Comments Add Comment
मेरो कथा :

‘हरि दाइ नै मेरो आइडल हो’

सोमबार, ९ मंसिर विशेष दिन रह्यो मेरा लागि । विहान जतिबेला दशरथ रंगशालामा अभ्यास गर्न जाने भन्ने थाहा पायौं, त्यसबेलादेखि नै छुट्टै उत्साह थियो । रंगशालाको गेटभित्र पस्नासाथ सबैले चारैतिर आँखा डुलायौं । किनभने भूकम्पले क्षतिविक्षत भएको रंगशाला अहिले कस्तो बन्यो होला भन्ने चासो थियो ।

नेपाली टिमका आधाभन्दा धेरै खेलाडी राष्ट्रिय टिमबाट दशरथ रंगशालामा पहिलो पटक खेल्दैछन् । केही त पहिलो पटक त्यहाँ छिरेका थिए । त्यसैले बच्चादेखि हेरिआएका रंगशालामा फेरि फर्किन पाउँदा सबै रोमाञ्चित थियौं । आशा गरौं, १३ औं दक्षिण एसायली खेलकुद (साग)मा पनि राम्रो नतिजा ल्याउन सक्छौं ।

००००

सन् १९९९ मा भएको सागको मलाई केही सम्झना छ । नेपालले बंगलादेशसँग खेलेको फाइनल मैले टेलिभजनमा हेरेको थिएँ । नेपाल हारेपछि बसन्त गौचन रुनुभएको अझै याद छ । मैले बिर्सन नसक्ने एउटा क्षण थियो त्यो ।

अहिले आफ्नै कप्तानीमा साग खेलकुद खेल्दैछु । मेरा लागि यो सुखद सौभाग्य हो ।

हामीले १२ औं सागमा गोल्ड मेडल जितेका थियौं । त्यसैले हाम्रो टिमलाई अलिकति दबाब पनि छ यो पटक । फुटबललाई नेपालमा सबैले मन पराएको जस्तो लाग्छ र सबैको अपेक्षा पनि यसमा गोल्ड आओस् भन्ने नै छ । तर हामीले धेरै दबाब पनि मानेका छैनौं । आफ्नो शतप्रतिशत दिने हो । कप्तान भएको हिसाबले म आफ्नो टिमलाई शतप्रतिशत दिएर अगाडि बढाउन चाहन्छु ।

हाम्रो तयारी पनि राम्रो छ । सिनियर टिम विश्वकप छनोटको दोस्रो खेल खेलिरहेका बेला अर्को टिमले बालगोपाल सरको प्रशिक्षणमा चार महिनादेखि अभ्यासमा गरिरहेको थियो । दुई सातादेखि भने सागको सिंगो टिम एक ठाउँमा छ । जुनियर खेलाडीहरु पनि एन्फा एकेडेमीबाटै आएकाले कम्बिनेसन राम्रो छ ।

तर दुर्भाग्यवश हाम्रो टिममा भएका तीन जना हट्नुपर्‍यो । उनीहरु भएको भए अझै राम्रो हुन्थ्यो होला तर उनीहरुको ठाउँमा आएका तीनै जना उत्तिकै क्षमतावान छन् र उनीहरुलाई आफूमा भएको क्षमता देखाउने अवसर आएको छ ।

विश्वकप छनोटका कुरा

हामीले विश्वकप छनोटमा ५ वटा खेल खेलिसक्यौं । यसमा हाम्रो प्रदर्शन विश्लेषण गर्नुअघि समूह विभाजनको कुरा सुनाउँछु । हाम्रो खास ठूलो अपेक्षा थिएन । किनभने अष्ट्रेलिया, जोर्डन, कुवेत, चाइनिज ताइपेई थियो । सबै म राम्रो थियो र छन् पनि ।

मैले मनाङ मर्स्याङ्दी क्लबबाट खेलेको पनि ९ वर्ष भइसकेछ । यो वर्ष चाहिँ मनाङमा खेलिन्छ जस्तो छैन । तर अहिले कुन टिममा जाने पक्का भइसकेको छैन ।

हामीले विश्वकप छनोट हुन्छौं भनेर सोचेका पनि थिएनौं र सोच्नु मुर्खता पनि हुन्छ । तर हामीले कस्तो खेल्यौं भन्ने चाहिँ महत्वपूर्ण छ । पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार भएकै हो । अरु खेल खेल्दा हाम्रो टिमले राम्रो गर्‍यो जस्तो लाग्छ । दोस्रो खेलमा ताइपेइरुद्ध २-० ले जीत निकाल्न सफल भयो । यसले हामी पनि गर्न सक्दो रहेछौं भन्ने जोश जगायो र त्यसपछिका खेलहरमा जित्न नसकेपनि राम्रो खेल प्रदर्शन गर्न सफल भयौं जस्तो लाग्छ ।

अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा खेल्यौं । त्यहाँको वातावरणमा घुलमिल हुन सकियोस् भनेर एक हप्ताअघि अष्ट्रेलिया पुगेका थियौं । त्यहाँ रहेका नेपालीहरुले न्यानो स्वागत गर्नुभयो । म्याचका लागि स्टेडियममा पुग्दा त मलाई अष्ट्रेलियाको मैदान होइन जस्तो लाग्यो किनकी आधाभन्दा बढी नेपाली दर्शक थिए ।

नेपालको राष्ट्रिय झण्डा बोकेर आउनु भएका उहाँहरुले ५–० ले पछि गर्दा समेत समर्थन गर्न छाड्नुभएन । हाम्रा लागि त्यो अविस्मरणीय क्षण रह्यो । विदेशी भूमिमा यतिका नेपाली दर्शकको माया पाउनु ठूलो कुरा हो । त्यसले गर्दा दशैंकै बेला भए पनि हामीलाई घरमा नभएको अनुभव हुन पाएन ।

पछिल्लो खेल हामीले भुटानमा गएर खेल्यौं कुवेतसँग । यो हाम्रो हाम गेम थियो तर आफ्नो घरेलु मैदानमा खेल्न नपाउँदा थोरै दुःख पनि लागेको छ । त्यहाँ एकदमै जाडो पनि थियो । कुवेत गर्मी ठाउँमा भएकाले हामीलाई भन्दा उनीहरुलाई अलि गाह्रो भएको महसुस भयो । जे भए पनि फुटबल ९० मिनेटको गेम हो । हामीले पनि कुवेतमा गर्मीमा खेलेका थियौं । एउटा व्यावसायिक फुटबलर भएपछि जहाँ गएर पनि खेल्नुपर्छ हिउँ होस् कि पानी नै किन नहोस् ।

त्यो म्याचमा कुवेतले राम्रो खेल्न सकेन । त्यसैले हामीलाई ७–० को नतिजा उल्टाउने अवसर थियो । दुई तीनवटा अवसर पनि पाएको थियौं तर चुक्यौं ।

मनाङमा ९ वर्ष खेल्दाको अनुभव

सागलगत्तै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुँदैछ । मैले मनाङ मर्स्याङ्दी क्लबबाट खेलेको पनि ९ वर्ष भइसकेछ । यो वर्ष चाहिँ मनाङमा खेलिन्छ जस्तो छैन । तर अहिले कुन टिममा जाने पक्का भइसकेको छैन ।

मेरो क्लब फुटबलको करियर त संकटाबाट सुरु भएको हो । एन्फा एकेडेमीबाट निस्कनासाथ संकटाबाट खेलेँ । त्यहाँ खेल्दा मनाङबाट अफर आयो र त्यसलाई रिजेक्ट पनि सकिन । किनकी मनाङबाट खेल्ने मेरो सपना थियो । मनाङ मैले मन पराएको क्लब थियो, जहाँ बसन्त थापा, बसन्त गौचन दाइहरुको खेल हेरेँ । मनाङ आवद्ध भएपछि दायाँबायाँ हेर्नु पनि परेन । मनाङ जस्तो टिममा ९ वर्ष फस्ट टिममै खेल्छु होला भन्ने म आफैंले सोचेको थिएनँ । तर खेलेँ । क्लबमा सबैले माया दिनुभयो । त्यसमा आभारी छु । यस पटकचाहिँ आफ्नो मन र नयाँ चुनौतीका लागि अगाडि बढिरहेको छु ।

तर मनाङमा सन्तुष्ट नभएर छाड्न लागेको चाहिँ होइन । मनाङबाट खेल्दा एकदमै सन्तुष्ट थियौं । मनाङबाट खेल्दा सबैभन्दा खुशीको क्षण चाहिँ भुटानमा किंग्स कप जित्नु हो । नेपालको कुनै पनि टिमले थर्ड कन्ट्री (भारतबाहेक) मा गएर ट्रफी जितेको थिएन । त्यो नै मनाङले विदेशमा जितेको पहिलो ट्रफी र नेपाली क्लबले थर्ड कन्ट्रीमा जितेको पहिलो उपाधि थियो । त्यो एकदमै अविश्मरणीय क्षण हो, जसमा मनाङको कप्तानी मैले नै गरेको थिएँ । अहिले सम्झदा फेरि यो क्षण फर्कियोस् जस्तो लाग्छ, तर त्यसो नहुने रहेछ ।

पुराना साथी रोहित र विशाल मात्र

हाम्रो ब्याचमा एन्फा एकेडेमीमा खेल्ने धेरैले अहिले फुटबल छाडिसकेका छन् । रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ र म मात्र फुटबलमै सक्रिय छौं । हाम्रो ब्याचको निराजन मल्ल एकदमै राम्रो खेलाडी हुनुहुन्थ्यो । अहिले आफैं फुटबलबाट टाढिनु भएको छ, शिव श्रेष्ठ पनि । दिनेश थापा मगर भर्खरै विदेश जानुभयो । उनीहरुसँग कुराकानी चाहिँ हुन्छ र, फुटबलकै कुरा धेरै गर्छौं ।

राष्ट्रिय टिमको डेब्यू क्षण

राष्ट्रिय टिमबाट खेल्नु सबैको सपना हुन्छ । फुटबल खेल्न थालेपछि मेरो पनि सपना हुने नै भयो, जुन मैले २०११ मा पोखरामा भुटानविरुद्ध पूरा गरेँ । नेपालको प्रशिक्षक ग्राहम रोवर्ट्स हुनुहुन्थ्यो । उहाँले मेरो खेल मन पराउनु भएको थियो ।

नेपालका लागि पहिलो गोलका लागि भने विश्वकप छनोटमा टिमोर लेस्टविरुद्ध दशरथ रंगशालामा भएको खेलसम्म कुर्नु पर्‍यो । एउटा फुटबलरका लागि डेब्यु खेल र डेब्यु गोल एकदमै महत्वपूर्ण र यादगार हुने रहेछ । त्यसबेला मैले अपेक्षा गरेको थिएन कि म डेब्यू गर्छु र अर्को खेलमा डेब्यु गोल गर्छु भनेर ।

हाम्रो टार्गेट पनि स्वर्ण पदक जित्ने नै हो । र, भोलि गोल्ड जित्यो भने पनि भारत नआएर जितेको जस्तो भन्ने हुन्छ ।

त्यसपछि केरो करियरमा केही उतारचढाव आयो । आफ्नै प्रदर्शन राम्रो भइरहेको थिइन । त्यही कारण राष्ट्रिय टिममा परिन । आफ्नै कारणले गर्दा परिनभन्दा हुन्छ । त्यही बेला मलाई रिअलाइज भयो कि मिहिनेत गर्नुपर्ने रहेछ । मेहनत गरेँ, राष्ट्रिय टिममा पुनरागमन गर्न सफल भए र त अहिलेसम्म खेलिरहेको छु ।

यस बीचमा सोलिडारीटी कप पनि जित्यौं । फाइनलमा गोल गर्नु र सोलिडारिटी कप जित्नु लाइफ चेन्जिङ मोमेन्ट थियो । मकाउविरुद्ध गोल त मैले नै गरेको हो, तर त्यो जित सिंगो टिमको प्रदर्शनले सम्भव भएको थियो ।

हामीले खुसी साट्यो । त्योभन्दा खुशी होटल आएपछि पाएँ । साँच्चै भन्नुपर्दा त्यो जित र उपाधि यति ठूलो हो भन्ने मैले होटलमा आएपछि मात्र थाहा पाएँ । सबैले फोन म्यासेसमा बधाई दिइरहेका थिए । मैले मात्र होइन, नेपालमा मेरो परिवारका सदस्यहरुले पनि बधाइ पाइरहनुभएको रहेछ । जब ममीले फोन गरेर भन्नुभयो कि आज सबसे खुशी भएको दिन हो भनेर भन्नुभयो, मेरो खुसीको सीमा रहेन । हामी नेपाल आउँदा पनि भब्य स्वागत भयो ।

जब घर पुगेँ, ममीले अंगालो हालेर खुुसी साट्नुभयो । परिवारका सबै जना खुसी हुनुहुन्थ्यो । धनकुटामा सम्मान पाएँ । हुन त धनकुटाले मलाई जहिल्यै सम्मान दिइरहेको छ । सोलिडारिटी कप जितेपछि पनि धनकुटाले मलाई र किरण दाइलाई सम्मान गर्‍यो । किरण दाइ र मलाई जुन गाडीमा घुमाइयो, त्यही गाडीमा ममी र ड्याडी पनि हुनुहुन्थ्यो । त्यो क्षण मेरो जीवनकै विशेष क्षण थियो ।

यसरी शुरु भयो फुटबल करियर

मैले फुटबल जानेको बुवाबाटै हो । बुबा ब्राजिलको फ्यान, रोनाल्डो चलेको खेलाडी । तर १९९८ को विश्वकप फाइनलमा ब्राजिल हार्‍यो । त्यो खेल बुवाले राति १२/१ बजे उठाएर हेराउनु भएको थियो । र त्यहीबाट मलाई फुटबलमा रुची बढ्यो । स्कुल लेभलमा चाँही अलिअलि खेल्थेँ, तर फुटबलमै लाग्छु भन्ने थिएन । धनकुटाबाटै यू–१२ र यू–१४ टिममा खेले पनि । त्यसपछि जिल्लाबाट छनोट हुँदै २०६० को अन्तिमतिर एन्फा एकेडेमीमा आवद्ध भए ।

एन्फामा आवद्ध भएपछि मैले फुटबल खेल्न थालेको पनि डेढ दशक बितिसकेछ । मैले सोचेको पनि थिइनँ यति लामो समय खेल्छु भनेर ।

यू–१४, यू–१६ यू–१९ र यू–२२ गरी सबै उमेर समूहबाट खेले । नेपालको लागि पहिलो टुर्नामेन्ट २०६२ मा पाकिस्तानमा खेलेका थियौं । त्यतिर यू–१४ फेस्टिभल हुनुहुन्थ्यो, त्यसैमा निराजन मल्लको कप्तानीमा मैले खेलेको थिएँ ।

यू–१९ सम्म म फरवार्ड खेल्थें । मनाङमा अनुबन्ध हुँदा पनि फरवार्ड भएर नै गएको थिएँ । विजय दाइ लेफ्ट विंगबाट खेल्नुहुन्थ्यो, म फरवार्ड । त्यतिखेर बालगोपाल सर प्रशिक्षक हुनुहुन्थ्यो । विजय दाइ घाइते हुनुभयो । टिममा लेफ्ट विंगर भएन । त्यसपछि लेफ्टी भएर खेल्न थाले । त्यहाँबाट शुरु भयो मेरो विंगर पोजिसन ।

हुन त नेपालमा फुटबल भनेको खुट्टा हुन्जेलसम्म मात्र भनिन्छ । तर अझै चारपाँच वर्ष राम्रो फुटबल खेल्ने लक्ष्य छ । अहिले २८ वर्ष भएँ । ३२ वर्ष हुँदासम्म खेल्न सक्छु भन्ने विश्वास छ । त्यसपछि मैले के गर्ने सोचेको छैन ।

रोल मोडल हरि खड्का

मलाई विश्व फुटबलमा रोनाल्डो मन पर्छ । पहिल्यैदेखि ब्राजिलियन रोनाल्डो मन पर्थ्यो । पहिलेदेखि हेरेको भएर पनि होला । त्यो बेला अरु खेलाडी चिन्दिनँथे । त्यही बेलादेखि उहाँले खेलन्जेलसम्म उहालाई नै फलो गरिरहेँ ।

अहिले चाहिँ क्रिस्टियानो रोनाल्डो मनपर्छ । यसको अर्थ लिओनल मेस्सी मन पदैन भन्ने होइन । मेसी पनि मन पर्छ । तर रोनाल्डोले गरेको संघर्षबाट प्रेरित छु ।

नेपालमा मलाई हरि खड्का दाइ बच्चैदेखि मन पर्थ्यो । म स्कुलमा हुँदा धरानमा बुढासुब्बा गोल्डकप हुन्थ्यो । त्यतिबेला एकदमै ठूलो प्रतियोगिता थियो । म विजय स्कुल पढ्थेँ । स्कुल टिचरहरु समेत गेम हेर्न जाने भएकाले प्रायः छुट्टी हुने । स्कुलमा छुट्टी नभएको दिन क्लास बंक गरेर पनि फुटबल हेर्न जान्थे । तर टिकट काट्ने पैसा हुन्थेन । त्यसैले तारको मुनीबाट हेर्न जान्थ्यौं । त्यो बेला नेपाल पुलिस एकदमै बलियो टिम थियो र हरि खड्का चर्चित । त्यसैले हरि खड्का दाइलाई हेर्न मात्र पाए पनि के के न हुन्थ्यो ।

त्यसैले हरि दाइ नै मेरो आइडल हो ।

फेरि सागको कुरा

राष्ट्रिय टिम र आफ्नो कथा सुनाएँ । अब फेरि एक पटक सागको कुरा गरेर बिट मार्छु ।

साग फुटबलमा नेपाललाई जहिल्यै स्वर्ण पदकको दावेदारकाे रुपमा लिइन्छ र हो पनि । तर यो पटक अन्तिम समयमा आएर भारत सहभागी नहुने भन्ने जानकारी आएको छ ।

यसले नेपाललाई फाइदा र घाटा दुबै छ । फाइदा किनभन्दा भारत ठूलो टिम हो र उसले लगातार प्रगति गरिरहेको छ । त्यस्तो टिम नआउँदा फाइदा होला । तर घाटा पनि छ । किनकी हाम्रो टार्गेट पनि स्वर्ण पदक जित्ने नै हो । र, भोलि गोल्ड जित्यो भने पनि भारत नआएर जितेको जस्तो भन्ने हुन्छ ।

र, यो पटक सागमा पुरुष फुटबल टिमको कप्तानी गर्ने अवसर मैले पाएको छु । यो मेरो लागि गर्वको कुरा हो । मेरो गरेको मेहनतको फलजस्तो पनि लाग्छ । मसँग यसअघि कप्तानी गरेको अनुभव पनि छ । म्यानमारविरुद्ध सिनियर र यू–२३ टिमको नेतृत्व गरेँ । एउटा पोजिटिभ सोच त्यहाँबाट पाएको छु । त्यही म्याचहरुले गर्दा सागमा पनि सजिलो पनि हुन्छ जस्तो लागेको छ । म्यानमारविरुद्धको खेलका लागि किरण दाई हुनुहुन्नथ्यो । त्यही कारण मलाई अवसर आयो कप्तानको आर्मब्याण्ड लगाउने । आर्मब्याण्ड लगाएर नेपालको कप्तानी गर्नु मेरा लागि एकदमै खुशीको क्षण हो ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को ६४औं अंकमा यो हप्ता फुटबल खेलाडी सुजल श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment