Comments Add Comment

सेफ्टी ट्यांकीमा खसेर गैंडा मरेको मुद्धामा आरोपीलाई सफाइ

१९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको एक होटलको सेफ्टी ट्याङ्कीमा गैंडा खसेर मरेको मुद्धामा जिल्ला अदालत चितवनले अभियुक्तलाई सफाइ दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दायर गरेको मुद्धामा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले दायर मुद्धामा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएको हो ।

चैत १० गते विहान अन्दाजी ४ बजे जगतपुरको सिजी होटर्लस एण्ड रिर्सोट प्रालि तथा टाइगरल्याण्ड सफारी रिर्सोट प्रालिको सेफ्टी ट्यांकीमा २५÷३० वर्षको पोथी गैंडा खसेर मरेको थियो । घटनालगत्तै होटलका सञ्चालक अजित विक्रम राणा पक्राउ परेका थिए । टाइगर ल्यान्ड होटल निकुञ्ज मुख्यालयबाट नजिकै राप्ती नदी किनारमा छ । जहाँ गैंडा र अन्य वन्यजन्तु ओहोरदोहोर गर्छन् ।

गैंडा मृत फेला परेपछि चितवन निकुञ्जका रेञ्जर शान्तबहादुर मगरको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनको दफा २६ (१) अनुसारको कसुर गरेको भन्दै ऐनको दफा ५ को (क) र (छ) अनुरुप कारबाहीको माग गर्दै चैत २६ गते चितवन जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

निकुञ्जले होटलका सम्बन्धित व्यक्तिहरु अजित राणा भन्ने अजित विक्रम शाह, प्रद्युम्न घिमिरे, दीपक खनालसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । उनी चैत २७ गते १० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

पुनरावेदन गरेका राणासहितको टोलीको धरौटी कम गराउने आदेश उच्च अदालत पाटनको हेटौडा इजलासबाट गराएका थिए । लोपोन्मुख दुर्लभ गैंडा मारेमा वा त्यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ ।

यसअघि चितवन जिल्ला अदालतले गत वर्षको मंसिर २६ मा गैंडा मृत्युसम्बन्धी एउटा मुद्दामा भने सजाय गरेको थियो । पश्चिम चितवन मेघौलीको होटल मेघौली सेराइमा करेन्ट लागेर २०७३ साउन २५ मा एउटा गैंडा मरेको थियो । यस मुद्दामा फैसला गर्दै अदालतले होटलका चार जना कर्मचारीलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

चोरी शिकारीका कारण नमरे पनि अन्य कारणले गैंडा मर्ने क्रम यो वर्ष बढेको छ । गैंडा हिँड्ने क्षेत्रका होटलको सेफ्टी ट्यांकी उनीहरूको काल बनेको छ । सेफ्टी ट्याङ्की माथिल्लो भाग कमजोर भएका कारण खसेर गैंडाको मृत्यु हुने गरेको निकुञ्जले जनाएको छ ।

होटलको सेफ्टी ट्यांकीमा गैंडा परेको यो नै पहिलो घटना भने होइन । २०७४ माघमा वर्ष सौराहामा पनि एउटा गैंडा सेफ्टी ट्यांकीमा परेको थियो । त्यतिबेला गैंडाको जीवितै उद्धार गरिएको थियो ।

सौराहा घटनापछि चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालयले २०७४ माघ २६ मा सूचना निकालेर सेफ्टी ट्यांकी र गोबर ग्यासको खाल्डो पुर्न वा सुरक्षित तरिकाले बनाउन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । यसलाई बेवास्ता गरी दुर्घटना भए खाल्डो बनाउने सम्बन्धित व्यक्ति, संघसंस्था वा कार्यालय जिम्मेवार हुने निकुञ्जले चेतावनी दिएको थियो ।

०७२ को गणनाअनुसार नेपालमा गैंडाको संख्या ६ सय ४५ छ । जसमध्ये चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा सबैभन्दा धेरै ६ सय ५ गैंडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment