Comments Add Comment

पदभार ग्रहण गर्दै दुगडले सोधे : म्याडम, अफिस कस्तो छ ?

५ मंसिर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बिहीबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि करिब साढे १२ बजे मन्त्रालय आइपुगे । उनी आफ्नी शोभनालाई साथै लिएर आएका थिए ।

उद्योग सचिव यमकुमारी खतिवडा र वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले खादा र मालासहित राज्यमन्त्री र उनकी पत्नीलाई स्वागत गरे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र यस अन्र्तगतका विभाग, संस्थान र निगमका उच्च अधिकारीहरुसहितका कर्मचारी मन्त्रालयको प्रवेशद्वारमा लामबद्ध थिए ।

राज्यमन्त्री दुगड सबैको नमस्कार खाँदै बुके, फूलमाला र खादा समाउँदै मन्त्रालयको दोस्रो तला उक्लिए । कार्यकक्ष प्रवेश गर्नै लाग्दा मोबाइल बज्यो, नमस्कार र बधाईले हर्षोल्लित राज्यमन्त्री दुगडले फोन उठाए र भने ‘बेटा दोस्रो तल्लामा आउ, म आइसकेँ ।’

मन्त्रालयका सहसचिव नवराज ढकालले प्रयोग गर्दै आएको कोठा राज्यमन्त्रीका लागि तयार पारिएको थियो । दुई सचिव, सहसचिव र पत्रकारहरुको टोली मन्त्रीसंगै कार्यकक्षमा प्रवेश गर्‍यो ।

वाणिज्यतर्फका सचिव डा. अर्यालले राज्यमन्त्रीको पहिलो निर्णयको फाइल राज्यमन्त्री दुगडलाई थमाए । मुसुमुसु हाँस्दै दुगडले सोधे के छ यसमा ? मिजासिलो पारामा सचिव अर्यालले भने ‘आगामी सोमबार विश्व व्यापार संगठन रिफर्मबारे एउटा कार्यक्रम छ त्यसलाई हजुरले स्वीकृति दिनुप¥यो ।’ हुन्छ भन्दै दुगडले निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री बन्न पाएकामा उनी निकै हर्षित देखिन्थे । निर्णयमा हस्ताक्षरपछि उनले फोटो पत्रकारलाई फोटो खिच्न पोज दिए । ढोकासम्म सँगै आएकी पत्नी कोठाभित्र कर्मचारीको भीडमा पछाडि परिन् । दुगडले भीडतिर पत्नी शोभनालाई खोजे ।

मुस्कुराउँदै पछाडि उभीएकी पत्नी शोभना श्रीमान्ले खोजेपछि एक केही अगाडि सरिन् । प्रफुल्ल राज्यमन्त्री दुगडले सोधे ‘म्याडम अफिस कस्तो छ ?’ लजाउँदै मन्त्री पत्नी शोभानाले भनिन् ‘राम्रो छ, हजुरलाई बधाई छ ।’ हलमा उपस्थित सबैजना मज्जाले हाँसे ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको मायाले यहाँ आएँ, भगवान सम्झेर घुस खान्नँ : राज्यमन्त्री दुगड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment