
१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्स खेलको दोस्रो दिन पनि भारतले आफ्नो दबदबा कायम राख्दै ५ स्वर्ण जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालको ट्रयाकमा ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारत एक्लैले ५ स्वर्ण जितेको हो । पाकिस्तान र श्रीलंकाले समान १ स्वर्ण जिते ।
भरतले पुरुषको लङजम्प, पुरुषको १० हजार मिटर दौड, महिलाको २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।
पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९ मिनेट ३३.६१ सेकेण्डमा पूरा गरे । श्रीलंकाका सानमुगेश्वरनले ३० मिनेट ४९.३० सेकेण्डमा पूरा गर्दै रजत र नेपालका दीपक अधिकारीले ३० मिनेट ४९.३० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।
महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दूरी २३.६६ सकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पूरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पूरा गरिन् ।
२ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सूर्यानाले २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले २१.२२ सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।
त्यस्तै लङजम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटरको दुरी पार गर्दै स्वर्ण पदक जिते । भारतकै स्वामीनाथन यादवले ७.७७ मिटरको दूरी पार गरेर रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर दूरी पार गरेर कास्य जिते । सो विधामा नेपालका भुवन महतो र शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दूरी पार गरे ।
महिला लङजम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटरको दूरी पार गरेर स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटरको दूरी पार गरी रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटरको दूरी पार गरेर कास्य जितिन् ।
महिलाको डिस्कस थ्रोमा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४७.३१ मिटर फ्याँक्दै रजत र श्रीलंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याँक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।
पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याँक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले ४४.३ मिटर फ्याँके ।
प्रतिक्रिया 4