Comments Add Comment

प्रधानमन्त्री ओली खतरामुक्त

१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’

चिकित्सकहरुकाअनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनुपर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ ।

हेर्नुहोस् भिडियो


उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘संक्रमण पेटभरी फैलिएको थियो । लक्किली ठीक समयमा सबै हेरियो र चाँडै (अप्रेसनको) निर्णय लियौं ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको समेत उनले बताए ।

यसैगरी डा. शाहले अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको बताइन् ।

उपयुक्त समयमा मिर्गौला पुनः प्रत्यारोपण

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा. सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ । उनको स्वास्थ्यलाई स्थिर अवस्थामा राख्न यसो गरिएको भन्दै उनले भनिन्, ‘अब स्टेबल भइसकेको छ । चाहिएको बेला मात्र गर्छौं ।’

उनकाअनुसार प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ । यसबारे अन्तिम निर्णय लिनुपूर्व छलफल भइरहेका बेला एपेन्डिसाइटिसको अपरेशन गर्नु परेको भन्दै उनले भनिन्, ‘नियमित डायलासिस गर्नुपर्ने भयो भने तुरुन्तै गरौंला । नभए अलि समय पछाडि होला ।’

डा. शाहका अनुसार एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जाने सम्भावना छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री हिँड्न खोजेपछि चिकित्सक हैरान, मोबाइल भेटेपछि धमाधम रिप्लाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment