Comments Add Comment

१३ औं सागमा प्याराग्लाइडिङ नहुने निश्चित

दुबो नआइपुग्दा महिला फुटबल अझै अन्यौलमा

पोखरा रंगशालाको प्याराफिट बनाइँदै ।

४ मंसिर, पोखरा । दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ समावेश नहुने भएको छ ।

प्याराग्लाइडिङ खेल सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने तय थियो । र नाम दर्ता गर्न बुधबारसम्म अन्तिम समय तोकिएको थियो ।

तर नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएन । नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने निश्चित भएको जानकारी दिए ।

‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । जबकी प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपुर्‍याएकाले खेल नहुने भएको हो ।’

सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।

फुटबल मैदानको प्यारापिट धमाधम

सागमा पोखरामा हुने अर्को खेल हो, महिला फुटबल । १३ औं साग प्रतियोगिता हुन ११ दिनमात्रै बाँकी हुँदा पोखरा रंगशालाको भौतिक तथा प्राविधिक निर्माण कार्यलाई तीब्र पारिएको छ ।

साग अन्तर्गतको महिला फुटबल खेलाइने पोखरा रंगशालामा अहिले प्यारापिट जडान कार्य सुरु भएको छ । बुधबारबाट सुरु भएको प्यारापिट निर्माण ५ दिनभित्र सकिने निर्माण कम्पनीको दाबी छ ।

रंगशाला प्यारापिटमा जडान भइरहेको स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघिमात्रै पोखरा आइपुगेको हो । प्यारापिट जडानका लागि निर्माण कम्पनीलाई नेपाल प्रहरीले समेत सहयोग गरिरहेको छ । ‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ रंगशाला पुननिर्माण गर्ने जिम्मा लिएको नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ‘५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ ।’

करिब १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने बताइए पनि हाल सो क्षमताभन्दा कम प्यारापिट जडान गर्न लागिएको हो ।

मैदानको दुबो अझै आइपुगेन

१३ औं साग महिला फुटबलका लागि धमाधम जडान कार्य सुरु भए पनि खेल हुने/नहुने अझै अन्यौल छ । खेलकाल लागि मैदान अझै तयार भइनसक्दा खेल नहुने सम्भावना बढेको हो । महिला फुटबल प्रतियोगिता हुने मैदानमा अझै करिब १२ हजार वर्गफिट दुबो फेर्नुपर्ने छ ।

खेल विज्ञकाअनुसार नयाँ दुबो बिछ्याएको २ हप्तामा खेल्न सकिने भए पनि अहिलेसम्म दुबो नेपाल नआएकाले महिला फुटबल हुनेमा शंका देखिएको हो । खेल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ ।

गत शनिबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबारसम्म पोखरामा दुबो आइसक्ने दाबी गरेका थिए । तर बुधबारसम्म पोखरामा आवश्यक दुबो आइपुगेको छैन । अब हतारमा दुबो बिछ्याए पनि समय अभावका कारण खेलका लागि उपयुक्त भने हुने छैन ।

‘बुधबार साँझसम्म दुबो पोखरा आइपुग्ने कुरा थियो,’ प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘आउन केही ढिलाइ भयो । अब बिहीबार बिहानै दुबो आइपुग्छ । आइसकेपछि हामी तत्काल दुबो परिवर्तन गर्छौं ।’ दुबो पोखरा आइसकेपछि त्यसलाई ‘रिप्लेस’ गर्न कुनै समस्या नहुने उनको तर्क छ ।

महिला फुटबल हुने मैदानका लागि अघिल्लो पटक कोलकत्ताबाट माटोसहित दुबो ल्याइएको थियो । तर भारतीय क्वारेन्टाइनले भन्सारमा माटोसहित दुबो रोकिदिँदा दुबो आउन एक हप्ता लागेको थियो । मैदानका लागि ल्याइएको ८७ हजार वर्गफिट दुबो नेपाल ल्याउन ढिलाइ भएका कारण आधाभन्दा बढी उम्रिएन । अहिले कम्पनीले १२ हजार वर्गफिट दुबो मगाइएको हो ।

रंगशालाभित्र पर्ने पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाक बनाउने कामसमेत अधुरै छ । प्रोजेक्ट म्यानेजर बरालले ट्र्याक बढीमा ५ दिनभित्र तयार भइसक्ने दाबी गरे । ‘रंगशालाको अहिले ९० प्रतिशत काम सकिएको छ । बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनको दाबी छ ।

मंसिर १५ देखि २५ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ । पोखरामा ९, जनकपुरमा एक र बाँकी खेल काठमाडौंमा हुने तय भएको थियो । तर, प्याराग्लाइडिङ नहुने भएपछि पोखरामा ८ खेलमात्रै हुनेछन् । पोखरामा तय भएका खेलमा ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन् ।

तस्वीर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment