Comments Add Comment

कथा : मानवता हराएको गाउँ

जिल्लाबाट फर्केको करिब एक हप्तापछि मैले मोबाइलको ग्यालरी खोलें । त्यहा केही महत्वपूर्ण फोटो सेभ गरेर राखेको थिएँ । चित्र मैले पाल्पा फिल्ड भिजिटमा जाँदा खिचेको थिएँ ।

म झसङ्ग झस्कें । चित्र आफैंमा बोलिरहेको थियो । चित्रले हराएको मानवताबारे बोलिरहेको थियो ।

मेडिसिन कम्पनीका तर्फबाट फिल्ड भिजिट गर्ने अवसर प्राप्त भएको थियो तीन जिल्लामा । दुइ जिल्लामा काम सकिइसकेको थियो ।अब एउटा जिल्ला मात्र बाँकी थियो भिजिटका लागि हामी ६ जना साथीहरु समूह छुट्याएर हिँड्यौं ।

बाटोमा हुमिन भन्ने ठाउँ छ । हामीले एक हप्ताका लागि हुमिनको होटेलमा बस्ने निर्णय गरेका थियौं, जसकारण त्यहा वरिपरिको ठाउँ घुम्न सजिलो हुन्थ्यो ।

हुमिनबाट करिब पाँच किलोमिटर भित्र छिरेपछि एउटा गाउँ आउँछ । त्यस दिन मलाई उक्त ठाउँमा जानु थियो । मेरा साथमा अर्का एक साथी थिए । पानी परेकाले ग्राभिल पनि नगरेको बाटोमा सवारी साधनहरु चल्दैनथे । हिँडेर जानुपर्ने बाध्यता थियो ।

गाउँमा पुग्न करिब बीस मिनेट समय लाग्थ्यो ।

‘दाइ कता जान लाग्नुभएको, गाउँमा हो ?’

हामी आफ्नै सुरमा हिँडिरहेका थियौं, करिब १२/१३ बर्षको जस्तो देखिने एउटा भाइले सोधे ।

‘हो । किन सोध्यौ ?’

‘त्यो गाउँमा आज झैझगडा भएको छ ।’

उनले यत्ति मात्र बोले, बाँकी अरु पनि केही बोल्न लागेजस्तो देखिन्थ्यो । तर वीचै रोकिए ।

‘किन के भएको रैछ, केही थाहा छ तिमीलाई ?’

‘गाउँमा बोक्सी आयो रे । अस्ति माइली भाउजूलाई टोक्यो । त्यही भएर आज सबै गाउँलेहरु बोक्सी पत्ता लगाउन, बोक्सी खोज्न भेला भएका छन् ।’

उसले सास नरोकिकन यति भन्यो ।

म अन्धविश्वास नमान्ने मान्छे । उसँग बाँकी कुरा गर्न चाहिनँ ।

मेरो मुख्य काम फिल्ड भिजिट गर्नु थियो । उसको भनाइले आज फिल्ड भिजिट गर्ने मौका मिल्लाजस्तो लागेको थिएन ।

बीस मिनेट हिँडिसकेपछि हामी त्यो गाउँमा पुग्याैं ।

बाटोमा हिँड्दा देखिएका मान्छेहरु सबै बोक्सीकै बारेमा बोलिरहेका जस्ता देखिन्थे ।

कोही चिच्याइरहेको, कोही रोइरहेको आवाज सुनिन्थ्यो ।

हामी ठ्याक्कै त्यस घटना भएको ठाउँमा पुग्यौं । नयाँ मान्छे भएर होला, धेरैले हामीतर्फ नै हेरिरहेका थिए । कसैले केही भन्ला कि भन्ने कुराको संकोच नमानी हामी त्यहाँ पुगेका थियौं ।

करिब १९/२० वर्षकी एउटी महिलालाई मानिसहरु मिलेर लत्याइरहेका थिए । कसैको मुखबाट चरम यातना दिनुपर्छ, कसैको मुखबाट गाउँ निकाल्नुपर्छ भन्ने सन्देश त कसैको मुखबाट मार्न पर्छ भन्नेसम्मका वाक्य निस्किराखेका थिए ।

‘बोक्सी पत्ता लाग्यो भने त्यसलाई मार्ने रे ।’ अघि बाटोमा भेटिएको किशोरको भनाइ याद आयो । मनमनै सोचंे, अब साच्चिकै मार्छन् कि क्या हो ?

त्यहाँका एकजनासँग उक्त घटनाका बारेमा जानकारी लिएँ । उक्त ब्यक्तिले भने अनुसार ती दलित समुदायकी महिला रहिछन् । एक छोरीकी आमा । श्रीमान ६ महिनाअघि बस दुर्घटनामा परेर परलोक गएका रहेछन् ।

मलाई त्यहाँका मानिसहरुको हराएको मानवता देखेर घृणा लागेर आयो । त्यहाँ घटनाको बिरुद्धमा बोल्न जोखिम थियो । मलाई त्यहाँको परिवेश नयाँ थियो, कसैलाई चिनेको थिएन ।

एउटी निर्दोष महिलामाथि बोक्सीको आरोप लगाएर त्यसरी यातना दिँदा त्यहाँको समाज टुलुटुलु हेरेर बसेको मलाई मन परेको थिएन ।

एकजना अलि शिक्षितजस्तो देखिने व्यक्तिलाई त्यो यातना दिने कार्य रोक्नबारे प्रस्ताव गर्न लगाएँ ।

‘यस्तै हो, ठूलाबडाले भनेपछि जे पनि हुन्छ यहाँ । अहिले मात्र होइन, पहिले पनि यस्ता धेरै घटना भइसकेका छन्, एक-दुई जनाले बोलेर केही हुनेवाला छैन ।’

उनले भने ।

पीडित अझै रोएको आवाज सुनिन्थ्यो । अलि पर बारीमा लगेर उनको टाउको माथि दिसापिसाब बर्साउने काम भइराखेको थियो । मैले फोटो खिच्न खोजिरहेको थिएँ । एउटा धमिलो फोटो क्लिक भयो । अरु फोटो लिने अवसर मिलेन ।

बालबालिकादेखि वृद्धसम्म कोही यातना दिने काममा तल्लीन थिए भने कोही टुलुटुलु रमिता हेर्न त कोही पीडितका विरुद्धमा आवाज निकाल्न व्यस्त थिए ।

म त्यो दृश्य धेरै हेर्न सकिनँ । आफू एक विद्यार्थीको हैसियतले पनि केही सहयोग पीडितका लागि गर्नुपर्छ भन्ने लाग्यो ।

मैले दुई-तीनजना मान्छेको सहयोग लिएर गोप्यरुपमा प्रहरी बोलाउने निर्णय गरें । केहीबेरपछि प्रहरी आए । उक्त केसको जिम्मा प्रहरीलाई लगाइयो । त्यसपछि हामी त्यहाँबाट फर्कियाैं ।

(यसमा प्रस्तुत पात्र र घटना काल्पनिक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment