Comments Add Comment

कृषिमन्त्री घनश्याम भुसाललाई पत्र !

माननीय मन्त्रीज्यू, नमस्कार ! हुँदा खाने वर्गसँग प्रत्यक्ष सरोकार राख्ने यति महत्वपूर्ण मन्त्रालयको मन्त्री हुनुभएकोमा सर्वप्रथम हजुरलाई हृदयदेखि नै बधाई एवं शुभकामना व्यक्त गर्न चहन्छु ।

सच्चा कम्युनिस्ट नेताको छवि बनाएर सबैको मन जित्न सक्नुभएको छ आजसम्म र अब कसरी यो छविलाई आफूले पाएको अवसरबाट चरितार्थ गर्नुहुन्छ, हेर्न बाँकी छ ।

हजुरको तार्किक र वजनदार वाणीहरु सुनेर हुर्किंदै आएको पंक्तिभित्र पर्छु म । भ्रष्ट नेताहरुप्रति यहाँको आलोचनात्मक दृष्टिकोण र दिगो विकासका लागि सक्षम कार्यदिशालाई नमूना मानेर देश निर्माणमा लाग्ने युवाहरुको लर्को लामै छ । यी लामहरु यहाँको कार्यकाल पश्चात झन् बढ्दै जानेछन् भन्नेमा म निकै नै आशावादी छु ।

अब विषय यहाँको कार्यक्षेत्रतर्फ मोड्न चाहँन्छु ।

नेपाल कृषि प्रधान देश हो । यो सुन्दै आएको कुरा हो । नव पाहुनाजस्तै प्रेमपूर्वक मनसुनलाई नेपालमा स्वागत गर्न पाउँदा हामी अनन्त खुशी पनि हुन्छौं । हामी धर्ती पूत्रहरु हौं, यसका सेवकहरु हौं र कर्मपालकहरु हौं । असारमा माना रोपेर मंसिरमा मुरी उब्जाउने ध्येय जो बोकेका हुन्छौं हामीले ।

नवनियुक्त कृषि मन्त्रीज्यूलाई म सोध्न चाहन्छु- किसानको जीवनयापन र देशको समृद्धिसँग जोडिएको कृषि उत्सव अब कहिले जागृत हुन्छ ? पृथ्वीमा स्वर्गको रंग उतार्ने, पसिनाको सुगन्ध समेट्ने, माटो र मुटुको सम्बन्ध जोड्ने दिन अब फेरि कहिले आउँछ ?

तर, आजकल समय उस्तै रहेन । त्यो एक समय थियो, जतिबेला हातमा हरिया धानका बिउ लिएर दबदबे खेतमा पस्दै मधुर असारे भाकामा आनन्द लिएर रोपाइँ महोत्सव मनाउनुको मज्जा छुट्टै हुन्थ्यो । कोदाली लिँदै नाच्दै उफ्रिदै खेत जोतेर यौवन स्वभावमा हाँस्दै रमाउँदै प्रकृतिसँग नाता गाँस्नुको खुशी नै अर्कै हुन्थ्यो । हार्दिक ध्वनीले डाँडाकाँडा, पहाड, फाँट सबै गुञ्जिन्थे । ‘होहो माले होहो’का संगीतहरु, दही चिउराको स्वाद, अनेक ठट्टा, हास्य र कटाक्षहरु अनि कालो बादल र घनघोर वर्षासँगका मितेरीहरु सायद लोप हुँदै गइरहेका छन् । मंसिरमा धान भित्र्याउँदा हुने चटारो घटिसकेका छन् ।

नवनियुक्त कृषि मन्त्रीज्यूलाई म सोध्न चाहन्छु- किसानको जीवनयापन र देशको समृद्धिसँग जोडिएको कृषि उत्सव अब कहिले जागृत हुन्छ ? पृथ्वीमा स्वर्गको रंग उतार्ने, पसिनाको सुगन्ध समेट्ने, माटो र मुटुको सम्बन्ध जोड्ने दिन अब फेरि कहिले आउँछ ?

माननीय मन्त्रीज्यू, देशको अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ कृषि क्षेत्रले । तर, बजार पाउन नसक्दा खेतबारीमै उखु सुकेर गएको, डोजर लाएर बन्दाखेतीलाई नष्ट गरिएको खबर नौला होइनन् । किसानले सस्तो भाउमा सामग्री बेचे पनि बजारमा आउँदा विचौलियाको प्रभावले उपभोक्ताले महङ्गो मूल्य तिर्नुपरेको यथार्थ पनि तीतो सत्य नै हो ।

मन्त्रीज्यू, कृषि क्षेत्रमा हुनु पर्ने दिगो रुपान्तरण, आधुनिकीकरण र व्यवसायीकरण कागजी कथन र भाषणमा मात्र सीमित छ । खै नेपालमा कृषि विकासको बहस कहिले प्रारम्भ हुन्छ ? निर्यातमुखी बनाउनुपर्ने बहस, अनि खाद्य सुरक्षा र ग्रामीण रोजगारीका कुराहरु खै ? कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले पुर्‍याएको योगदानका कुराहरु खै ? यसमा विचार र विमर्शले मात्र पनि पुग्दैन उचित कार्यान्वयनको पाटो झन् महत्वपूर्ण छ ।

नेपालको कुल जनसंख्याको करिब दुई तिहाइ जनता ग्रामीण क्षेत्रमा बसोवास गर्छन् र उनीहरुको प्रमुख जीवनयापनको माध्यम नै कृषि हुने गरेको छ । परम्परागत जीवन निर्वाहमुखी मात्र भएर पनि पुग्दैन, अबको आवश्यकता व्यावसायिकता मार्फत पारिवारिक समृद्धि पनि हो । यसका लागि बालीको विविधीकरण र संस्थागत एवं संरचनागत रुपान्तरणसमेत आवश्यक रहन्छ ।

माननीय मन्त्रीज्यू, आज पनि देशमा करिब करिब ३०/३५ प्रतिशत खेतीयोग्य जमीनहरु बाँझो छ । बेरोजगार युवाहरु मलेसिया, कोरिया र कतार जान उत्सुक छन् । अलि पढेलेखेकाहरु शहरकेन्द्रित भइसके । उनीहरुका लागि धान रोप्नु, बाली उब्जाउनु अब कष्टदायी वा नीच कार्यभित्र पर्न जान्छ । अनि गाउँमा बचेका भनेका केटाकेटी र बुढाबुढीहरु मात्र हुन्, जो श्रम गर्न सक्दैनन् ।

अर्को कुरा, खेतीयोग्य जमीनमा डोजर लाएर बाटो खोल्ने घडेरी बनाउने दलाल पुँजीपति वर्गहरुको पनि हालीमुहाली नै छ । अनि जो सर्वहारा गरिब, किसान, खेत मजदुरहरु छन्, उनीहरुसमेत धान रोपेर दुई छाकको गर्जो टार्न नसक्ने अवस्थामा आएपछि पेशा परिवर्तन गरी अन्य ठाउँमा ज्याला मजदुरी गर्न बाध्य छन् ।

महाकवि देवकोटाले भनेझै वाग्नरले कोदाली खनिरहने, शेक्सपियरले हलो जोतिरहने, कालीदासले अषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहने सानो, मिठो, शान्त र अनुपम देश हो नेपाल

मन्त्रीज्यू, अब भूमिसुधार व्यवस्थाको सफल कार्यान्वयन संगै खेतीयोग्य जमीनको पूर्णरुपमा सदुपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । माटो, जलवायु सुहाउँदो कृषि बालीमा प्रोत्साहनसँगै भूमिको वैज्ञानिक अध्ययन र अनुसन्धान समेत हुनुपर्ने जरुरी देखिन्छ ।

सबै ठाँउमा धान, मकै, कोदो, फापर नै रोप्नुपर्छ भन्ने छैन, राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा राम्रो मूल्य पाउने नगदे बाली, जस्तै- चिया, कफी, जूट, उखु र जडीबुटीमा किसानलाई आकर्षित गर्न सक्नुपर्छ । विदेशिन तयार रहेका र डिग्री लिएर पनि काठमाडौंमा बेरोजगार कहलिएका युवालाई कृषिमा आकर्षण गर्न न्यूनतम व्याजदरमा सहज ऋण प्रवाह, कृषि बिमा र आधुनिक उपकरणको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने सडक, सिँचाइ,विद्युतको पहुँच र कृषि उपज संकलन केन्द्र, भण्डारण केन्द्र, उपयुक्त प्रविधि र सञ्चारको समेत समानान्तर विकास हुनुपर्ने जरुरी छ । मल र बीजको समयमै उपलब्धता र खाद्यान्नको उत्पादन भइसकेपछि त्यसको प्रशोधन, सञ्चय, गुणस्तर परीक्षण, ढुवानी र वितरणमा सरकार, निजी क्षेत्र, सहकारी र सरोकारवाला सम्पूर्णको ध्यान आकृष्ट हुन जरुरी छ । यसमा कृषि कृषकको अग्रसरतामा भर पर्छ । त्यसैले, बजार मूल्य तोक्दा बिचौलियाहरु मोटाउने होइन कि कृषकहरु बाँच्ने आधार तय हुनुपर्छ । विश्वव्यापी स्वतन्त्र व्यापारको फाइदा लिँदै विशेष कृषि नीति र कूटनीतिक पहलबाट निर्यात बढाएर आयात घटाउन सके समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा साच्चै नै पूर्ण हुने थियो ।

साँच्चै नै महाकवि देवकोटाले भनेझै वाग्नरले कोदाली खनिरहने, शेक्सपियरले हलो जोतिरहने, कालीदासले अषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहने सानो, मिठो, शान्त र अनुपम देश हो नेपाल । आजसम्म अधिकांश बाँझो खेतमा असन्तोष र अभावका झारहरुमात्र उम्रिए पनि अबका दिनहरुमा यिनै बाँझो धर्ती फोर्न पसिना बगाउने जोस, जाँगर, उमंग र वातावरण सरकारबाट प्राप्त हुने आशासहित विदा माग्न चाहन्छु ।

कृषि क्रान्तिबाट नै आर्थिक क्रान्ति सम्भव छ । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment