Comments Add Comment

कास्कीमा अघिल्लो चुनावमा भन्दा कम मत खस्यो

कतै बम, कतै विवाद, बाक्सामा ६५ प्रतिशत मत

१४ मंसिर, पोखरा । कतै बम बिस्फोट कतै सामान्य विवादका बीच कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतदान सकिएको छ । यहाँ ४ ठाउँमा बस बिस्फोट र ३ ठाउँमा सामान्य विवादका बीच ६३.४८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपटक मतदाता संख्या बढी भए पनि करिब ४ हजार कमले मात्र मतदानमा सहभागिता जनाएका छन् ।

प्रतिनिधिसभाको उपनिर्वाचन भएको देशकै एक मात्र यो निर्वाचन क्षेत्रमा गत निर्वाचनमा भन्दा कम प्रतिशत मत खसेको छ ।

कास्की क्षेत्र नम्बर २ को यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको  मतदानमा ६३.४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । कुल ७१ हजार ८७१ मतदातामध्ये यसपटक ४५ हजार ६२१ मत मात्रै मत खसेको छ । यो भनेको गत चुनाव भन्दा करिब ४ हजार कम हो ।

उपचुनावमा खसेको मत

यसपटक बिहान ७ बजेदेखि नै निर्वाचन सुरु भए पनि बिहान सहभागीको संख्या उत्साहपूर्ण थिएन । दिन ढल्किँदै गएपछि मात्र मतदाता बढी सहभागी भएका थिए । दिउँसो १२ बजेसम्म जम्मा २५ प्रतिशत मात्र मत खसेको थियो । जब कि अघिल्लो निर्वाचनमा बिहान १० बजेभन्दा अघि नै यति मत खसिसकेको थियो ।

यो निर्वाचन क्षेत्रमा ११ वडा छन् । ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमध्ये अधिकांशमा शान्तिपूर्ण रुपमा मतदान भयो भने केहीमा बम बिस्फोट र केही विवाद भए । पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल, पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि, पोखरा–१६ शान्ति मावि जुम्लेटी मतदान स्थलमा नजिकै बम बिस्फोट भएको छ भने नयाँबजारको नवप्रभात मतदानस्थलभित्रै बिस्फोट भएको थियो ।

यो पनि पढ्नुहोस पोखराको मतदानस्थल नजिकै बम विस्फोट

पोखरा–१६ शान्ति मावि, पोखरा–३३ शान्ति यदय मावि र पोखरा नयाँबजारस्थित महेन्द्र मावि मतदानस्थलमा सामान्य विवाद भएको छ । शान्ति माविमा नेकपा र कांग्रेसबीच ढुंगा हानाहान नै भयो भने महेन्द्र माविमा पनि यिनै पार्टीबीच विवाद भएको थियो । पोखरा–३३ शान्ति उदय माविमा मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र भेटिएपछि केहीबेर मतदान नै रोकिएको थियो ।

०७४ सालको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए । गत निर्वाचनमा ६८ प्रतिशत अर्थात ४९ हजार ९१३ मत खसेको थियो । त्यसमध्ये १ हजार ४ सय ६४ मत बदर भएको थियो । ४८ हजार ४ सय ४९ मत सदर भएको थियो ।

विगतमा रविन्द्र अधिकारीले कांग्रेसभन्दा करिब ८ बजार मत बढी ल्याएका थिए । तर, यसपटक ४ हजार मतदाता मतदानमै सहभागी नभएका कारण नेकपा र कांग्रेसवीचको दुरी छोटिने प्रष्ट संकेत देेखिएको छ ।

५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका संकलन गरिएको छ । ८ बजे सर्वदलीय बैठक बसेर मतगणना थाल्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । यसपटक जसले जिते पनि मतान्तर कम हुने अनुमान गरिएको छ ।

यो निर्वाचनलाई मिनी जनमत संग्रहका रुपमा हेरिएको छ । सरकार सही बाटोमा हिँडेको छ भनेर प्रमाणित गर्न नेकपा जित्नैपर्ने दबावमा छ । प्रतिपक्ष सरकारको गलत बाटो र लोकप्रियता खस्किएको छ भनेर प्रमाणित गर्न चाहन्छ ।

सबै दल र उम्मेदवारको हैसियत जान्ने एक परीक्षाको रुपमा यो उपनिर्वाचनलाई हेरिएको छ ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट पौडेलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी छन् । यस्तै, विवेकशील नेपाली दलको समर्थनमा जमुना शर्मा स्वतन्त्र उम्मेदवारका रुपमा छन् । नेपाल कम्युनिस्ट पार्टी (माले) का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी) का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ प्रतिस्पर्धामा छन् ।

त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment