थियो । जसको फलस्वरूप संसारभरिका राजाहरुका शासन सत्ताहरु हल्लिएका र ढलेका थिए । राजनीतिक विचारधाराहरु गणतन्त्र, प्रजातन्त्र, स्वतन्त्रता, उदारवाद, उग्रपन्थ, कटरपन्थ, धर्म निरपेक्षता यी सारा कुराको केन्द्रविन्दु पनि फ्रान्स नै थियो ।

राजा लुईसहरुको पतन पश्चात फ्रान्समा सम्राट नेपोलियन उदाएका रहेछन् । उनले युरोपका धेरै देशहरु जिÞतेर आफ्नो साम्राज्य फैलाएका थिए ।

पेरिस भ्रमणका क्रममा हामीले त्यहाँको पर्फ्युम फ्याक्ट्री अवलोकन गर्ने माैका पायौं । पर्फ्युमको इतिहास फ्रान्सबाटै सुरु हुँदोरहेछ । फ्रान्सेलीहरुका अनुसार कुनै समयमा कुनै पनि रोग पानीद्वारा मान्छेको शरीरभित्र जान्छ भन्ने विश्वास थियो । अर्को, युरोपमा प्लेग रोगको महामारी भएका बेला त्यहाँका मान्छेहरु प्लेग रोग पानीबाट सर्छ भनेर सितिमिति नुहाउँदैन थिए । त्यही कारणले गर्दा फ्रान्सका मानिसहरु लामो समयसम्म ननुहाउने गर्थे र दुर्गन्धित शरीरलाई सुगन्धित बनाउन पर्फ्युमको विकास गरेको भन्ने पनि सुनियो ।

अच्चमको कुरा के छ भने राजा लुईसहरुको भर्सायल प्यालेसमा कुनै पनि ट्वाइलेट र बाथरुम छैन भन्ने सुनियो । त्यतिखेर दरबारियाहरुलाई दिशापिशा गर्नुपरेको खण्डमा नोकर चाकरले ‘मोवाइल ट्वाइलेट’ ल्याइदिने गर्दा रहेछन् । नुहाउनु परेको खण्डमा अलिकति बकेटमा पानी र सानो रुमालले पुछपाछ मात्र गरी पर्फ्युम छर्किने गर्दा रहेछन् । पछि सन् १७६८ तिर मात्र दरबारमा केही बाथरुम र ट्वाइलेट थपिएका रहेछन् ।

फ्रान्सको अर्को पुरानो सहर ‘कोलमार’ पनि घुम्ने अवसर पाइयो । विशेषतः यो सहरका सबै घरहरु युरोपको पुर्णजागरण कालमा बनेका रहेछन् । फ्रान्सका प्रसिद्ध लेखक तथा दार्शनिक ‘भोल्तेयर’ले यही सहरमा बसेर आफ्ना विचारहरु विकास र प्रवाह गरेका रहेछन् । उनले चर्च र पादरीहरु, विशेष गरी क्याथोलिक चर्चप्रति खरो आलोचना गर्थे । साथै उनी धार्मिक स्वतन्त्रता, वाक स्वतन्त्रताको पक्षपाती थिए । उनी राज्य र चर्च फरक हुनुपर्छ भन्ने प्रखर रुपमा वकालत गर्ने गर्थे ।

नहरै नहरको सहरमा जल सयरको मज्जा

एम्सटरडाम सहर नेदरल्याण्ड (होल्याण्ड) देशको राजधानी सहर हो । यो सहर सामुन्द्री सतहभन्दा ४ मिटर तल छ भन्ने पहिल्यै सुनिएको थियो । समुन्द्र सतह भन्दा तल कसरी सहर हुन सक्छ भन्ने मनका काउकुतीहरुलाई आँखाले प्रत्यक्ष नियाल्ने मौका पाइयो । यो देशमा प्रवेश गरेपश्चात डाँडा र हिमाल भन्ने आँखाले केही देख्न नपाइँदोरहेछ । सबै समथर भुभाग र जमिनहरु दलदल पानी जमेका मात्र प्रायः भेटिन्छन् । त्यसैले गर्दा कति घरहरु पनि जमिनमा भासिएर एकातिर ढल्केका जस्ता देखिन्छन् ।

दलदल जमीनलाई सुकाएर वस्ती राख्नका लागि डचहरुले विन्ड मिलको विकाश पहिले नै गरेका रहेछन् । पानीसँग खेल्नमा डचहरु संसारका सबैभन्दा दक्ष मानिस भनेर पनि चिनिँदा रहेछन् ।

प्रायजसो खोला वा समुन्द्रमा मात्र नौका सवार गरेको देख्न पाइन्छ । तर, अच्चम छ, यो सहरको भित्रभित्र नहरहरु ग्राफ रेखाझै निर्माण गरिएका छन् । पर्यटकले नौका विहारबाट पुरै सहरको जलसयर गर्न सक्छन् । पानीको बाटो हुँदै सहर घुम्दा स्वर्गीय आनन्द प्राप्त हुँदोरहेछ । हाम्रो सहरभित्रका रोडहरु जस्तै त्यहाँका नशा सरि फैलिएका नहरहरु हेर्दा जो कोहीको मनमा जिज्ञासाको आँधी आउन थाल्छ । अर्को अनौठो कुरा, धनी वा गरिव जो पनि साइकलमा सयर गर्न रुचाउँदा रहेछन् । साइकल, गाडी र रेलका बाटाहरु छु्ट्टाछु्टै निर्माण गरिएका छन् ।

आठ लाखभन्दा बढी जनसंख्या भएको यो सहरमा प्रत्येक मान्छेको एउटा साईकल छ भन्ने त्यहाँका मानिसहरुको कुरा सुनियो । आफ्नो साइकल पुरानो भएपछि त्यहाँका बदमास मानिसहरुले सहरको बीचबाट बग्ने ड्यानल रिभरमा फाल्ने गर्दा रहेछन् । प्रत्येक बर्ष समरमा खोला सफा गर्दा ८ हजार भन्दा बढी थोत्रे साइकलहरु त्यो खोलाबाट निकालिन्छन् भन्ने सुनियो ।

नेदरल्याण्डमा विशेष तीन सहर रहेछन । एम्सटरडाम, रोटरड्म र हेग सहर । पहिलो सहर एम्सटरडाम यसलाई डचहरुले मनोरञ्जन र आन्नद लिने सहरका रुपमा लिँदा रहेछन् भने दोस्रो ‘रोटरडम सहर’ जुन डचहरुका अनुसार कमाउने सहर रहेछ । त्यहाँ ठूला ठूला बन्दरगाहदेखि लिएर उद्योग धन्दा, बन्द व्यापारहरु केन्द्रित रहेछन् । र, तेस्रो सहर हेगचाहिँ देशको सम्पत्ति लुकाउने ढिकुटीजस्तै रहेछ ।

यही हेग सहरमा अन्तरराष्ट्रिय अदालत अवस्थित छ । मानव अधिकार सम्वन्धी मुद्दा परेका विश्वका ठूला ठूला नेताहरु तथा तानाशाहहरुलाई यहाँ ल्याएर पाता कस्ने काम गरिन्छ । हाम्रो देशका कुनै–कुनै नेताहरु पनि हेग पुर्‍याउँछन् कि भन्ने डरले पश्चिममा देशहरुको गुलाम गरिरहेछन् भन्ने पनि केही विश्लेषकहरुले तर्क गरिरहेको अवस्था छ ।

एम्सटरडाम राजधानी सहर भए पनि त्यहाँका राजारानी हेग सहरमा नै बस्दा रहेछन् । तर, कुनै पनि सिरेमोनिएल कामहरु गर्न परे फेरि एम्सटरडामको दरबारमा आउँदा रहेछन् । देशको सबै प्रशासनिक कामहरु पनि हेग सरहबाटै हुँदोरहेछ । राजधानी एकठाउँमा, राजकाज अर्को ठाउँमा !

‘ग्यासन डाइमन्ड फ्याक्ट्री’ संसार एउटै मात्र हिरा काट्ने र टल्काउने उद्योग यही एम्सटरडाममा रहेछ । यो देशमा कुनै हीराका खानीहरु छैनन् । तर, डचहरुको हिरा काट्ने दक्षता र प्रविधिले गर्दा संसारका सबै कच्चा हिरा अफ्रिका, अस्ट्रेलिया र रसियाबाट यही ठाउँमा ल्याएर काटिने र पोलिसिङ गर्ने गरिँदो रहेछ भन्ने सुनियो । यस ठाउँमा जाने सबै पर्यटकहरुलाई त्यो डाइमण्ड फ्याक्ट्रीले सित्तैमा नाउको टिकट काटेर उद्योग हेर्न र हिरा किन्न उत्साहित गर्दोरहेछ । तर, हिराको मूल्य हेर्दा हामीजस्ताले चाहिँ मिर्गौला र कलेजो नबेचिकन किन्ने आँट नगरे हुँदोरहेछ ।

अर्को पक्ष, यो देशलाई व्यक्तिगत स्वतन्त्रता उत्कृष्ट रहेको भूमि भनेर पनि चिनिँदोरहेछ । यहाँका मानिसले व्यक्तिगत स्वतन्त्रता चरमरुपमा उपयोग गरेको आभास भयो । तर, उनीहरु आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अर्काको स्वतन्त्रता हनन गर्दैनन् ।

नेपालको शिवरात्रिमा साधुबाबाहरुले पशुपति वरिपरि जताततै गाँजा तानेजस्तै यहाँका मानिसहरु चुरोट, बिँडीजस्तै गाँजा तानिरहेको अवस्थामा भेटिए । गाँजा तान्ने ठाउँलाई कफीसप भन्दा रहेछन् । हालसालै युरोपियन युनिएनले केही दबाव दिएपछि गाँजा तान्ने निश्चित ठाउँहरु तोकिएका छन् भन्ने सुनियो ।

रेडलाइट एरियाको शुरुवात र सबैभन्दा पहिले समलैङ्गिक विवाहलाई कानूनी मान्यता पनि यही देशबाट भएको रहेछ ।

एम्सटरडाम सहरसँगै आमस्टेल नदी छ । यो नदीबाट सहर सुरक्षित राख्न ठुल्ठुला बाँध (ड्याम) बनाइएका छन् । आमस्टेल र ड्याम दुई शब्द जोड़ेर यो सहरको नाम एम्सटरडाम राखिएको रहेछ । यो सहरको आम्सटेल नदीलाई बाँध बाँधेर सही ढंगले व्यवस्थित गरी पर्यटनलाई प्रवद्र्धन गरेर अर्बाैं डलर देशले आम्दानी गरेको देख्दा हाम्रो सप्तकोशी डुवानमा परी धनजनको क्षति भएको मानसपटलमा क्यासेटको रिलझैं फनफनी घुम्यो । अनि नेपालका नेताहरुसँग बेस्सरी रीस उठ्यो ।

विशेष गरी ऐतिहासिक नहर, हेरिटेज म्युजियम, हाइनिकेन वियर, कफीसप, रेडलाईट एरिया, फूलहरुको बजार, दूध र दूधबाट बन्ने परिकारहरुले यो सहर प्रसिद्ध रहेछ । होलस्टेन/फ्रिइस्टेन गाईहरु यहीँबाट विकसित भएका रहेछन्, जुन गाईहरु संसारका सबैभन्दा धेरै दूध दिने उन्नत प्रजातिका गाईमा पर्छन् ।

हिटलरको देशमा यात्रा अगाडि बढाउँदा

दुई दिन स्वीट्जरल्याण्ड घुमघाम पश्चात नै हाम्रो यात्रा छिमेकी देश जर्मनीतिर अगाडि बढेको थियो । करिव दुईघण्टा बसमा यात्रा गरेपछि हामी सीमाना तरेर जर्मनीको दक्षिण–पश्चिमा पर्ने पर्यटकीय स्थल ‘ब्ल्याक फरेष्ट’ संगै रहेको सुन्दर ताल ‘टिटसी’ पुग्यौं । यो ताल झण्डै १.३ किलोमिटरजतिको क्षेत्रफलमा फैलिएको रहेछ । तर, यो तालले खासै आकर्षित गरेन । किनभने, पोखराको फेवातालजस्तै दुरुस्त रहेछ ।

ब्ल्याक फरेष्ट भन्ने ठाउँ विशेष गरी हातैद्वारा बनाइएको कुकु घड़ीहरुका लागि प्रसिद्ध रहेछ ।

टुर गाइडले एउटा राम्रो रेष्टुराँमा लगेर सुँगुरका खुट्टासँग अच्छा खालको लञ्चको व्यवस्था गरे । स्वाद नेपालको भन्दा फरक भए पनि मजाले खायौं । त्यहीँ वरिपरिको बारीमा उत्पादन भएको चेरी र स्टाबेरी फलफूल सस्तो दाममा किनेर मस्तीसँग गाडीमा खाँदै जर्मनीको अर्को ठाउँ ‘हाइडलबर्ग’तिर यात्रा प्रारम्भ गर्‍याैं ।

मलाई बसमा सयर गर्दा टाउको दुख्ने, वाक–वाक लाग्ने कारणले प्रायः बसको यात्रा एकदम कठिन लाग्ने गर्छ । तर, यहाँको चिल्लो बाटो र आरामदायी कोच बसहरुले गर्दा होला, त्यस्तो खासै केही भएन ।

दिउँसोको झण्डै २ बजेतिर जर्मनीको पाँचौं ठूलो सहर ‘हाइडलबर्ग ‘ पुग्याैं ।

यहाँको विशेष हेर्नुपर्ने ठाउँ सन् १२१३ अर्थात, पुनर्जागरणको युग भन्दा अगाडिबाटै बनाइएको हाइडलबर्ग दरबार रहेछ । नेका नदीको किनारमा अवस्थित यो दरबार सुन्दर र विशाल छ । नेका नदीको पुलमा एउटा बाँदरले ऐना बोकेको पित्तलको मूर्ति रहेछ । त्यो बाँदरले बोकेको ऐनालाई हातले दल्यो भन्ने धन धेरै आर्जन हुने विश्वास रहेछ ।

मूर्तिको छेउमा स–साना दुईवटा मुसाहरु रहेछन् । ती मुसाहरुलाई छोयो भने सन्तान नहुनेहरुको सन्तान हुन्छन् भन्ने जनविश्वास रहेछ । पुलको वीचवीचमा प्रेमको संकेत भएका तालाचाबी लक गरेका चावीहरुको झुप्पाहरु देखिन्छन् । यी चाबीका प्याडलकहरु प्रेमजोडीहरुले कहिले नछुटिने बाचा गर्दै प्याडलक बन्द गरी खोल्ने चाबी चाँही नदीमा बगाइदिँदा रहेछन् । हाम्रो देशका बाहुनहरुलाई भाग्यवादी भन्ने युरोपियनहरु पनि अन्धविश्वासमा पहिलादेखि नै अल्झिएका रहेछन् भन्ने यसबाट पुष्टि हुन्छ ।

सन् १३८६ मा रोमन साम्राज्यको शासनकालमा स्थापना भएको ‘जर्मनीको हाइडलबर्ग युनिभर्सिटीमा संस्कृत भाषा पढ़ाइ हुन्छ र अझ त्यहाँ पूर्वीय दर्शनका बारेमा अध्यन केन्द्र नै छ भन्ने पहिला नै सुनेको हो । त्यहाँ जाने एकदम हुटहुटी भएता पनि समयको अभावका कारण त्यो मेरो चाहाना गर्भमा नै रहेको थियो ।

जर्मनीको समथर भूभागमा हावाबाट बिजुली निकाल्ने पंखाहरु ( विन्ड टर्वाइन) सौर्य उर्जाका प्यानलहरु हेर्दै यात्रा अगाडि बढ्यो । वातावरण संरक्षणप्रति जर्मनहरु निकै सजग रहेछन् । जापानमा सुनामीले गर्दा आणविक दुर्घटना भएपछि जर्मनीले आफ्ना केही न्यूक्लिअर भट्टीहरु बन्द गरेका रहेछन् । प्रदुषणरहित उर्जा (ग्रीन इनर्जी) निकाल्नेमा संसारमा जर्मनी अग्रपंक्तिमा रहेछ ।

भोलिपल्ट सबेरै हामी भव्य मानव निर्मित जर्मनको कोलन सहरमा अवस्थित चर्चलाई दर्शन गर्न पुग्यौं । यो चर्चको विशालतालाई हेर्दा कहिलेकाँही मानिसले गरेको विचित्र विकासको र सिर्जनाले प्रकृतिसँगै प्रतिस्पर्धा गर्न खोज्छ कि जस्तो भान हुन्छ । यो चर्च सन् १२३० सालमा बन्न शुरु भई १८५० तिर निर्माण कार्य सकिएको रहेछ । युरोपमा आन्तरिक लडाइँ हुँदा यसलाई १४ चोटि बमले हिर्काएको रहेछ ।

कुनै एक समयका डरलाग्दा नश्लवादी तानाशाही ‘हिटलर’ जसले यहुदीहरुको छाला काढेर पेटी लगाउने गर्थे भनिन्छ । उनका पालामा जर्मनीमा नाजीहरूलाई जुनसुकै अपराध गर्न छुट थियो । राज्यका सुविधा लिन र समाजमा हैकम जमाउन एउटै योग्यता भनेको नाजी भए पुग्थ्यो । राणा शासनमा राणा हुनु नै भरपर्दो योग्यता भएझैं।

यहुदीहरूलाई खोजीखोजी मार्ने, यातना दिने र दास बनाउने काम हुन्थ्यो । नश्लवादी चिन्तन, त्यो हदसम्म क्रुर भएको हामीले सुनेकै हो । नश्लवादी सोचकै कारण दोस्रो विश्वयुद्धमा त्यत्रो जनधनको क्षति भएको पढेकै हो ।

जातीय अवहेलनाको भरमा हिटलरले ५० लाख यहुदी सिध्याए । विश्व विख्यात भौतिकशास्त्रका बैज्ञानिक ‘अल्बर्ट आईन्स्टाईन ‘पनि यही मुलुकबाट लखेटिएका थिए । जसको फलस्वरूप जर्मनीले दोस्रो विश्वयुद्ध हार्नु परेको थियो भन्ने इतिहासकारहरु तर्क गर्छन् । कार्ल मार्क्सले विश्वविख्यात चिन्तक तथा दार्शनिक पनि जर्मनीमा जन्मिएर बेलायतमा देहत्याग गर्न पुगेका थिए ।

संसारकै क्रुर शासक र दुईवटा विश्वयुद्ध जन्माउने देश जर्मनी अहिले युद्धबाट थाकेर चुपचाप विकाश, विकास अनि फेरि विकासमा नै लागेको अनुभव भयो ।

इतिहासमा धेरै भुल गरेको जर्मनी अब त्यस्ता भुल नदोहोर्‍याई युरोपको एउटा सुन्दर फूल बन्दै विश्वभर शान्तिको सन्देश छरिरहेको जस्तो आभास हुन्छ । शान्त तलाउमा ढुंगा हानेकोसम्म देख्न नरुचाएझैं गर्छन् जर्मनहरु ।

विचारलाई पर्खालले छेक्न सकिँदैन भन्ने विश्वासका साथ अहिले जर्मनहरु एकजुट भएका छन् । कुनैबेला पर्खालले छेकिएका दुई जर्मनीले त्यो पर्खाल भत्काइसकेका छन् ।

युरोपिएन युनियनको हेडक्वार्टर

नेदरल्याण्डलाई विदा गरेपछि हामी बेल्जियमको राजधानी सहर ब्रसेल्सतिर हुइँकियौं । यो सहर बेल्जियमको मात्र नभएर सम्पूर्ण युरेपियन युनियन राष्ट्रहरुको ‘हेडक्वार्टर’ रहेछ । पुरै युरोपको प्रशासनिक साथै आर्थिक कारोवारको पनि प्रमुख केन्द्र रहेछ ब्रसेल्स ।

सुन्दर, शान्त र समृद्ध छ यो मुलुक । यहाँका मानिसहरु दिन रात हावाझैं बहिरहेका, पानीझैं बगिरहेका, रेलझैं कुदिरहेका प्रतीत हुन्छन् । अविश्रान्त ! मेसिनझै व्यस्त छन् । हामी कोही नेपालीजस्ता चौतारा र चिया पसल, भट्टीपसलहरुमा ठूला ठूला कुरा गर्दै हावा पिटेर वा क्यारेमबोर्ड खेलेर भात पचाउने काम गरेको देखिएन ।

यहाँ पर्यटकका लागि घुम्ने ठाउँमध्ये एउटा मार्केट स्वायर रहेछ, जहाँ पुराना सोह्रौं शताब्दीमा बनेका विशाल भवन र शालिकहरुको भौतिक सौन्दर्य, ललितकला, म्युजियमजस्ता सांस्कृतिक धरोहरहरुले पर्यटकको आँखा लोभ्याउने गरेको पाइयो । मन खिचिरहेको पाइयो ।

ब्रसेल्सको वीचभागमा एउटा ‘मानेकेन पी’ भन्ने नाम दिएको ६१ सेन्टिमिटरको बालक पिसा फेरिरहेको नग्न मूर्ति राखिएको रहेछ । यो बालकप्रति धेरै खालका दन्त्य कथाहरु रहेछन् ।

एकखाले जनविश्वास, चौधौं शताब्दीतिर युद्धका बेला बेल्जियमभरि दुस्मनहरुले डाइनामाइटहरु बिछ्याएर ब्रसेल्स सहर अशुरक्षित भएको अवस्थामा यो सानो केटोले पिसाव फेरेर सबै डाइनामाइटहरुलाई निस्कृय बनाई सहरलाई सुरक्षित गरेको भन्ने रहेछ ।

अर्को लोकातीत, सानोमा यो बालक एकदमै बदमास, जथाभावी पिसा फेर्दिँदै हिँड्ने गर्दोरहेछ । एकदिन एउटी महिला भुतका रुपमा त्यहाँ पुगिछन् र पिसाब गर्दै हिँडेको जिउँदो बालकलाई मन्त्र लगाएर मूर्तिमा परिणत गरिदिइछन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment