Comments Add Comment

यदि सेटिङमा वितरण गरिन्छ भने राज्यले दिने अवार्ड पनि लिन्न

अवार्डको पछाडि दौडने होइन, राम्रो काम गरियो भने अवार्ड आफ्नो पछाडि दौडन्छ

सांगीतिक कार्यक्रमको सिलसिलामा म विदेशमा थिएँ । कार्यक्रम सकिएपछि यसो विश्राम गर्ने तरखर गरिरहँदा नेपालबाट खबर आयो, ‘घरमा आगलागी भयो ।’

काठमाडौंको शान्तिनगरस्थित घरमा लागेको आगोले अवार्ड, सम्मानपत्र सबै खरानी बनाइदिएछ । सुनेर म भावशून्य भएँ ।

यतिका बर्ष सांगीतिक क्षेत्रमा लागेर प्राप्त गरेका उपलब्धीहरु थिए ति । सबै जलेर नष्ट भएको कुरा आफैमा दुःखलाग्दो थियो । तर, त्यसबेला राजेश हमालदेखि श्रोता/शुभचिन्तकहरुले मेरो दुःखमा जसरी साथ र सान्तवना दिए, त्यसले म पग्लिएँ । मलाई लाग्यो, अवार्ड त भौतिक कुरा हो मैले यत्तिका शुभचिन्तकको मन र माया पाएको रहेछु । उहाँहरुको यो हार्दिकता र प्रेमले पग्लिएपछि अवार्ड सबै भ्रम हो भन्ने सोचिरहेको थिएँ ।

अवार्ड जलेपछि मेरो घरको कोठा रित्तो थियो । ठिक यही बखत जापानमा हुन लागेको सूर्य इन्टरनेशनल अवार्डका लागि निम्ता आयो । म कार्यक्रमका लागि विदेशमै थिएँ । त्यसैले सुरुमा ‘नभ्याउने भएँ’ भन्दै पन्छिएँ । उनीहरुले जिद्दी गरेपछि नेपाल फर्किएँ र पुन जापानका लागि उडियो ।

त्यहाँ मलाई अवार्ड दिइयो । अवार्ड नै पाइएला भन्ने त थिएन तर सबै अवार्ड जलिसकेको अवस्थामा यो मेरो पहिलो अवार्ड थियो । शून्यबाट एक भए । गणितिय हिसाबमा राम्रो अंक मानिन्छ, एक ।

अवार्ड समारोहबाट फर्केर मैलें एउटा स्टासट राखें, ‘अब जुनसुकै संस्था, संगठनले दिने अवार्ड नलिने ।’  राष्ट्रिय अवार्ड, लाइफटाइम अचिभमेन्ट वा सम्मान र रोयल्टी भने लिनेछु । अवार्ड भने लिन्न भनेर घोषणा गरिदिएँ ।

यसमा धेरैले अनेकथरी टिकाटिप्पणी गरे । कसैलाई लाग्यो होला, राजेशपायलले जापानकै अवार्डलाई लक्षित गरेर दुखेसो पोखेका हुन् । जबकि मैले अवार्डप्रति वितृष्णा जागेर त्यो स्टाटस राखेको होइन ।

यसकारण अब अवार्ड लिनेछैन

हुन त अवार्डहरु विवादरहित छैन । यहाँ अवार्ड देखावटी मात्र पनि हुने गरेको सुनिन्छ । अवार्ड भनेको निस्पक्ष र मूल्यावान् हुनुपर्छ । कसैलाई अवार्ड दिइयो भने प्राप्त गर्ने व्यक्ति अवार्डका लायक हुनुपर्छ । साथसाथै अवार्ड प्राप्त गरेपछि कलाकारलाई उर्जा, उत्साह, उत्प्रेरणा मिल्नुपर्छ । तर, यहाँ अवार्डको मूल्य के त ? कुनैपनि अवार्ड पाएपछि त्यसलाई कसरी मापन गर्ने ? त्यसको उपलब्धी के ?

कति मैले मात्र अवार्ड लिइरहने । लामो समयदेखि अवार्ड पएको पाएकै छु । त्यो पनि एउटा विधामा होइन, लोक विधामा पनि, पाश्र्व गायनमा पनि । हरेक विधामा अवार्ड पाएँ, अनुभव पनि भइसक्यो । अब नयाँ कलाकारलाई पनि स्पेश दिनुपर्छ भन्ने सोंचले अवार्ड नलिने निर्णय गरेको हुँ ।

म कुनैपनि अवार्ड लिनुअघि त्यसको मूल्यांकन भने गर्छु । कति अवार्ड मैले नलिएको पनि छ । यदि चलचित्रको, संगीतको श्रीवृद्धिका लागि हो भने म अवार्ड थाप्छु ।

तर, कलाकारहरु अवार्डको पछाडि दौडनु हुँदैन । अवार्ड पाउने आशक्ति राख्नुभन्दा आफुले जुन विधामा जे काम गरिरहेको हो, त्यसमै बढी मेहनत गर्नुपर्छ । साधना गर्नुपर्छ । अवार्डको पछाडि दौडने होइन, यदि राम्रो काम गर्न सकियो भने अवार्ड आफ्नो पछाडि दौडन्छ ।

अवार्डले चुल्हो बल्दैन । हाम्रो पहिलो कर्म भनेको त घरको चुल्हो बाल्ने हो ।

अवार्डको अवमूल्यन

अवार्ड दिनु र लिनुको एउटै उदेश्य हो, कसैले गरेको कामको सम्मान गर्नु । उक्त कामलाई प्रोत्साहित गर्नु । तर, भित्री चलखेल गरेर अवार्ड दिन्छ भने त्यसले असली कलाकारको अवमूल्यन हुन जान्छ । यसरी खराब नियत राखेर अवार्ड गर्नुहुन्छ भने त्यो धन्दा बन्द गर्नुहोस् ।

मैले चाहिँ भोगेको छैन कि अवार्डमा कस्तो खेल हुन्छ भनेर । मैलें कहिलेपनि अवार्ड किनेको छैन । त्यसको अनुभव पनि छैन । यदि अवार्ड किनबेच हुन्छ भने त्यस्तो अवार्डले आफ्नो अपमान गर्छ । त्यस्ता अवार्डमा हामी कलाकार नगएकै राम्रो, नलिएकै राम्रो ।

यदि खराब नियतले अवार्ड वितरण गरिन्छ भने त्यसलाई हामी कलाकारले अस्विकार गर्नुपर्छ । यसरी कलाकार नै नगएपछि, सचेत भएपछि आयोजकहरु निरुत्साहित हुन्छन् । र, आफै पाखा लाग्छन् ।

विगतका अवार्ड

विगतमा यस्ता अवार्ड समारोह सीमित हुन्थे । औलामा गन्न सकिने अवार्ड थिए । जति थिए, मूल्यावान् थिए । मलाई ति सबै अवार्डको नाम नै थाहा छ । त्यसबेला अवार्ड प्राप्त गर्दा पनि छाती चौडा हुन्थ्यो । गर्व अनुभूत हुन्थ्यो ।

अहिले त्यस्तो अवस्था छैन ।

पहिले एउटै विधाको मनोनयमा परेका कलाकार पनि एकै लहरमा मिलेर बस्थ्यौं । हामीमध्ये जसले अवार्ड पाएपनि सम्मानित भएकै अनुभूत हुन्थ्यो । अहिले त को-को मनोनयनमा पर्छन् भन्ने कुरा पनि थाहा पत्तो हुन्न ।

हुन त मेरो व्यक्तिगत हिसाबले हेर्ने हो भने अहिले गरिने अवार्ड सामारोहले पनि ममाथि पक्षपात गरेजस्तो लाग्दैन । अहिले पनि म मनोनयनमा परिरहेकै हुन्छु । नयाँ पुस्तासँग म मनोनयनमा परिरहेको हुन्छ । यस अर्थमा म गर्व गर्छु कि, अहिले पनि मेरो सक्रियता उत्तिकै छ । घटेको छैन ।

मैले अवार्ड लिनका लागि कुनै अतिरिक्त बल लगाउनु परेन । स्वतस्फूर्त मलाई अवार्डको लागि मनोनयनमा पारियो । म आयोजकसँग त्यती घुलमिल पनि भएको छैन । अर्को महत्वपूर्ण कुरा चाहि के पनि भने, मलाई अवार्डको पछि लाग्नु छैन । अवार्ड भन्दा मूख्य कुरा संगीत हो । म त संगीतको साधक हुँ । अवार्ड भन्दा माथि संगीत हुनुपर्छ भन्ने लाग्छ ।

विदेशमा नै किन अवार्ड

अहिले विदेशमा पनि अवार्ड सामारोह आयोजना गरिन्छ । विदेशमा अवार्ड गर्नुको अर्थ अवार्ड सामारोहलाई भव्य बनाउन र विदेशसम्म फैलाउनका लागि हो । साथै यो सांस्कृतिक आदनप्रदानका लागि पनि हो ।

यद्यपि अहिलेसम्म विदेशमा गरिएका अवार्डहरु त्यती सफल भएजस्तो लाग्दैन । हामी चुकिरहेका छौं । जहाँ अवार्ड गरिन्छ, त्यहाँका व्यक्तिहरु पनि हामीले समेट्न सक्नुपर्छ ।

राष्ट्रिय अवार्डको कुरा

अब मैले उद्घोष गरिसकेको छु कि, कुनै संघ-संघठनले गर्ने अवार्ड लिनेछैन । राष्ट्रिय अवार्ड भने लिनेछु । राज्यले नै दिने, राज्यप्रमूखको हातबाट दिइने अवार्ड आफैमा सम्मानित र विशिष्ठ हुन्छ । भारतमा हेर्नुहोस् पद्यश्री अवार्ड कति सम्मानित छ ।

तर, राज्यले दिने अवार्ड पनि राजनीतिक सेटिङ वा अन्य कुनै किसिमको मिलोमतोमा हुन्छ भने त्यस्तो अवार्ड राजेश पायल राइलाई चाहिँदैन । निष्पक्ष ढंगले मेरो कामको मूल्यांकन गरेर नै यदि अवार्ड दिइन्छ भने हार्दिकतापूर्वक लिइन्छ । त्यस्ता अवार्डको छुटै गरिमा र महिमा पनि हुन्छ ।

प्रस्तुती :  दिप्सन लुईटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment