Comments Add Comment

हुम्ला टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

घाइतेको हेलिकोप्टरबाट उद्धार

घाइतेहरूको उद्धार गर्दै सुरक्षाकर्मी र स्थानीय ।

१२ मंसिर, काठमाडौं । हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन्  ।

नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो ।

दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका-१ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी सिमकोट-६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

३ जनाको घटनास्थलमै र बक्त रोकायाको उपचारका क्रममा हुम्ला जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सर्केगाड-३ उनापानीका अंग फडेरा, सिमकोट-६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट-७ डाडाँफायाका सन्तोष सुनार, नाम्खा गाउँपालिका-१ हेप्का नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ र खार्पुनाथ-५ का धनसिंह सुनार रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये नाम्गेल तामाङ, सन्तोष सुनार खगेन्द्र रावत र अंग फडेरा अवस्था गम्भीर छ । चालक आनन्द तामाङसहित डिचिन तामाङ र उनकी छोरी सन्ध्या पाण्डे भने सामान्य घाइते छन् ।

घाइतेको हेलिकोप्टरबाट उद्धार

टिपर दुर्घटनामा घाइते भएका ११ जनालाई कर्णाली प्रदेका सामाजिक विकासमन्त्री दल रावल र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा उद्धार गरिएको छ ।

बिहीबार सदरमुकाम सिमकोटबाट ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

मन्त्री रावलका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज भेरी अञ्चल अस्पताल पठाइएको छ । उपचारका लागि प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिबद्धतासमेत उनले गरे ।

उपचारका लागि आर्थिक सहयोग

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि नेकपा हुम्लाले एक लाख सहयोग सहयोग गरेको छ । नेकपा कणर्ाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले उक्त रकम जिल्ला समन्वय समितिका हुम्लाका संयोजक दानबहादुर रावतलाई हस्तान्तरण गरे ।

यस्तै मन्त्री दल रावलले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गरेका छन ।

हुम्लामा ३ सवारी दुर्घटना

हुम्ला जिल्ला अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । तर, यहाँ यो वर्ष मात्रै ३ वटा सवारी दुर्घटना भइसकेका छन् ।

यसअघि असार ३ गते बोलेरो जीप कर्णाली नदीमा खसेको थियो । उक्त घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित ११ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, कात्तिक २३ मा सिमकोट गाउँपालिका-५ को सार्कीबाडामा अर्काे दुर्घटना भएको थियो । तर, मानवीय क्षति भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment