Comments Add Comment

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी बिहीबार दिउँसो बालुवाटारस्थित निवास गउका हुन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँले विस्तारै नियमित काम गर्न सक्नु हुनेछ, तर, धपेडी नगर्न सल्लाह दिइएको छ ।’

अब काममा फर्कन सक्नुहुन्छ

निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार शल्यक्रियाको घाउ निको हुने क्रममा छ। उच्च रक्तचाप र मधुमेह सन्तुलनमा छ । मिर्गौलाको ‘ट्रयाक लेभल भेरिफिकेशन’, यूरिन, प्रेसर, सुगर लगायत नियमित परीक्षण भइरहेको छ ।

रिपोर्टमा समस्या देखिनासाथ उपचार सुरु भइहाल्छ। प्रम ओलीको स्वास्थ्य अवस्थालाई लिएर डराउनु पर्ने अवस्था नभएको उनी बताउँछिन् । नियमित औषधि सेवन र केही दिन धपेडी कम गर्नासाथ ओली नियमित कार्यमा फर्कन सक्ने बताउँदै उनी भन्छिन्, ‘उहाँ स्वास्थ्यप्रति सचेत हुनुहुन्छ। काममा व्यस्त भए पनि खाना र औषधि समयमै लिनुहुन्छ । महत्वपूर्ण छलफल र बैठक हुँदा बीचमै औषधि खानुहुन्छ। आत्मविश्वास पनि उच्च छ।’

सिंहका अनुसार उमेर बढ्दै गएपछि सामान्यतया मानिस थकित हुन्छ । सुगर, प्रेसर लगायतका औषधि खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य कुरामा पनि ध्यान दिनुपर्छ ।उनी भन्छिन्, ‘उहाँ त्यो हिसाबले बिरामी हो। अरुभन्दा बढी आराम र हेरचाहको जरुरत पर्छ तर, औषधिकै भरमा मात्रै बाँच्नु भएको भने होइन ।
यो पनि पढ्नुहोस प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

केही समययता प्रम ओलीको दोस्रो प्रत्यारोपण गराउने समेत चर्चा चल्दै आएको छ । दोस्रो प्रत्यारोपणको बारेमा सल्लाह भइरहेको भएपनि कहाँ कसरी गर्ने बारेमा तय भइनसकेको उनी बताउँछिन् ।

उपचार खर्च साढे २ लाख

प्रधानमन्त्री ओलीको १० दिन उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार  शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ ।डा. श्रेष्ठले भने, ‘हामीले एकमुस्ट रकम हिसाब गरेर यो खर्च निकालेका हौं । उहाँलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको छ ।’
यो पनि पढ्नुहोस अस्पतालमा प्रधानमन्त्रीको एक साता !

गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन मनमोहन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् ।

अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवादसमेत दिए। उनी निस्किदै गर्दा भने, ‘यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु। म ठीक भएर फर्केको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment