Comments Add Comment

उपचुनावको प्रचार आज अन्तिम, नेकपा र कांग्रेस आमने–सामने

कसैलाई गुमाउने चिन्ता, कसैलाई बढाउने धाउन्न

११ मंसिर, काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् ।

शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिकाको मेयद पदको चुनाव पनि चासोका साथ हेरिएको छ । यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ ।

शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ । त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिकार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।
चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने कांग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने चुनौती छ ।

त्यसैगरी शनिबार ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गायँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।

कुल ४२ वडाहरुमध्ये २३ वटा वडामा यसअघि नेकपाले जितेको थियो । अब नेकपाले २३ वटा वडाहरु जोगाउनुपर्ने चुनौती छ । त्यस्तै नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको एउटा वडा पनि शनिबार दाउमा लाग्दैछ ।

४३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले यसअघि जितेका १२ वडाहरु सुरक्षित गर्नुपर्ने छ । त्यस्तै राजपा र समाजवादीले यसअघि जितेका ५ वटा वडाध्यक्ष पद जोगाउनुपर्ने चुनौती छ ।

कांग्रेस र नेकपा आमने–सामने

यसपटकको उपचुनावमा नेपाली कांग्रेसले एमाले र माओवादी एकीकरण भएर बनेको संगठित नेकपाको सामना गर्नुपर्ने छ । अघिल्लो चुनावको गणितलाई हेर्दाखेरि नेकपा र कांग्रेसवीचको मतान्तर धेरै ठूलो भएकाले नेकपाले पहिले जितेका सीटहरु जोगाउँदै थप जित हात पार्ने अनुमान गरिँदै आएको छ । तर, चुनावको दिन नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरुमा पनि उत्साह भरिन थालेको चुनाव क्षेत्रका स्थानीय पर्यवेक्षकहरु बताउँछन् ।

जस्तो– धरान, पोखरा, भक्तपुर, दाङ र बाग्लुङमा कांग्रेसले आफ्नो पोजिसन सुधारेको पर्यवेक्षकहरु बताउँछन् । यद्यपि कांग्रेसको बढोत्तरी जितकै तहमा पुगेको छ या मतान्तर घटाउनमात्रै सीमित हुन्छ भन्ने चाहिँ आइतबार चुनावको नतिजासम्म पर्खनुपर्ने हुन्छ । तथापि उपचुनावको घोषणा हुने बेलामा कांग्रेसजनहरु जति निराश देखिन्थे, पछिल्ला दिनमा उत्साही देखिएका छन् ।

नेपाली कांग्रेसले धरान र कास्कीलाई विशेष जोड दिएको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु धरान र पोखरामा केन्द्रित भएका छन् ।

त्यसैगरी नेकपाको शीर्ष नेतृत्व पनि बाग्लुङ, पोखरा, धरानलगायतका स्थानमा चुनाव प्रचारमा व्यस्त छ ।

बुधबार बिहानै नेकपा अध्यक्ष प्रचण्ड अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर आजै प्रचण्डले धरानको सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment