९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।
निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरुले पनि पहलकदमी लिनुपर्ने रास्वपाको ठहर रहेको उनको भनाइ छ ।
पराजुलीले न्याय, सुशासन र भ्रष्टाचार बिरुद्धको गतिविधिका लागि सरकारलाई पूर्ण रुपमा समर्थन गर्ने बताए ।
सरकारको म्याण्डेड निर्वाचन भएकाले सवै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वान समेत गर्ने निर्णय गरेको पराजुलीले बताए ।
त्यस्तै तल्लो तहको अधिवेशन, उम्मेदवार चयनका लागि मापदण्ड बनाउने, पार्टीको विस्तारित भेला लगाएतका बिषयमा बैठकमा छलफल भएको उनले बताए ।
रास्वपा सचिवालय बैठक मंगलबार पुन बस्ने नेता पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया 4