Comments Add Comment

उपनिर्वाचनमा साझा पार्टीको कुल भोट १७१४

१६ मंसिर, काठमाडौं । उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रुपमा व्याख्या गरेको साझा पार्टीले उपनिर्वाचनमा कुल एक हजार ७१४ मत प्राप्त गरेको छ । उसले प्रतिनिसभा सदस्य, दुई प्रदेशसभा सदस्य र एक नगर प्रमुखमा उम्मेदवारी दिएको थियो ।

कास्की–२ बाट विजयको विगुल फुक्ने घोषणा गरेकी साझा पार्टीकी रजनी केसीले सदर ४४ हजार ९४६ मध्ये ९४२ मत प्राप्त गरिन् । सदर मतको दुई प्रतिशत ल्याएको साझा कास्की–२ मा पाँचौं स्थानमा रह्यो ।

तीन वटा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भए पनि साझा दुई स्थानमा मात्रै उम्मेदवार उठायो । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यमा साझाका सुरज प्रधान ३९३ मत प्राप्त गरे । ३१ हजार ५९२ मत सदर भएको यो क्षेत्रमा पनि साझा पाँचौ स्थानमै सीमित भयो ।

दाङ–३ (ख) प्रदेशसभा सदस्य उपनिर्वाचनमा ४४ हजार ५०४ मत सदर भयो । त्यसमध्ये २६६ मत साझाका शिवकुमार चौधरीले पाए । सदर मतको एक प्रतिशत ल्याउन नसके पनि साझा यो क्षेत्रमा तेस्रो स्थानमा आयो ।

धरान उपमहानगरपालिकामा साझा पार्टी आठौं स्थानमा रह्यो । ५३ हजार ७०५ मत सदर भएको उपमहानगरमा साझाका राजनकुमार श्रेष्ठले ११३ भोट पाए ।

चारै उम्मेदवारको भोट हेरेलगत्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यो उपनिर्वाचनले भ्रष्टाचार, असक्षमता, काण्डैकाण्ड र देश दोहनलाई अनुमोदन गरेको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुहोस उपनिर्वाचन परिणामले भ्रष्टाचारलाई अनुमोदन गर्‍यो : रवीन्द्र मिश्र

साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले भने अझ सशक्त मिहिनेतका साथ अघि बढ्ने प्रण गरेका छन् । विज्ञप्ति जारी गर्र्दै उनले भनेका छन्, ‘मत नबदले पनि मन बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठूलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको महसुस गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment