+
+
Shares

‘उठीबास’ हुने अवस्थामा लोकबाजा संग्रहालय

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १३:२९

१० मंसिर, काठमाडौं । लोक बाजाहरु इतिहास हुन्, जुन हाम्रा पुर्खाहरुले आफ्नो परम्पराअनुसार बजाए । यस अर्थमा बाजाहरु हाम्रो पहिचान पनि हुन् ।

नेपाली लोकबाजा संग्रहालय हेर्दा नेपाली साँस्कृतिक इतिहास र पहिचानको संरक्षण भएको लाग्छ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सत्तलमा भाडामा बसिरहेको संग्रहालयको अवस्था भने नाजुक छ । वरिपरिको वातावरण हेर्दा कसैलाई पनि लाग्दैन, यहाँ नेपालीहरुको मौलिकता झल्काउने लोकबाजा संग्रहालय छ ।

रामप्रसाद कँडेलको अथक प्रयासमा खुलेको संग्रहालय प्रायः सुनसान रहन्छ । आफूलाई जस्तै नेपाल सरकारलाई पनि लोक बाजाहरुमा चासो रहेको भए आज संग्रहालय यो हालतमा नहुने कँडेल बताउँछन् । ‘यी बाजा भनेका आफैंमा नेपाली गीत र मौलिक नाचहरु पनि हुन्’, उनी भन्छन्, ‘यिनको राम्रो संरक्षण हुन सकोस् भनेर गुठी संस्थान र पुरातत्व विभागदेखि संस्कृति मन्त्रालयसम्म धाएँ, तर सहयोग पाउन सकिनँ ।’

सरकारी निकायहरुबाट सहयोग पाउन त के उल्टै उठीबास हुनुपर्ने अवस्था रहेको कँडेलले बताए । उनका अनुसार, पुरातत्व विभाग र गुठी संस्थानले मन्दिरको सत्तलबाट हट्न ताकेता गरिरहेका छन् । ‘एक त नेपालमा संग्रहालय ऐन नहुँदा सामाजिक संस्थाको रुपमा दर्ता गरेर संग्रहालय चलाउनुपरेको छ’, कँडेल भन्छन्, ‘त्यसमाथि सरकारी निकायहरु नै उठीबास लगाउन उद्दत छन् ।’

गुठी संस्थानले बाजा संग्रहालय भएको सत्तल काठमाडौं विश्वविद्यालयलाई बढी पैसामा भाडामा दिएकाले आफूमाथि दबाव बढेको उनले बताए । त्यसो त यसअघि उनले भद्रकाली मन्दिर परिसरमा रहेको एक भवनमा संग्रहालय स्थापना गरेका थिए । त्यहाँबाट विस्थापित भएर लोकबाजा संग्रहालय त्रिपुरेश्वर पुगेको हो ।

कँडेलले संग्रहालयमा ६५५ भन्दा बढी पुराना बाजा संकलन गरेका छन् । त्यसका लागि उनले जीवनको अढाई दशक लगानी गरे, नेपालको कुनाकन्दरा पुगे । उनी यसको श्रेय भने आफ्ना परम पूज्य गुरुदेव श्री साधक सत्यमलाई दिन्छन् ।

थाङ्का कलाबाट बाजातिर

आजभन्दा करिब २५ वर्षअघि रामप्रसाद थाङका (चित्र) बेच्थे । त्यसक्रममा गाह्रकलाई चित्रमा भएका कतिपय आकृतिको अर्थ बुझाउन नसकेपछि उनी थाङ्का अध्ययनमा लागे ।

त्यही मेसोमा जोरपाटी पुग्दा गुरुदेवलाई भेटेको उनी बताउँछन् । ‘गुरुकै प्रभावले एक वर्ष नेपाली लोक बाजाहरुको अध्ययन गरेर संकलन र संरक्षणमा जुटेँ’, उनी भन्छन्, ‘यो बाजा संग्रहालय त्यसैको परिणाम हो ।’

संग्रहालयमा भएका बाजामध्ये ५८ वटा उपहारमा पाएको, बाँकी सबै धेरथोर मूल्यमा किनेको कँडेलले बताए । यो काम खासमा सरकारले गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘तर, सरकार कक्षा १० को किताबमा नेपाली लोकबाजा संग्रहालय छ भन्ने लेखेर ढुक्क बसेको छ ।’

कँडेलका अनुसार, संग्रहालयलाई साँच्चै संग्रहालय जस्तो बनाएर एउटा बाजालाई राम्ररी प्रदर्शन गरेर राख्न एकलाख रुपैयाँ जति खर्च लाग्छ, जुन उनीसँग छैन । नेपालका पुरै लोकबाजा संकलन गर्न पनि बाँकी नै रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?