Comments Add Comment

याङ्की यल्मो : दार्जीलिङकी रकिङ लेडी

२ मंसिर, काठमाडौं । ‘भ्वाइस अफ नेपालको अडिसन सुरु हुन लाग्यो, एकपटक ट्राइ गर ।’

याङकी यल्मोको फेसबुकमा म्यासेज आयो । दार्जिलिङवासी यान्कीलाई यसरी शुभेच्छासहित सन्देश पठाउने को थिए ? थाहा छैन । यद्यपि सन्देश नेपालका कुनै व्यक्तिले पठाएको हुनुपर्छ, जसले याङ्कीको आवाज सुनेका होलान् ।

यो भ्वाइस अफ नेपालको दोस्रो संस्करण सुरु हुनै लाग्दाको कुरा हो । त्यसबेलासम्म याङ्कीलाई नेपालमा हुने सांगीतिक रियालिटी शोबारे उति धेरै सरोकार पनि थिएन । एक त उनी फरक भूगोलमा हुर्किरहेकी, अर्कोचाहिँ पश्चिमा संगीतमा रमाएकी ।

‘वेर्स्टन गीत गाउनेलाई यहाँ मौका मिल्छ भन्ने लागेको थिएन,’ याङ्कीले सम्झिइन्, ‘तर, भ्वाइस अफ नेपालमा त्यस्तो गीत पनि गाउन पाइन्छ भन्ने थाहा पाएपछि मलाई जाँगर चल्यो ।’

फेसबुकमा सन्देश पठाउनेले ‘एप’ पनि अट्याच गरिदिएका थिए, जसलाई डाउनलोड गरेर भ्वाइस अफ नेपालका लागि आवेदन दिन सकिन्थ्यो । याङ्कीले आवेदन दिइन् । डिजिटल अडिसनमा उनको स्वर रुचाइयो । आयोजकले फोन गरे । त्यसपछि निरन्तर फोनको घण्टी बज्न थाल्यो । तर याङ्कीलाई आफैंमाथि संशय थियो, ‘यत्तिको मञ्चमा गएर मैले गाउन सक्छु होला ?’

त्यसअघि उनी ठूला मञ्चहरुमा उक्लेकी थिइनन् । ठूलो जमातको अघिल्तिर उभिएकी थिइनन् । टेलिभिजनका लागि तयार गरिएको भव्य सेटमा उभिएर कसरी पो गाउने ? उनको खुट्टा लरबरायो । तैपनि याङ्की काठमाडौं आइन् ।

रकिङ लेडीको पदार्पण

एकातर्फ कानको माथिल्लो भागको कपाल पूरै खौरिएको । कानमा ठूलो र गोलाकार एयर रिङ झुन्ड्याएकी । मञ्चको मध्यभागमा उभिएकी छिन् उनी । एक किसिमको सन्नाटा छ, तुफान आउनुअघिको मौसम जस्तै ।

हठात् चहकिलो बिजुलीको प्रकाश युवतीमाथि सोझिन्छ । पृष्ठभूमिमा वाद्ययन्त्रको धून गुञ्जन्छ । अनि उनी माइक समातेर भाका हाल्न थाल्छिन्, ‘मेरो आँशु तिमीलाई हाँसो भएछ, मेरो व्यथा तिमीलाई कथा बनेछ ।’

जसै गीत सुरु हुन्छ, निर्णायकहरु पिठ्युँ फर्काएर बसिरहन सक्दैनन् । आस्था राउत, दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेलको कुर्सी उनीतर्फ फन्को लगाउँछ । मञ्चमा गाइरहेकी युवतीमा अरु जोेश थपिन्छ । यद्यपि उनी आफूलाई नियन्त्रण गर्दै गीतको सूर-ताल पच्छ्याइरहन्छिन् ।

भ्वाइस अफ नेपालको मञ्चमा यसरी पदार्पण हुन्छ, याङ्की यल्मोको ।

बाजेको पदचाप पच्छ्याउँदै

दार्जीलिङको आलुबारी, याङ्की जहाँ हुर्किइन् । एक सांगीतिक माहौलमा । खासगरी हजुरबा गीत लेख्ने, गाउने पनि । आफ्नै यल्मो भाषाका गीत रचना गर्छन् । किबोर्ड बजाएर त्यसको धून खोज्छन् । भारतीय सेनाबाट अवकासप्राप्त जीवन विताइरहेका उनी उत्तरार्द्धका दिनहरु गानाबजानासँगै बिताइरहेका छन् ।

बाजेकै प्रेरणाले याङ्कीमा गाउने मोह जाग्यो । बाजे किबोर्डमा औंला नचाउँदै गर्दा याङ्की सम्मुखमा बसेर भाका मिलाउन खोज्थिन् । यसरी बाजे-नातिनीको तालमेलसँगै घरको वातावरण संगीतमय बन्यो ।
त्यसो त याङ्कीका बुबा, ठूलो बुबा सबै संगीतमै रुझेका । यस्तो पृष्ठभूमिमा याङ्कीको संगीत-मोह अरु फस्टाउने भयो । कलिलै उमेरदेखि याङ्की संगीतको संगतमा हेलिइन् । उनको स्वर माझिदै गयो । सोचिन्, ‘गायनमै करियर बनाउँछु ।’

तर, सोचेजस्तो सजिलो कहाँ छ र ?

गीत गाउनु आफ्नो ठाउँमा छ, प्रशिद्धि प्राप्त गर्नु अर्को कुरा । गाउन त गाइरहेकी थिइन् । तर, गायकीबाटै आफ्नो चिनारी बनाउन सकिरहेकी थिइनन् । बेलाबखत मिल्ने स्टेज शोमा गाउने र घरमै साधना गर्ने उपक्रममै उनको दैनिकी बितिरहेको थियो । बाजे गीत कम्पोजर पनि । बाजे-नातिनी मिलेर आफ्नै भाषाको एल्बम निकाल्ने सुरसार गरिरहेकै थिए । तर, मेलोमेसो मिलिरहेको थिएन ।

यसबीचमा दाजुहरुले सुझाए, ‘गीत गाएर युट्युबमा अपलोड गर न ।’ याङ्कीले त्यसै गरिन् । युट्युब अकाउन्ट बनाएर त्यसमा आफ्ना गीत/भिडियो राखिन् । खासगरी कभर सङ्ग । एकातिर पढाइको चाप छँदै थियो, अर्कोतिर रहरले पखेटा हालेकै थियो । कता ढल्कने ? भेउ पाइरहेकी थिइनन् ।

नाच्दा-नाच्दै गायनमा

खासमा याङ्की नाच्न रुचाउँथिन् । सानो छँदा त उनी नाचेरै सबैलाई लठ्ठ बनाउँथिन् । विद्यालयमा छँदाको कुरा हो यो । ‘मलाई नाच्न मन लाग्ने,’ याङ्की बाल्यकालतर्फ फर्किइन्, ‘त्यसबेला गाउँछु भन्ने त लागेकै थिएन ।’

तर, उमेर फक्रदै जाँदा उनमा नाच्नेभन्दा गाउने रहर बढ्यो । बाजेकै संगतमा उनी गीत-संगीततर्फ लहसिइन् । स्थानीय क्षेत्रमा हुने सानातिना कार्यक्रममै चित्त बुझाइरहेकी याङ्कीलाई धेरैले सुझाएका थिए, ‘भ्वाइस अफ नेपालमा एकपटक ट्राई गर ।’ तर, उनले यसतर्फ खास ध्यान दिइनन् । पहिलो सिजन सकियो । दोस्रो सिजन सुरु हुनै लाग्दा कसैले पठाएको फेसबुक म्यासेजले उनको सांगीतिक जीवनलाई नयाँ मोडमा प्रवेश गराइदियो ।

यस्तैमा याङ्की नेपाल आइन्, भ्वाइस अफ नेपाल सिजन-२ मा सहभागी हुन । ब्लाइन्ड अडिसन दिइन् । यही खुड्किलोमा उनले आफूलाई सर्वत्र फैलाउन पाइन् । याङ्की कृतज्ञ छिन्, दर्शकप्रति । शुभेच्छुकप्रति । दर्शकले रुचाइदिएकाले नै उनले आफ्नो करियरलाई अरु माझ्ने मौका पाइन् । भन्छिन्, ‘मैले संगीतको कुनै औपचारिक कोर्स गरेकी थिइनँ । हजुरबासँग जति सिकें, त्यति नै हो । तर, यो (भ्वाइस अफ नेपाल) प्लेटफर्ममा आइपुगेपछि मैले धेरै कुरा जान्ने र बुझ्ने मौका पाएँ ।’

संगीतमा गरेको लामो संघर्षको प्रतिफल बल्ल मिलिरहेको महसुस भएको उनलाई । ‘भारतबाटै धेरै सहभागी भएका छन्, सबैसँग यहीँ भेट भयो’ याङ्की भन्छिन्, ‘नयाँ साथी बनाइयो, धेरै मान्छेको अगाडि आफूलाई चिनाउन पाइयो ।’

सानो छँदा साथीहरुले उक्साउथे, ‘तिमी त गायिका हुन्छौं, चर्चित हुन्छौं ।’ यद्यपि जीवनको एउटा हिस्सा गुजि्रसक्दा पनि याङ्कीले त्यस्तो प्लेटफर्म पाएकै थिइनन् । दार्जिलिङको सानो सेरोफेरोमा सीमित मान्छेबीच चिनिएपनि उनको निम्ति यो पर्याप्त थिएन ।

त्यसो त भारतकै रियलिटी शो ‘द स्टेज’का लागि पनि उनले प्रयास गरिरहेकी थिइन् । त्यहाँ अंग्रेजी गीत गाउनुपर्ने । सिजन-२ मा उनले प्रतिस्पर्धा गरिन्, अपेक्षित सफलता मिलेन ।

त्यसैको तेस्रो संस्करणमा भिड्ने तयारी गरिरहँदा भ्वाइस अफ नेपालको आवेदन खुल्यो । र, यही नै उनको सांगीतिक जीवनको टर्निङ प्वाइन्ट बनिदियो । उनको ‘पावरफुल भ्वाइस’ सुनेपछि निर्णायक प्रमोद खरेलले भनेका थिए, ‘म अन्तिममा मात्र तपाईंतर्फ फर्किएँ । किनभने तपाईंको आवाज सुनिरहँदा यति मग्न भएँ कि तपाईंतर्फ फर्केर आफ्नो ध्यान भंग गर्न चाहिनँ । म तपाईंको आवाजमा एकदम बढी एन्जोए गरिरहेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment