Comments Add Comment

राष्ट्रिय जनमोर्चाको कालापानी बचाऊ अभियान डोटीमा

१६ मंसिर, डोटी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘कालापानी बचाऊ अभियान’ आइतबार डोटी आइपुगेको छ ।

राष्ट्रिय जनमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटिले मंसिर ११ गते कैलालीको धनगढीबाट सुरु गरेको अभियान डडेल्धुरा, बैतडी, दार्चुला हुँदै डोटी पुगेको हो । मोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश ईचार्ज मनोज भट्टले नेतृत्व गरेको अभियान अन्तरगत कैलालीको अत्तरिया, डडेल्धुरा, बैतडीको खोड्पे, पाटन, गोठालापानी र सतबाँझ, दार्चुलाको गोकुले र खलङ्गामा सभाहरु गर्दै डोटी पुगेको मोर्चाका प्रदेश कमिटि कोषाध्यक्ष केशवनाथ योगीले जानकारी दिए ।

आइतबार डडेल्धुराबाट आएको मोटरसाइकल ¥याली पिपल्ला बजारमा सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य भट्टले सरकारले सीमा सुरक्षाका सवालमा लापरवाही गरेको आरोप लगाए । उनले भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक समावेश भएको सार्वजनिक हुँदाहुँदै सरकारले भारतसंग ठोस् वार्ता नगरेको आरोप लगाए ।

‘प्रधानमन्त्री केपी ओलीले बोलेको उपचुनावलाई लक्षित गरेर मात्रै हो, सीमा बचाउनका लागि होइन’ भट्टले भने ‘वर्तमान सरकार सीमा सुरक्षाको विषयमा गम्भीर छैन ।’ प्रधानमन्त्री आफू बिरामी भएर उपचारमा बढी समय बिताउनुपरेको आफूहरुलाई पनि थाहा भएको भन्दै भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले भने ‘प्रधानमन्त्री त बिरामी हुनुहुन्छ तर पुरै सरकार र राज्यका संयन्त्रहरु त बिरामी छैनन् नि ! परराष्ट्रमन्त्री, कुटनीतिक नियोग, भारतका लागि नेपाली राजदूत, सरकारका अन्य मन्त्रीहरुले किन यो बिषयमा पहल गरिरहेका छैनन् भन्ने हाम्रो प्रश्न हो ।’ उनले सरकार भारतसंग वार्ता गर्न डराएको समेत आरोप लगाए ।

केन्द्रीय सदस्य लालवहादुर जाग्री, सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टलगायतको टोलीसहित डोटी पुगेका भट्टले सरकारलाई दवाव दिनका लागि आफुहरुले सीमा बचाउ अभियान थालेको वताए ।

अभियान अन्तरगत सोमबार डोटीको बुडर र कञ्चनपुरको गुलरियामा सभा गर्ने कार्यक्रम रहेको छ । अभियानको राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री चित्रबहादुर केसीले मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा समापन गर्ने केशवनाथ योगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment