Comments Add Comment

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको ‘इमर्जेन्सी’ अप्रेसन

१० मंसिर, काठमाडौं । मंगलबार सबेरै पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे ।

चिकित्सकहरुले परीक्षण गर्दा थाहा भयो, एपेन्डिसाइटिस भएको रहेछ । त्यो पनि फुटिसकेको रहेछ । त्यसैले तत्काल अप्रेसन भयो ।

डा. रमेश सिंह भण्डारीले १२ः ४५ बजे उनको अप्रेसन गरे । अप्रेसनपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएको छ । र, यो इमर्जेन्सी भेन्टिलेटर नभएर इलेक्टिभ भेन्टिलेटर मात्र हो ।

चिकित्सकहरुकाअनुसार इलेक्टिभ भेन्टिलेटरमा इमर्जेन्सी अवस्थामा राखिने नभएर इमर्जेन्सी अवस्था आउनुअघिको पूर्व तयारीका लागि राखिन्छ । शरीरका अंगहरुले राम्रो काम गरिरहेपनि कुनै बेला इमर्जेन्सी अवस्था आइलागे शरीरका अंगहरुलाई सहयोग पुगोस् भनेर इलेक्टिभ भेन्टिलेटर राखिन्छ ।

साथै जटिल अप्रेसनपछि इलेक्टिभ भेन्टिलेटरमा राख्दा संक्रमण कम हुने सम्भावना हुन्छ ।

इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भीर तर, स्थिर छ ।

के भएको हो प्रधानमन्त्रीलाई ?

अस्पतालले मंगलबार प्रधानमन्त्रीको स्वास्थ्यबारे दुई पटक प्रेस नोट जारी गरेको छ । जसमा एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि तत्काल ‘ल्याप्रोटोमी’ विधिबाट शल्यक्रिया गरिएको उल्लेख गरिएको छ ।

ग्यास्ट्रोइटेस्टाइनल  सर्जन प्रा. डा. कमल कोइरालाका अनुसार पेरिटोनाइटिस भनेको एपेण्डिसाइटिसको जटिल अवस्था हो ।

यसलाई रोगभन्दा पनि इमर्जेन्सी अवस्था भनेर बुझ्नुपर्छ । एपेण्डिस फुटेर पिप तथा अन्य विकार पदार्थहरु पेटभरि पुगेको अवस्थालाई पेरिटोनाइटिस भनिन्छ । अर्थात एपेण्डिसबाहिर तर पेटभित्र संक्रमण फैलिनुलाई पेरिटोनाइटिस भनिन्छ ।

यो सामान्यतया एपेण्डिसाइटिस भन्दा जटिल हो ।

एपेन्डिक्स, ठूलो आन्द्रा र सानो आद्रो जोडिएको ठाउँ नजिकैबाट निस्किएको हुन्छ । यो ७/८ सेमी जति लामो ट्युब आकारमा हुन्छ । त्यही एपेण्डिक्स सुन्निदा वा त्यसमा पिप जम्मा हुँदा अप्रेसन गर्नुपर्ने हुन्छ ।

तर अस्पतालले प्रधानमन्त्री ओलीको ‘ल्याप्रोटोमी’ विधिबाट शल्यक्रिया गरिएको भनेको छ ।

‘ल्याप्रोटोमी’ विधिबाट गरिने शल्यक्रिया जटिल अवस्थामा हुन्छ । एपेन्डिक्स फुटेर पिप तथा अन्य विकार पदार्थहरु पेटभित्र फैलिएर संक्रमण हुने भएकाले ल्याप्रोटोमी र ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिन्छ । प्रधानमन्त्रीको हकमा चिकित्सकहरूले ल्याप्रोटोमी रोजेका छन् ।

पेरिटोनाइटिस हुँदा रक्तचाप घट्ने तथा सास फेर्न गाह्रो हुने हुन सक्छ । पेटभित्र संक्रमण फैलिएर मिर्गौलाले काम नगर्न सक्छ । मुटु, कलेजो फोक्सोलगायतमा पनि असर देखिनसक्छ । शरीरभरि संक्रमण फैलिएर ‘मल्टी अर्गान’ फेल हुनसक्छ ।

तर प्रधानमन्त्री ओलीको अवस्था कस्तो हो चिकित्सकहरुले खुलाएका छैनन् । अस्पतालले मंगलबार जारी गरेको प्रेस नोटमा भने स्वास्थ्य स्थिर रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने स्वास्थ्य सुधार उन्मुख रहेको बताएका छन् ।

सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रधानमन्त्रीलाई विहान सबेरैदेखि पेट दुखिरहेको थियो । त्यसपछि परीक्षणका निम्ति अस्पताल ल्याउने काम भयो । विहान ९ बजे यहाँ आइपुग्नुभयो । विभिन्न परीक्षा गर्दा चिकित्सकहरु एपेन्डिसाइटिसको समस्या भएको निष्कर्षमा पुग्नुभयो र छिटो अप्रेसन गर्ने गरी तयारी अगाडि बढ्यो । १२ः४५ मा उहाँको सफल उपचार भयो । अहिले उहाँ सघन उपचार कक्षमा हुनुहुन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र स्थिर छ भन्ने चिकित्सकहरुको भनाइ छ । उहाँ केही दिन अस्पतालमै डाक्टरहरुको निगरानीमा रहनुहुन्छ । प्रधानमन्त्रीको यो आकस्मिक रुपमा देखा परेको समस्या हो । कुनै पुरानो स्वास्थ्य समस्या होइन । विगतमा रहेका स्वास्थ्य समस्याहरुसँग सम्वन्धित छैन । र, आधुनिक चिकित्सा विज्ञानको विकासमा एपेन्डिसाइटिस खास ठूलो समस्या पनि होइन ।

यसमा संक्रमण नहोस् भनेर अस्पताल र चिकित्सकहरुले राम्रो हेरविचार गरेका छन् । डा. रमेशसिंह भण्डारीले सल्यक्रिया गर्नु भएको हो । उहाँको उपचारमा डा. दिब्या सिंह साह, डा. अरुण सायमी, डा. दिलिप शर्मालगायत संलग्न हुनुहुन्छ । आवश्यक भयो भने विभिन्न विशेषज्ञहरु ल्याउन सकिन्छ तर अहिले यहीँको टिमले उपचार गरिरहेको छ ।

चिकित्सकहरुका अनुसार यस्तो अप्रेशन गरेको मानिसहरु पुरै ठीक हुन कम्तीमा १५ देखि २० दिन लाग्छ । तर, शारीरिक अवस्था कमजोर भएका मानिसहरुलाई अझ लामो समय लाग्न सक्छ । र, सामान्य अवस्थामा फर्किसकेपछि अन्य अप्रेसन अथवा प्रत्यारोपण गर्न भने गाह्रो नहुने चिकित्सकहरु बताउँछन् ।

भेन्टिलेटरको कुरा

प्रधानमन्त्रीको पछिल्लो समय मिर्गौलामा समस्या देखिएको छ । १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेको मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको छ । अहिलेसम्म चार पटक डायलासिस गरिएको छ र, नियमित डायलासिस गर्ने हो भने पुनः मिर्गौला प्रत्यारोपण गर्ने विकल्पबारे पनि उनको उपचारमा संलग्न चिकित्सकहरुले छलफल गरिरहेका छन् ।

त्यही बेला नयाँ समस्या थपियो, एपेन्डिसाइटिस ।

धेरै रोगसँग लडिरहेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता पनि कम छ । यस्तो बेला गरिएको कुनै पनि अप्रेसनमा संक्रमण हुनसक्ने जोखिम उच्च हुन्छ । त्यसैले प्रधानमन्त्रीलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको हो ।

शरीरका अंगहरुले राम्रो काम गरिरहे पनि कुनै बेला इमर्जेन्सी अवस्था आइलागे शरीरका अंगहरुलाई सहयोग पुगोस् भनेर इलेक्टिभ भेन्टिलेटर राखिन्छ । र, जटिल अप्रेसनपछि इलेक्टिभ भेन्टिलेटरमा राख्दा संक्रमण कम हुने सम्भावना हुन्छ ।

त्यसैले प्रधानमन्त्रीलाई पनि भेन्टिलेटरमा राखिएको हुुनसक्ने चिकित्सकहरु बताउँछन् । तर प्रधानमन्त्रीको सचिवालय र अस्पतालले भने भेल्टिलेटरमा राखिएको बताएको छैन र सघन उपचार कक्षमा उपचार भइरहेको मात्र भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment