 
																			१९ मंसिर, चितवन । चितवनमा एकै समय रत्ननगर महोत्सव र खिचरा महोत्सव हुने भएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा आगामी पुष २५ गतेदेखि रत्ननगर महोत्सव–२०७६ हुँदैछ भने, खैरहनीमा पुष २७ गतेदेखि थारु जातीको खिचरा महोत्सव हुँदैछ ।
आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुन लागेको जानकारी दिएको छ । १० औं महोत्सव यसपटक पनि रत्ननगर प्रवेशद्धार टिकौली चौरमा आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने छ । यसपटक महोत्सवमा पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रदर्शक समेत सहभागी हुने संयोजक रेग्मीले जानकारी दिए । उनका अनुसार भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले विभिन्न प्रविधिहरुको प्रदर्शन गर्ने संयोजक रेग्मीले बताए ।
यस्तै चितवनको पर्यटन प्रवर्द्धनका लागि हेलिकप्टर मार्फत स्थानीय पर्यटकीय स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाइएको छ । हेलिकप्टर मार्फत जिल्लाको अग्लो स्थान सिराइचुली, उपरदङगढी, परेवाकोट, मौलाकालिका मन्दिरलगायत स्थानको अवलोकन गराइने संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।
यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धन अन्तर्गत जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरु सौराहा, चेपाङ पहाडी पदमार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजारी ताल, टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचारप्रसार गराइने आयोजकले जनाएको छ ।
महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ ।
चिकेन एण्ड एग फेस्टिबल
रत्ननगर महोत्वसमा पछिल्लो वर्षहरुमा नियमित जसो फेस्टिबल समेत आयोजना गर्ने गरिएको छ । जसअन्तरगत यसवर्ष पनि चिकेन एण्ड एग फेस्टिबल आयोजना गरिएको छ । फेस्टिबल पुस २९ गतेदेखि माघ ४ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक रेग्मीले जानकारी दिए ।
मासु र अण्डाको खपत बढाउन सहयोग मिलेको पोल्ट्री व्यवसायी समेत रहेका संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए ।
खिचरा महोत्सव पुष २७ मा
‘सातौं खिचरा महोत्सव–२०७६’ आउँदो पुस अन्तिम सातादेखि सुरु हुने भएको छ ।
थारु समुदायको महान चाड ‘खिचरा’ (माघे संक्रान्ति) को अवसरमा प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आइरहेको छ । सातौं संस्करणको महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको
आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।
संयोजक चौधरीले महोत्सवलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरि सकेको जानकारी दिए । अहिले महोत्सवको तयारी तीब्र पारिएको छ ।
महोत्सव खैरहनी नगरपालिका–५ गौचरनमा हुनेछ । महोत्सवमा विभिन्न व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारु जातिको साँस्कृतिक घर राख्ने गरिएको छ । यस्तै महोत्सवमा साँस्कृतिक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने गरिएको छ ।
यसपटकको महोत्सवमा पनि चर्चित कलाकारहरुको साथै थारु सँस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4