Comments Add Comment

भाषालयमा कखरा सिक्दै लन्चेस्टनका नेपाली बालबालिका

लन्चेस्टन । केही वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनमा बस्दै आएका एक नेपाली दम्पत्तिलाई आफ्नो सन्तान र उनको हजुरबुवा हजुरआमाबीचको दुरी बढ्ने हो कि भन्ने डर लागिरहन्थ्यो ।

नलागोस पनि किन, सँगै एउटै घरमा बस्दा पनि हजुरबुवा हजुरआमा र नातिनी एक अर्कासँग बोल्न नपरे हुन्थ्यो भनेर तर्किएर हिड्ने गर्दथे । यो सबैको पछाडि मुख्य कारण थियो भाषा ।

६५ वर्षीय हजुरबुवा अंग्रेजी बोल्न नसक्ने अनि ७ वर्षीय नातिनी नेपालीमा संवाद गर्न । यी दुई पुस्ताको ‘कम्युनिकेशन ग्याप’ यति बढ्दै गयो कि घरभित्रका सदस्यहरु पनि अपरिचित जस्ता हुन थाले ।

यो समस्या लन्चेस्टनको कुनै एक दम्पत्तिको मात्र होइन, सायद संसारभर छरिएर बसेका नेपाली दम्पत्तिहरुको समस्या हो ।

लन्चेस्टनमा नेपाली भाषा साक्षरता अभियानको सुरुवातमाथि उल्लेखित समस्यालाई लन्चेस्टनमा बस्ने दुई, तीन जना सामाजिक अगुवाहरुले नजिकैसँग नियालेका थिए ।

यो समस्या चाँडै समाधान भएन भने यसले भविष्यमा ठूलै विकराल रुप लिने डर थियो, अनि भयो नेपाली भाषा साक्षरता अभियानको परिकल्पना ।

लन्चेस्टनमा बस्ने नेपाली बालबालिकाहरुमा नेपाली भाषाको अज्ञानताका कारण जटिल बन्दै गएको ‘कम्युनिकेशन ग्याप’लाई कम गर्न सन् २०१८ डिसेम्बरमा ओमकुमार मगर, सन्तोष अधिकारी, नवराज मुडवरी लगायत केही सामाजिक अगुवाहरुले नेपाली भाषा साक्षरता अभियानको स्थापना गरे ।

उनीहरुको एउटै लक्ष्य थियो, लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई नेपाली अक्षर र अंक चिनाउने र मातृभाषामै सामान्य संवाद गराउन सक्ने । ‘हाम्रा बच्चाहरुलाई मातृभाषाप्रतिको झुकाव कम गर्न दिनु हुन्न भन्ने बारेमा सोच्यौं,’ अभियानकर्ता सन्तोष अधिकारी सम्झन्छन्, ‘कमसेकम भाषाको कारणले हजुरबुवा हजुरआमा र नातिनातिनाबीच दुरी नबढोस ।’

त्यति मात्र होइन, बच्चाहरु मोबाइल जस्ता ‘ग्याजेट’मा बढी आकर्षित हुँदै गएको र सामाजिकीकरण कम भएकोमा पनि यो अभियानले बालबालिकाहरुलाई सामाजिक गराउने उनीहरु विश्वस्त छन् ।

नेपाली भाषालयको नामाकरण नेपाली बच्चाहरुलाई नेपाली अक्षर र अंक मात्र चिनाउने लक्ष्य राखेर सुरु भएको साक्षरता अभियान सन् २०१९ जुनबाट नेपाली भाषालयको रुपमा नामाकरण भयो ।

लन्चेस्टनमा बसोबास गर्ने नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन ताज्मानिया अन्तर्गत सुरु भएको यो भाषालयमा करिब ३० जना नेपाली बालबालिकाहरु दर्ता भएका छन् ।

उक्त भाषालयमा हरेक शनिबार न्यूनतम दुई घण्टा नेपाली स्कुलहरुमा जस्तै अध्यापन गराइने अभियानकर्ता एवम् शिक्षक ओमकुमार मगरले जानकारी दिए ।

उनका अनुसार उक्त भाषालयमा बालबालिकाहरुलाई विभिन्न उपकरणहरु र पुस्तकहरु प्रयोग गरेर नेपाली अक्षर र अंक लेख्न र पढ्न सिकाइन्छ ।

त्यति मात्र होइन, बालबालिकाहरुलाई पठन पाठन गर्न उपयुक्त र सजिलो हुने पुस्तक पुस्तिकाहरु पनि भाषालयले नि:शुल्क उपलब्ध गराउँदै आएको छ । ‘सबै विद्यार्थीहरुलाई पठन पाठन गर्न सजिलो होस भने ठूलो बर्णमाला, नेपाली अक्षर लेख्न सिकाउने पुस्तकहरु वितरण गरेका छौं,’ मगरले भने ।

मगरका अनुसार भाषालयले नेपाली अक्षर र अंक मात्र होइन नेपाली कला सँस्कृति, नृत्य जस्ता कृयाकलापहरु पनि सञ्चालन गर्दै आएको छ । ‘अक्षर र अंक त चिनाउने प्रयास गर्यौं, अब हाम्रो सँस्कृति र कलालाई पनि दोश्रो पुस्तामा हस्तान्तरण गरिनुपर्छ,’ उनी भन्छन्, ‘होइन भने त हाम्रा बच्चाहरु हाम्रै मौलिक सँस्कृति बिर्सन्छन् ।’

नेपाली सोसाइटी अफ नर्दन ताज्मानियाको यो अभियानबाट कयौं नेपाली दम्पत्तिहरु लाभान्वित भएका छन् । ‘यो भाषालयका कारण हाम्रा बच्चाहरुलाई नेपाल र नेपाली भाषा प्रति सकारात्मक धारणा बनाउने बातावरण सिर्जना गर्न राम्रो सुरुवात गरेको छ,’ उक्त भाषालयमा नियमित पढ्न आउने एक विद्यार्थीका पिता रवि शाहले अनलाइनखबरसँग भने ।

भाषालय सँगसँगै आफ्ना बालबालिकाहरुसँग पनि नेपाली भाषामा कुराकानी गर्ने हो भने उनीहरुमा भाषाको समस्या धेरै हदसम्म समाधान हुने अभिभावक शारदा न्यौपानेले सुझाव दिइन् ।

भाषालयप्रति स्थानीय काउन्सिल सकारात्मक पछिल्लो समयमा लन्चेस्टनमा नेपालीहरुको संख्यामा आएको वृद्धिसँगै बालबालिकाहरुमा भाषिक ज्ञानको आवश्यकता बढ्दै गएको विषय स्थानीय काउन्सिलमा जानकारी गराएको अभियानकर्ता सन्तोष अधिकारीले बताए ।

‘लन्चेस्टनमा हाम्रो भाषाको आवश्यकता बढ्दै गएको विषयमा काउन्सिलमा जानकारी गराएको थिएँ, उनीहरु एकदमै सकारात्मक छन्,’ उनी भन्छन्, ‘निकट भविष्यमै उनीहरुले सहयोग गर्ने हामीलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment