
१६ मंसिर, गोरखा । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा निर्धारण भएको छ । अन्य क्षेत्रको मुआब्जा निर्धारण भएको तीन बर्षपछि बजार क्षेत्रको मुआब्जा आइतबार राति निर्धारण गरिएको हो । राति अबेरसम्म बसेको जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको बैठकले निर्धारण गरेको हो ।
डुवानमा पर्ने गोरखाको आरुघाट क्षेत्रको जग्गालाई १० र आर्खेतको जग्गालाई २ समूहमा बर्गीकरण गरेर प्रतिआना ५० हजार देखि ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइका संयोजक कृष्णबहादुर कार्कीले जानकारी दिए ।
आरुघाटतर्फ मुख्य सडकको पुरानो बजार पस्ने मोटरबाटोदेखि प्रहरी चौकी हुदै बुढीगण्डकी पक्की पुल जाने चोकसम्मको दायाँवायाँ घडेरी तथा जग्गाको मुआब्जा प्रति आना ७ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अकला चोकदेखि १४० मिटर उत्तर जाने सडकको दायाँवायाँको घडेरीले पनि प्रति आना ७ लाख रुपैयाँ मुआब्जा रकम पाउने भएको छ ।
बुढीगण्डकी पक्की पुल जाने चोकदेखि पुलचोक, हाकिमचोक, क्याम्पसचोक हुदै अस्पताल चोक र बुढीगण्डकी पुल जाने चोकदेखि बुढीगण्डकी पक्की पुलसम्मको मुख्य सडकका दायाँवायाँ घडेरी र जग्गाको प्रति आना ६ लाख ५० हजार रकम निर्धारण गरिएको छ ।
मध्य पहाडी लोकमार्गको पक्की पुल (स्तुल खोलाको पुल) देखि भन्ज्याङ हुदै प्रहरी चौकी सम्मको दायाँवायाँका घडेरीको मुआब्जा प्रति आना ६ लाख रुपैयाँ तोकिएको छ । फिल्महल देखि विद्युत चोकसम्मका दायाँवायाँका घडेरी र जग्गाले प्रति आना ६ लाख रुपैयाँ पाउने भएका छन् ।
अस्पताल चोकदेखि चापपानी खोलासम्म मुख्य सडकको दायाँवायाँका घडेरी र जग्गाको प्रति आना ३ लाख रकम तोकिएको छ । विद्युत चोकको पछाडिपट्टीको टोलदेखि कार्की चोकसम्मको मोटर जाने सडकका दायाँवायाँका घडेरी र जग्गाको प्रति आना ५ लाख ५० हजार रुपैयाँ तोकिएको इकाइले जनाएको छ ।
अकला अन्नपूर्ण चोकको १४० मिटर उत्तरको विन्दुबाट बुढीगण्डकी पक्की पुलजाने बाटो सम्मको सडक र हस्पिटलचोक बाट बुढीगण्डकी पक्की पुलतर्फ आउने खोला किनार छेउको बाटोको दायाँवायाँको घडेरी तथा जग्गाहरुको प्रति आना ४ लाख ५० हजार निर्धारण भएको छ ।
अन्य शाखा बाटोको दायाँ बायाँको घडेरी तथा जग्गाहरुले प्रति आना ४ लाख रुपैयाँ पाउने छन् । कित्ता नापी नक्सामा गोरेटो बाटो भएको गोरेटो बाटोको दायाँ वायाँका जग्गाहरुले भने प्रति आना २ लाख पाउने भएका छन् । आरुघाट बजारको मुख्य सडकको ६० फिट पछिका थप ६० फिटपछि रहेका घडेरी तथा जग्गाहरुको प्रति आना २ लाख ५० हजार र त्योबाहेकका ६० फिटपछिका जग्गाहरुको प्रति आना ५० हजार रुपैयाँ तोकिएको इकाइले जनाएको छ ।
त्यस्तै आर्खेत बजारमा मोटरवाटो दायावायाका घडेरी र घर भएका जग्गाहरुको प्रति आना १ लाख २० हजार मुआब्जा निर्धारण गरिएको छ । आर्खेत बजार क्षेत्रका अन्य डुवानमा पर्ने जग्गाहरुले प्रति आना ५० हजार रुपैयाँ पाउने बताइएको छ ।
सम्पूर्ण घर जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहिँ कतै घरजग्गा नभएका विस्थापितहरु, २.५ आना सम्म जग्गा हुने र २.५ आना देखि ५ आनासम्म मात्र जग्गा हुने परिवारले मुआब्जामा क्रमश १५ र १० प्रतिशत थप गरी मुआब्जा रकम वितरण गर्ने निर्णय मुआब्जा निर्धारण समितिले गरको छ ।
बुढीगण्डकी आयोजनाबाट डुवानमा पर्ने गोरखा र धादिङका अन्य जग्गाहरुको तीन वर्षअघि नै मुआब्जा निर्धारण भई अहिलेसम्म वितरण पनि भइसकेको छ । बजार क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरेको मुआब्जा निर्धारण गर्न बाँकी थियो ।
आरुघाटवासी आन्दोलित
निर्धारण गरिएको मुआब्जा रकम प्रति असन्तुष्टी जनाउदै आरुघाटवासी आन्दोलनमा उत्रिएका छन् । आरुघाट बजारसमेत बन्द गरेका उनीहरुले चोकमा टायर बालेका छन् । मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको बुढीगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए ।
‘आनाको ५ लाख देखि २५ लाखसम्म हुनुपर्छ भनेका थियौ, त्यसमा बसेर केही छलफल गरी घटाउन सकिन्थ्यो तर समन्वय नगरी मनपरी मुआब्जा निर्धारण गरे, त्यसमा हाम्रो असन्तुष्टी छ, त्यसैले हामी आजैदेखि आन्दोलनमा उत्रिएका हौ,’ उनले भने ।
सि.न. | बजार क्षेत्रको विवरण | रकम (प्रति आना) रु. |
१क. | मुख्य बजार (क) मुख्य सडकको पुरानो बजार पस्ने मोटर बाटो देखि प्रहरीचौकी हुँदै बुढीगण्डकीको पक्की पुल जाने चोक सम्म दायाँ बायाँका घडेरीसाथै अकला चोकदेखि १४० मिटर उत्तर जाने सडकको दायाँ बायाँका घडेरी जग्गाको
|
रु.७,००,००० (सात लाख) |
१ख. | मुख्य बजार (ख) बुढीगण्डकीको पक्कीपुल जाने चोक देखि पुलचोक, हाकिम चोक, क्याम्पस चोक हुँदै अस्पताल चोक र बुढीगण्डकी पुल जाने चोक देखि बुढीगण्डकीको पक्कीपुलसम्मको मुख्य सडकका दायाँबायाँ घडेरी जग्गा
|
रु.६,५०,००० (छ लाख पचास हजार) |
१ग. | मुख्य बजार (ग) मध्य पहाडी लोक मार्गको पक्की पुल (स्थुल खोलाको पुल) देखि भन्ज्याङ हुदै प्रहरी चौकी सम्मका दायाँ वायाँका घडेरी र फिल्महल देखि विद्युतचोक सम्मका दायाँ बायाँका घडेरी जग्गा । | रु.६,००,००० (छ लाख ) |
१ घ.
|
मुख्य सडक (घ) अस्पतालचोक देखि चापपानी खोला सम्म मुख्य सडकका दायाँ बायाँ
|
रु.३,००,००० (तिन लाख) |
२ क. | शाखा सडक (क) विद्युत चोकको पछाडी पट्टिको टोल देखि कार्की चोक सम्मको मोटर जाने सडकका दायाँ बायाँका घडेरी जग्गा
|
रु.५,५०,००० (पाँच लाख पचास हजार) |
२ ख. | शाखा सडक (ख) अकला अन्नपूर्ण चोकको १४० मिटर उत्तरको विन्दुवाट बुढीगण्डकी पक्की पुल जाने वाटोसम्मको सडकको दायाँ बायाँ र हस्पिटल चोकबाट वुढिगण्डकी पक्कीपुल तर्फ आउने खोला किनार छेउको बाटोको दाँयाँ बाँयाँको घडेरी तथा जग्गाहरु ।
|
रु.४,५०,००० (चार लाख पचास हजार) |
२ग. | अन्य शाखा बाटोको दाँयाँ बाँयाँका घडेरी तथा जग्गाहरु
|
रु.४,००,००० (चार लाख) |
३ क. | कित्ता नापि नक्सामा गोरेटो वाटो भएको गोरेटो बाटोको दायाँ बायाँका जग्गा हरु | रु.२,००,००० (दुई लाख) |
४ क. | माथि उल्लेखित मुख्य सडक १क र १ख का सडकबाट ६० फिट पछिका थप ६० फिट पछिका घडेरी जग्गाहरु | रु.२,५०,००० (दुई लाख पचास हजार) |
४ ख. | ४ क मा उल्लेखित भन्दा वाहेक अन्य सवै ६० फिट पछिका जग्गाहरु | रु.५०,००० (पचास हजार) |
ख .साविक थुमी गा.वि.स. (आर्खेत बजार) गोरखा
सि.न. | बजार क्षेत्रको विवरण | रकम (प्रति आना) रु. |
५ क. | मोटर बाटोको दायाँ बायाँ ६० फिट लम्बाई (पिछाड) भएका घडेरी र घर भएका जग्गाहरुको | रु.१,२०,००० (एक लाख विस हजार) |
५ ख. | माथी उल्लेखित वाहेकका अन्य आर्खेत बजार क्षेत्रका डुवानमा पर्ने जग्गाहरु | रु.५०,००० (पचास हजार) |
प्रतिक्रिया 4