
१६ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताएका छन् ।
‘समायोजनमा कहीँ न कहीँ त्रुटि भएका रहेछन । तिनलाई सच्याउनुपर्ने हुन्छ, सच्याउछौं’ सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री त्रिपाठीले भने ।
समाजोजनमा त्रुटि भएको भन्दै स्थानीय तहका लेखा अधिकृत, स्वास्थ्य सेवा र अन्य केही सेवा समुहका कर्मचारीहरुले असन्तुष्टी जनाइरहेका बेला मन्त्री त्रिपाठीले समायोजनमा केही त्रुटि भएको बताएका हुन् ।
समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक विचाराधीन छ । मन्त्री भएपछि मन्त्री त्रिपाठी समितिको बैठकमा पहिलो पटक सहभागी भएका हुन् ।
मन्त्री त्रिपाठीले विधेयकका सम्बन्धमा समितिले यसअघि जुटाएका सहमतिका सन्दर्भमा संसदको सर्वोच्चताको ख्याल गर्दै स्वीकार गर्ने बताए ।
तर, निजामति कर्मचारीको अवकाशको उमेर हद कहिले ५८, कहिले ६० बनाइएको भन्दै उनले उमेरहद तलमाथि गरिरहँदा कार्यान्वयनमा पर्न सक्ने अप्ठेरो ख्याल गर्नुपर्ने धारणा राखे ।
समितिले निजामति कर्मचरीको उमेरहद ६० बर्ष बनाउने गरी विधेयकमा सहमति जुटाइसकेको छ । समितिको यो निर्णय ठीक वा बेठीक के हो भन्नेमा उनले आफ्नो राय राखेनन् । मन्त्री त्रिपाठीले भने, ‘उमेर हद कहिले ५८ कहिले ६० बनाउँदा कार्यान्वयन हुन अप्ठेरो हुन्छ कि भनेर सोच्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया 4